उच्च अदालत पाटनले रिद्धि सिद्धि ज्वेलर्सलाई सदस्यबाट नहटाउन रत्न तथा आभूषण संघको नाममा अन्तरिम आदेश दिएको छ । संघले रिद्धि सिद्धि ज्वेलर्स प्रा. लिलाई सदस्यबाट हटाएपछि रिद्धि सिद्धि ज्वेलर्स अदालत गएको थियो ।
सो मुद्दामा उच्च अदालतका न्यायधीशद्वय मुनेंन्द्र प्रसाद अवस्थी र विदुर कोइरालाको संयुक्त इजलाशले रिद्धि सिद्धि ज्वेलर्सलाई संघको सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । कम्पनीको आधिकारिक एकल संचालक रहेका केदारनाथ गुप्तालाई कुनै पत्राचार समेत नगरी सुनुवाईको मौका समेत प्रदान नगरिएको देखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।
नेपाल रत्न तथा आभूषण संघको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने गरी मिति २०८०/१२/२२ मा निर्णय गरेको देखिंदा सो निर्णय तत्काल कार्यान्वयन भएमा सुविधा सन्तुलन समेतबाट निवेदक कम्पनीलाई असर पर्ने अवस्था देखिँदा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको अवधिको लागि बिपक्षी संघको कार्यसमितिको उक्त मिति २०८०/१२/२२ को निर्णय कार्यान्वयन नगर्न अदालतले भनेको हो ।