नेपालका प्लेनभित्र पनि अब वाईफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 12:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले माघ २४ गते मंगलबार जहाज उडिरहेका बेला वाइफाई (इन्टरनेट) चलाउन सकिने भन्दै एउटा निर्देशन जारी गर्यो । प्राधिकरणले जारी गरेको इनफ्लाइट कम्युनिकेसनसम्बन्धी निर्देशन अनुसार अब प्लेन उडिरहेका बेला इन्टरनेट चलाउन पाइने बाटो खुलेको छ ।

यद्यपी, यसका लागि अहिलेको अवस्थामा अन्तराष्ट्रिय उडान गर्दै आएको हवाइसेवा प्रदायक कम्पनी (एयरलाइन्स कम्पनीहरु)ले प्राधिकरणबाट अनुमति लिएको अपरेटरबाट थप प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । अहिले आन्तरिक उडानमा भने यो सेवा लागू गर्न पाइँदैन ।

के छ प्रक्रिया ?

प्लेन उडिरहँदा यात्रुहरूले मोबाइल तथा अन्य विद्युतीय उपकरण फ्लाइट मोड’ (एरोप्लेन मोड) मा राख्नुपर्ने व्यवस्था छ ।

तर, दूरसञ्चार प्राधिकरणको इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवामार्फत अब यात्रुहरूले जहाज उडिरहेको समयमा मोबाइल मात्रै होइन, मोबाइलमा वाइफाई कनेक्ट गराएर इन्टरनेट नै चलाउन पाउने छन् । प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार आइएफसी सेवा प्रदायकले जहाजभित्र स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउँछन् ।

आइएफसी सेवा प्रदान गर्न दूरसञ्चार प्राधिकरणबाट सीताथालसनामका २ बहुराष्ट्रिय अपरेटरले लाइसेन्स अथवा अनुमति लिएका छन् । अब नेपालबाट विदेशका विभिन्न गन्तव्यमा उड्ने नेपाली हवाई सेवा प्रदायक कम्पनीले आफ्नो जहाजभित्र आइएफसी सेवा राख्न चाहेमा प्राधिकरणबाट अनुमति पाएका सीताथालसनामका २ अपरेटरबाट यो सेवा लिन पाउने छन् । तर, एनओसी लिन सम्बन्धित हवाई सेवा प्रदायक कम्पनी एक पटक भने दूरसञ्चार प्राधिकरणमा पुग्नुपर्ने हुन्छ ।

प्राधिकरणको निर्देशन अनुसार नेपाली जमिनभन्दा १० हजार फिटमाथि हवाइजहाज उडिरहेका बेला इन्टरनेट चलाउन पाइने छ । यसभन्दा तल उडिरहेको, धावनमार्गबाट उड्न लागेको वा अवतरण गर्न लागेको बेला भने जहाजका सदस्यहरुले आफैँ उक्त सेवा बन्द गर्नुपर्ने हुन्छ ।

तर, जहाजहरुले आफ्नो नियामकबाट भने यस्तो सेवाका लागि स्वीकृत लिनुपर्ने हुन्छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), गन्तव्य देश र नेपाली हवाई सेवा प्रदायकको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि लिनुपर्छ ।

कसरी चल्छ प्लेनभित्र वाइफाई ?

जहाज उडिरहेका बेला इन्टरनेट चलाउन सकिने आइएफसी सेवा दिने प्रदायकहरूलाई प्राधिकरणले २ वर्गमा छुट्याइएको छ । नेपालमा दर्ता भएका विमान कम्पनीका जहाजमा आइएफसी सेवा दिने र विदेशमा दर्ता भएका विमान कम्पनीका जहाजमा आइएफसी सेवा दिने गरी २ वर्गमा छुट्याइएको प्राधिकरणले जनाएको छ ।

मानौ, नेपाल एयरलाइन्सले आफ्ना जहाजमार्फत यात्रा गर्ने यात्रुहरुलाई वाइफाइ सुविधा दिन चाहेमा उसले अपरेटरमार्फत काम गर्न सक्छ । विश्वका विभिन्न विमान निर्माता कम्पनीहरुले आफूले बनाएका जहाजमा आइएफसी सेवाका लागि चाहिने उपकरण (एक प्रकारको राउटर) जडान गरेका हुन्छन् । जडान नभएको अवस्थामा पनि अपरेटरले जडान गरिदिन्छन् ।

प्राधिकरणका प्राविधिको भनाइ

''इन्टरनेट नेपालमा कसरी चल्छ भन्दा, एउटा चाहिँ भारतबाट वा चीनबाट फाइबर (तार)बाट ब्याण्डविथ ल्याएपछि चल्छ, अर्को चाहिँ स्याटेलाइटबाट पनि चल्छ । पहाडतिर अहिले पनि स्याटेलाइटबाटै इन्टरनेट चलाइन्छ । माथिको स्याटेलाइट र एण्टेनाको अर्थ स्टेशनलाई लिङ्क गरेर इन्टरनेट चलाइन्छ ।

प्लेनहरुमा पनि तारबाट नभई स्याटेलाइटको सिस्टमबाट चलाउन सकिन्छ । पहाडतिर गाउँगाउँमा अर्थ स्टेशन वा एण्टेना राखेजस्तै त्यस्तो खालको एण्टेना चाहिँ प्लेनमा हुन्छ । त्यो प्लेनको एण्टेनाले चाहिँ स्याटेलाइटसँग लिंक गरेर डाटा ल्याउने र त्यसरी ल्याएको डाटा प्लेनभित्र रहेका मोबाइल डिभाइसमा पठाउने गर्छ । प्लेनभित्र डाटा आइसकेपछि मोबाइलहरुमा चल्ने भनेको त हामीले अहिले वाइफाई चलाएको जस्तो गरी नै चल्ने हो ।

यो सेवा राख्न विमान कम्पनीहरुले प्रकार, फ्रिक्वेन्सी, प्रविधि, आइएमटी (टुजी,थ्रीजी,फोरजी खुलाएर), अर्थ स्टेशनको विवरण सहितको निवेदन दिनुपर्छ । निवदेनमा आइएफसी सेवा प्रदान गर्ने अपरेटर र विमान कम्पनीबीच भएको सम्झौता र नागरिक उड्डयन प्राधिकरण (क्यान)को सिफारिस पनि ल्याउनुपर्छ ।

यसरी कागजात आइसकेपछि दूरसञ्चार प्राधिकरणले एनओसी दिन्छ । यसपछि विमान कम्पनीहरुले सेवा सुरु गर्न सक्छन् ।''

टिकट मूल्य बढ्ने

एयरलाइन्स कम्पनीहरुले आइएफसी सेवाका लागि अपरेटरलाई शुल्क तिरेको हुने हुनाले यात्रुको टिकट मूल्य भने केही महँगो पर्न जाने देखिन्छ । सम्बन्धित देशबाट अनुमतिका लागि आइएफसी सेवा प्रदायकले निश्चित शुल्क तिरेको हुने र उक्त शुल्कसहित नाफा राखेर विमान कम्पनीसँग सम्झौता गर्ने भएकाले हवाइ भाडा पनि बढ्ने कुरा स्वभाविक भएको हवाइ सेवा प्रदायक बताउँछन् ।

विदेशमा प्लेन उडिरहेका बेला यात्रुहरुले वाइफाई चलाउन पाइन्छ, नेपाली जहाजमा यो सुविधा भएन भन्ने गुनासो आएको पाइयो, इन्टरनेट भनेको अब लक्जरियस रहेन, यो अत्यावश्यक नै भइसक्योक्यान स्रोत भन्छ, ‘यो सुविधाका लागि माग भइरहेको थियो, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजमा अब चाँडै यो सुविधा पाइन्छ । टिकटको मूल्य थोरै बढ्न सक्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved