रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 09:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल्(ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । 

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो ।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।  

“परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ”, क्याप्टेन विष्टले भने , “हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।” 

निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ । 

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved