बुद्ध एयरको ‘घरझगडा’: शिवेन्द्रको आरोपमाथि वीरेन्द्रको ‘काउण्टर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 02:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतका भाई शिवेन्द्र बस्नेतले २७ वैशाख २०८० मा पत्रकार सम्मेलनमार्फत दाजुमाथि गम्भीर आरोप सार्वजनिक गरेपछि उनीहरुको घरझगडा छताछुल्ल भएको हो ।  

त्यसबेला उनले आफ्नो परिवारको नाममा ४० प्रतिशत सेयर स्वामित्व भए पनि दाजु वीरेन्द्रले ६० प्रतिशत सेयर स्वामित्वको बलमा मनलाग्दी गरिरहेको र हिसाबकिताब पनि गोलमान गरिरहेको आरोप लगाएका थिए । हिसाब खोज्ने वैधानिक बाटो छोडेर हतारमा पत्रकार सम्मेलनमा उत्रिएपछि शिवेन्द्रको नियतमाथि कतिपयले प्रश्न उठाएका छन् । 

शिवेन्द्रले आरोप लगाएको भोलिपल्ट वैशाख २८ गते बिहिबार साँझ दाई वीरेन्द्रले ‘काउण्टर जवाफ’ फर्काउँदै उनले पाएको १४ प्रतिशत सेयर २०५६ सालमै बेचेर अमेरिका गएको दावी गरेका छन् ।

उक्त घटना बुझ्न विगततर्फ फर्कनुपर्छ । बुद्ध एयरका संस्थापक हुन् सुरेन्द्रबहादुर बस्नेत । उनी वीरेन्द्र र शिवेन्द्रका बुबा हुन् । २३ वर्ष अघि सन् १९९७ मा बुद्ध एयर स्थापना हुँदा सुरेन्द्रबहादुरको नाममा ८० प्रतिशत र जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।

पछि कान्छा छोरा शिवेन्द्रलाई पनि उनले १४ प्रतिशत सेयर दिएका थिए । उक्त शेयर बेचेर शिवेन्द्रले बुद्धसँगै प्रतिस्पर्धा गर्ने गरी अर्कै एरलाइन्स कम्पनी (माउण्टेन एयर) खोलेको वीरेन्द्रको जवाफ छ । 

त्यसबेला बुबा सुरेन्द्रले आफ्नो नाममा रहेको ८० प्रतिशत शेयरमध्ये ४० प्रतिशत शेयर वीरेन्द्रलाई र बाँकी ४० प्रतिशत शेयर शिवेन्द्रकी श्रीमती अर्चना, छोरीहरु शिवानी र देव्यानी तथा छोरा आदर्शको नाममा बकस गरेर दिएका थिए । यो कुरा शिवेन्द्रका दाई वीरेन्द्रले पनि स्वीकारेका छन् ।

शिवेन्द्रमाथि वीरेन्द्रको यस्तो छ काउन्टर जवाफ

वीरेन्द्रका अनुसार विसं २०७५ साल साउन १५ गते बुद्ध एयर सञ्चालन गर्ने प्रक्रियासहितको सर्वसम्मत सम्झौता भएको थियो । 

उक्त सम्झौतामा ६० प्रतिशत सेयर स्वामित्व भएको ‘क’ समूह २ जना र ४० प्रतिशत सेयर स्वामित्व भएको ‘ख’ समूहबाट १ जना सञ्चालक समितिमा नियुक्त गर्ने विषय प्रस्ताव राखेर २०७९ फागुन २२ गते सार्वजनिक सूचनाबाट साधारणसभा आह्वान गरिएको तर, अर्चना, शिवानी, दिव्यानी र आदर्श उपस्थित नभएपछि उक्त सञ्चालक पद खाली नै राखेर ६५ प्रतिशत सेयरधनीहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको वीरेन्द्रले बताएका छन् ।

‘३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने तीन जना सेयरधनीहरु अर्थात अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदानप्रदान भएर २०७९ चैत १५ गते कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिन निश्चित स्थान र समय निर्धारण भएको अवस्थामा समेत कुनै पनि सेयरधनीहरु वा प्रतिनिधि उपस्थित हुन नआएको अवस्था छ,’ वीरेन्द्रले भनेका छन्, ‘३५ प्रतिशत सेयरधनीहरुले कम्पनीलाई पटकपटक गरेको पत्राचार, कम्पनीले निज सेयरधनीहरुलाई विभिन्न मितिमा गरेको पत्राचारहरु समेतको कागजातहरु कम्पनी रजिष्टारको कार्यालयसमक्ष अभिलेख भएको छ ।’

वीरेन्द्रले शिवेन्द्रले समानान्तर व्यवस्थापन सञ्चालन गर्ने, अन्यथा कम्पनीलाई ‘लिक्यूडेसन’मा धकेलिदिने चेतावनी दिएको अडियो रेकर्ड सुरक्षित रहेको पनि दावी गरेका छन् ।

यस्तो छ शिवेन्द्रको जिकिर

शिवेन्द्रले आफू ४० प्रतिशतको अख्तियारप्राप्त व्यक्ति भएकाले त्यसको हिसाबकिताब माग्दा हिसाब नदिएर विभिन्न आरोप लगाउँदै दाई वीरेन्द्रले कार्यालयमा जानसमेत रोग लगाएको दावी गरेका छन् ।

उनले ४० प्रतिशत शेयरवाला (दाई)ले ठुलो आर्थिक घोटाला गरेकोसमेत आशङ्का गरेका छन् । ४० प्रतिशत शेयरवालालाई कुनै जानकारी नै नदिइ थप २ जहाज खरिद गर्न लागिएको भन्दै शिवेन्द्रले त्यसलाई रोक्न राष्ट्र बैंकमा निवेदन दिएको पनि बताएका छन् । उनले अन्य धेरै ठाउँमा सम्पतिहरु लुकाइएकाले खोजी जारी रहेको पनि सार्वजनकि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved