यी हुन् गाइभैँसी चराउने १९ विमानस्थल, खर्ब स्वाहा हुँदा पनि लागेन 'घैँटोमा घाम'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 05:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाइ सेवालाई द्रत गतिमा विकास गरी नागरिकको आवागमनलाई सहज बनाउने उद्देश्य बोकेर सन् १९७० को दशकदेखि नेपालमा शुरु भएको आन्तरिक विमानस्थल बनाउने लहर अहिले पनि जारी छ ।  अर्बाैँ खर्चेर बनाइएका त्यस्ता विमानस्थलहरु अहिले गौचरन क्षेत्र र पाटनमा परिणत भएका छन् ।

राम्ररी अध्ययन नगरी पहुँच, प्रभाव र भोट प्रभावित पार्ने उद्देश्यबाट प्रेरित भएर बनाइएका यस्ता विमानस्थलको औचित्य के छ भन्ने कुरा यी गौचरण हेरेपछि स्पष्ट हुन्छ । नेपालमा हाल ४९ वटा आन्तरिक विमानस्थल (पोखराको पूरानो आन्तरिक विमानस्थललाई छोडेर हेर्दा) छन् । 

ती विमानस्थलमध्य झण्डै आधा १९ वटा बन्द अवस्थामा छन् । ती विमानस्थलहरुमा झण्डै एक खर्ब लगानी भएको बुझिएको छ । राज्यको सम्पति यसरी स्वाहा हुने गरी अनावश्यक ठाउँमा लगानी हुँदा अझै पनि विमानस्थल विस्तार गर्ने अभियान चलिरहेकै छ । सम्भाव्यता र आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा यस्ता संरचना बन्दा राज्यको लगानी बालुवामा पानी बराबर भएको छ । तर पनि अझै 'घैँटोमा घाम' लाग्नुको सट्टा विस्तार योजना कायमै राखिएको छ । 

सन् १९७३ सेप्टेम्बर २४ मा उद्घाटन भएको बागलुङ विमानस्थल बन्द भएको वर्षौं भइसकेको छ । सोही दिन उद्घाटन भएको रुकुम चौरजहारी विमानस्थल पनि अहिले ‘चउर’मा परिणत भएको छ । 

१९७३ सेप्टेम्बर २४ मै उद्घाटनमा आएको बागलुङकै ढोरपाटन विमानस्थलको हालत पनि उही छ । सन् १९८६ जनवरी २६ बाट केही समय उडान भएको दार्चुला विमानस्थल पनि अहिले बन्द अवस्थामै छ । १९७२ अक्टुबर १ मा उद्घाटन भएको खोटाङको लामिडाँडा विमानस्थल अहिले चरनमा परिणत भयो । १९६० को अक्टोबरबाट सञ्चालनमा आएको गोरखा विमानस्थल पनि वर्षौदेखि बन्द छ ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा पनि उडान हुन सकिरहेको छैन । धुले चउरकै अवस्थामा केही समय अगाढि मात्रै परीक्षण उडान भए पनि अहिलेसम्म व्यवसायिक उडान सुरु हुन सकेको छैन । नेपाल एयरलाइन्सले फागुन १७ गतेबाट रेसुङ्गा विमानस्थलमा उडान गर्ने तयारी गरेको थियो । तर, उसले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेका कारण प्राधिकरणले नयाँ गन्तव्यमा उडान गर्न अनुमति दिएन । फेरि फागुन १९ का लागि उडान समय सारिएकोमा त्यो दिन पनि उडान सकेन । हाल रेसुङ्गा विमानस्थलबाट कुनै पनि उडान छैन ।

त्यस्तै, सन् १९७६ अक्टुबरबाट सञ्चालनमा आएको दोलखाको जिरी विमानस्थल पनि बन्द छ । जिरी घुम्न जाने आन्तरिक पर्यटकहरुले उभिएर फोटो खिच्ने गन्तव्य मात्रै बनेको छ । २००३ को मार्च २७ बाट व्यवसायिक उडान सुरु भएको सोलुखुम्बुको काँङ्गेलडाँडा विमानस्थलको हालत पनि अहिले चरन क्षेत्रभन्दा फरक छैन ।

२०७६ पौषमा परीक्षण उडान भएको ओखलढुङ्गाको खिजीचण्डेश्वरी विमानस्थल पनि बन्द छ । रसुवाको लाङटाङ विमानस्थलमा त झन परीक्षण उडान नै भएको छैन । १९७३ डिसेम्बर ३० का दिन उडान खुलाइएको कञ्चनपूरको महेन्द्रनगर विमानस्थल पनि अहिले चउरमा मात्रै सिमित छ । १९८१ फेब्रुअरी २८ का दिन सूचारु गरिएको मनाङ एयरपोर्ट अस्तित्वकै सङ्कटमा पुगिसकेको छ ।

२०१४ जुनमा उद्घाटन भएको डोल्पा मशिनेचौर विमानस्थलबाट पनि कुनै व्यवसायिक लाभ छैन । अहिले यो विमानस्थल पूर्णरुपमा बन्द छ । सन् १९६६ मा उद्घाटन भएको चितवनको मेघौली विमानस्थल पनि अहिले चरन क्षेत्रभन्दा पनि विकट भइसकेको छ । १९८० नोभेम्बर ६ मा सञ्चालनमा आएको रोल्पा एयरपोर्ट पनि अहिले खाली चउर मात्रै भएको छ ।

सोलुखुम्बुको स्याङ्बोचे एयरपोर्ट उद्घाटन नै नभई अहिले धुले पाटन जस्तो अवस्थामा छ । १९८४ अक्टुबर ११ मा उद्घाटन भएको कैलालीको टिकापूर विमानस्थलमा गरिएको लगानी पनि ‘स्वाहा’ भएको छ । यो विमानस्थल पनि अहिले पूर्णरुपमा बन्द अवस्थामा छ ।

बन्द रहेको अर्को विमानस्थल हो ओखलढुङ्गाको रुम्जाटार विमानस्थल । सन् १९७२ सेप्टेम्बरमै उद्घाटन भएको यो विमानस्थल अहिले बाख्रा र वस्तु चराउने थलो बनेको छ । यी बन्द अवस्थामा रहेका विमानस्थलमा सरकारले कुल १ खर्ब बढी लगानी गरेको छ । तर, नाफा दिनु त परैको कुरा, चल्नसमेत नसक्नु दुखद पक्ष हो । 

निर्माण सकिएर चल्न नसकेका १९ विमानस्थललाई चलाउने अबस्था विष्लेषण नै नगरी अहिले ३ वटा नयाँ आन्तरिक विमानस्थल धमाधम बनाइँदैछ । अर्घाखाँची, कालिकोट र कमलबजार (अछाम)मा अहिले आन्तरिक विमानस्थल बनाउने काम भइरहेको छ । यी विमानस्थल पनि अन्य गौचरणकै रुपमा जाने आशंका गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved