अटोमोबाइल्स व्यवसायीले अटो व्यवसाय मैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनको टोलीले व्यवसायमैत्री मौद्रिक नीति ल्याउन माग गरेका हुन् ।
आर्थिक समृद्धिको लागि सवारी साधनको व्यापार अनिवार्य आवश्यक रहेको भन्दै नाडाको टोलीले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोबाइल्स व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने सुझाव दिएको छ । नाडा अध्यक्ष कृष्ण प्रसाद दुलाल सहितको टोलीले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र रहेकोले यो प्रावधानलाई पुनर्विचार गरी ९० प्रतिशत पुर्याउन माग गरेको छ ।
छलफल पछि गभर्नर अधिकारीले अटो व्यवसायीलाई राहत महशुस गर्नेगरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाएका छन् । अटो व्यवसायीसँगको भेटमा गर्भनरले नेपालमै सवारी एसेम्बलिङ उद्योग खोल्नुपर्ने कुरा राखेको व्यवसायीले बताएका छन् ।