चरम आर्थिक सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सको व्यवस्थापनमा विश्व विख्यात कतार एयरवेज आउला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 17, 2023 | 12:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पचास अर्ब रुपैयाँ ऋणको भारी बोकेर आर्थिक सङ्कटमा फसिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन विदेशी कम्पनीमार्फत गराउने बहस पुनः सुरु भएको छ ।

पटक-पटक छलफल भएर रोकिँदै आएको विदेशी कम्पनी ल्याएर व्यवस्थापन सम्हाल्ने विषयमा पर्यटन मन्त्रालयले फेरि छलफल चलाएको छ । मन्त्रालयले राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रको संयोजकत्वमा संरचनागत र व्यवस्थापकीय अध्ययन गर्न समिति नै बनाएर अघि बढेको छ ।

अहिलेकै अवस्थाबाट सञ्चालनमा रहेसम्म नेपाल एयरलाइन्स आर्थिक रुपमा ‘सस्टेन’ हुन नसक्ने निष्कर्षमा सरकार पुगिसकेको छ । तर, तत्काल कम्पनी मोडलमा लैजाने वा कुनै रणनीतिक साझेदार भित्र्याउने निर्णय भने गर्न सकेको छैन ।

यस शिलशिलामा करिब ४ वर्ष अघि पनि नेपाल एयरलाइन्सको व्यवस्थापनका लागि कतार एयरवेज आउन इच्छुक देखिएको थियो । यसपटक पनि कतार एयरवेजले चासो जाहेर मात्रै गरेको छैन, उसका प्रतिनिधिहरुले पर्यटन मन्त्रालयमा आएरै निगमको व्यवस्थापकीय जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि अहिले पुनः कतार एयरवेजले नेपाल वायुसेवा निगमको व्यवस्थापन हेर्ने जिम्मा लिन चाहेको बताएको छ । यसका लागि कतार एयरवेजले मन्त्रालयमा औपचारिक जानकारी पनि गराइसकेको छ ।

यतिसम्म की, कतार एयरवेजका प्रतिनिधिहरुले नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल पनि गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । कतार एयरवेजले चासो राखेपछि नै पूर्वगर्भनर क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति बनेको पनि मन्त्रालय स्रोतले पुष्टि गरेको छ । 

तत्काल कम्पनी मोडलमा नलैजाने

पर्यटन मन्त्रालयले अहिले गरिरहेको तयारी अनुसार नेपाल एयरलाइन्सको व्यवस्थापनमा विदेशी कम्पनी ल्याउने रणनीति देखिन्छ । तर, विगत २० वर्षदेखि पटकपटक गरिएका निगम सुधार सम्बन्धी अध्ययनले निगमलाई कम्पनी मोडलमा लैजान सुझाव दिएका थिए । तत्काल ती सुझाव कार्यान्वयन नहुने गरी तत्कालका लागि व्यवस्थापन सम्हाल्न विदेशी कम्पनी ल्याउने तयारी मन्त्रालयले थालेको छ ।

आर्थिक संकटमा निगम

नेपाल एयरलाइन्स अहिले घाटाको बव्यापार गरिरहेको छ । २ वटा न्यारोबडी ३२० र २ वटा वाइडबडी ३३० जहाज भए पनि अपेक्षा अनुसार गन्तव्य विस्तार नहुँदा निगमले व्यापार गर्न सकेको छैन ।

हालको तथ्याङ्क अनुसार नेपाल एयरलाइन्सको ऋण मात्रै ५० अर्ब रुपैयाँ नाघिसकेको छ । यसरी चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको नेपाल एयरलाइन्सलाई नयाँ तरिकाबाट चलाउने तयारीमा नागरिक उड्डयन मन्त्रालय पुनः छलफलमा जुटेको हो ।

यसअघि सन् २०१६ मा पनि नेपाल एयरलाइन्स व्यवस्थापनको जिम्मा लिन रणनीतिक साझेदारका रुपमा जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङ नेपाल आउन चाहेको थियो । त्यतिबेला अर्थ मन्त्रालयले सहमति दिए पनि पछि प्रक्रिया रद्द गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved