गौतमबुद्ध विमानस्थल : पूर्ण सञ्चालनमा नआउँदै भएको भत्काएर २० अर्बको नयाँ टर्मिनल भवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 10:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अपेक्षाकृत उडान भएका छैनन् । आन्तरिकतर्फका नियमित उडानहरू सञ्चालनमा रहेपनि बाह्यतर्फ कुवेतको गन्तव्यमा जजिराले हप्ताको तीन दिन उडान भर्दै आइरहेको छ ।

जजिराको तीन दिनको उडानबाहेक विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थल घाटामा छ । नागरिक उड्ययन प्राधिकरणले अन्य धेरै एयरलाइन्सले उडान भर्न इच्छा देखाएको बताउने गरेको छ तर अहिलेसम्म त्यसको प्रगति शून्य छ ।

दैनिक ३० देखि ४० सम्म अन्तर्राष्ट्रिय उडानका लागि अहिलेकै संरचना सक्षम रहेको भएता पनि प्रचार प्रसारको कमी र क्यानको उदासीनताका कारण नयाँ एयरलाइन्स थपिन सकेका छैनन् ।

बरू २० अर्ब भन्दा बढी खर्च गरेर नयाँ टर्मिनल भवन बनाउने तयारी चलिरहेको भन्दै क्यानकै कर्मचारीहरू असन्तुष्ट छन् । ३० अर्ब भन्दा बढीको खर्चमा निर्माण सम्पन्न भएको विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदै थप बीस अर्ब खर्च गर्न लागिएकाले विमानस्थललाई दशकौंसम्म घाटामा राखिरहने जोखिम बढेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले आफूनिकट उमा एण्ड जेभी कम्पनीमार्फत नयाँ टर्मिनल भवन बनाउन लबिङ गरिरहेको स्रोत बताउँछ । 'क्यान नयाँ ठेक्काको प्रक्रिया शुरू गर्ने तयारीमा छ,' विमानस्थलका एक कर्मचारीले भने, 'विमानस्थललाई आफ्नै खुट्टामा उभिने बनाउनतर्फ लाग्नुपर्ने बेलामा अर्बौंको नयाँ खर्च गर्ने तयारी राम्रो होइन ।'

आयोजनाका सूचना अधिकारी मोहन आचार्य भन्छन् - 'डोमेस्टिक टर्मिनल पूरानो भयो । पहिला क्षेत्रीय विमानस्थलको कन्सेप्टमा टर्मिनल भवन बनाइयो । अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न त्यो सानो हुन्छ । त्यसैले डोमेस्टिकलाई पनि भत्काएर एउटै ठूलो टर्मिनल भवन बनाउने तयारी चलेको हो ।'

आचार्यले टेण्डर भएपछि आफूलाई नयाँ टर्मिनल भवनको लागत थाहा हुने बताए । 'अहिले प्रस्ताव अर्थमन्त्रालयमा छ कि भन्ने सुनेको छु,' आचार्यले भने । नयाँ एरोब्रिजसहितको टर्मिनल भवन बनाउने गरी प्रस्ताव गरिएको उनको भनाइ छ ।

विमानस्थलमा जजिरा एयरवेजले अहिले हप्ताको तीन दिन उडान भरिरहेको छ । केही समयपछि जजिराले दैनिक उडान गर्ने आश्वासन दिएको त्यहाँका कर्मचारी बताउँछन् ।

त्यस्तै हंगेरीको बिज एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको अबुधाबी उडान गर्न अनुमति मागिसकेको छ । साताको तीन उडान भर्ने गरी बिजले आफ्नो तयारी थालेपनि कहिलेबाट उडान गर्ने भन्ने मिति अझैसम्म पनि तय भएको छैन ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका नेपाल एयरलाइन्स, श्रीलंकन, सलाम एयर, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, चिनियाँ एयरलाइन्स लगायत दर्जन एयरलाइन्सले चासो देखाएका छन् । तर उनीहरूको चासो सम्बोधन गर्न क्यान अहिलेसम्म उदासीन भएको आरोप लागिरहेको छ ।

थप अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुको साट्टो अर्बौंको अर्को खर्च गर्ने बाटो खोजिरहेको क्यानको अहिलेको नेतृत्व असक्षम र आर्थिक रूपमा अपारदर्शी देखिएको क्यानकै कर्मचारीहरूले बताउने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved