बुद्ध एयरमा दाजुभाईबीच पानी बाराबारको स्थिति, यस्तो छ कारण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 01:05:42 PM मा प्रकाशित

laxmi  sunrise bank

‘बाउ मरेपछि दाजु भाइबीच सम्पति विवाद नहोस्’, यो बुढापाकाले भन्ने भनाइ हो । अझै भन्ने हो भने,  ‘म मरे पनि मेरा छोराहरु सम्पतिका लागि झगडा नगरुन्’ भन्ने सोच हरेक बाबु र आमालाई हुन्छ । 

तर, अहिले नेपालको निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चर्किएको छ । उनीहरुको विवाद पानी बाराबारको स्थितिमा पुगेको छ । 

गत पौष १० गते बस्नेत दाजु भाइका पीता एवम् बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि यी दाजु भाइबीच सम्पत्तिलाई लिएर विवाद चर्किन थालेको हो । यसै क्रममा शिवेन्द्रले दाजु वीरेन्द्रले आर्थिक घोटाला गरिरहेको भन्दै पत्रकार सम्मेलन नै आयोजना गरे । 

उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएको र दाजु वीरेन्द्रसँग ६० प्रतिशत सेयर रहेकाले उनले आफूलाई कुनै हिसाबकिताब नदेखाइ बुद्ध एयरभित्रको हिसाबकिताब गोलमाल गरेको जनाएका छन् ।

शिवेन्द्रको भनाइ अनुसार बुद्ध एयरमा पीता सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व थियो । पछि पीताले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर दुई छोरालाई बराबरी हुने गरी ४०÷४० प्रतिशतका दरले नामसारी गरिदिएका थिए । 

यस हिसाबमा आफ्नो नाममा पीताले नामसारी गरेर दिएको ४० प्रतिशत र दाजु वीरेन्द्रबहादुरको नाममा पीताले नामसारी गरेर दिएको ४० प्रतिशत र आफ्नो पूरानो २० प्रतिशत गरी ६० प्रतिशत सेयर स्वामित्व रहेको शिवेन्द्र बताउँछन् ।

तर, आफू कामको शिलशिलामा अमेरिका बस्न थालेपछि बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएका दाजु वीरेन्द्रबहादुर बस्नेतले मनपरी गरेको शिवेन्द्रको आरोप छ ।

 ‘४० प्रतिशत सेयर भएको हुनाले हिसाबकिताब मागेँ, तर कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन’ शिवेन्द्रको आरोप छ । दाई वीरेन्द्रबहादुर बस्नेतको परिवारको स्वामित्वमा काठमाडौँमा ४ वटा र रामेछाप, पोखरा,र भैरहवामा पनि घर रहेको र त्यसमा भएको लगानी पनि बुद्ध एयरबाटै आर्जित सम्पत्ति भएको दावी गर्दै उनले ती सम्पत्तिको स्रोतमा पनि शिवेन्द्रको प्रश्न छ । 

शिवेन्द्र भन्छन्, ‘मलाई कम्पनीको कार्यालयमा समेत पस्न दिइएन ।’ कम्पनी ऐन २०६३ को धारा १४६ ले साधारणसभा र सञ्चालक समिमिको निर्णय पुस्तिका, वार्षिक आर्थिक विवरण, सेयर दर्ता किताब र कम्पनीको लेखा विवरण हेर्न पाउने अधिकार शेयर धनीलाई दिइको भए पनि दाजु वीरेन्द्रले बुद्ध एयरको हिसाबकिताब हेर्न नदिइएको उनको गुनासो छ ।

यसअघि, ९ वटा बीचक्राफ्ट जहाज बिक्री गर्दा, १७ वटा जहाजहरु खरिद गर्दा, बुद्ध एयरकै स्वामित्वको ५० करोड लागतमा आरजु राइस मिल खोल्दा पनि दाजुले आफूसँग कुनै छलफल नगरेको उनको गुनासो छ । 

अहिले नयाँ २ वटा जहाज किन्ने निर्णय भएको र यसबारे खबरहरु पनि आइरहेको भएपनि यो निर्णयमा पनि आफूसँग कुनै परामर्श नगरिएको र नयाँ जहाज किनने जानकारी समेत आफूलाई नदिइएको शिवेन्द्रको आरोप छ । 

उनले बुद्ध एयरलाई विगार्ने उद्देश्यले नभइ कम्पनीलाई अझै माथि उकास्न सेयर स्वामित्व अनुसारको दायित्व निर्वाह गर्नकै लागि हिसाबकिताब मागिएको दावी  गरेका छन् ।

 यस विषयमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘पत्रकार सम्मेलन गरेर हुँदैन, कानूनी प्रक्रियामा जानुपर्ने हुन्छ’ उनले भने, ‘यसबारे थप टिप्पणि गर्नुपर्ने आवश्यकता छैन ।’ 

२५ वर्षअघि स्थापना भएको नेपालको निजी क्षेत्रको सबैभन्दा सफल मानिएको बुद्ध एयरसँग अहिले १७ वटा जहाज छन् । भारतको बनारसमा समेत उडान गर्दै आएको बुद्ध एयरले कुल आन्तरिक उडानको करिब ६० प्रतिशत हिस्सा ओगट्दै आएको छ । बुद्धले दैनिक ७०-७५ उडान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved