नेपाल एयरलाइन्सका अध्यक्षमाथि करोडौँ चलखेलको आरोप, अध्यक्ष भन्छन्, ‘पहिला जहाज उडाउँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 11:10:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि आर्थिक अपचलनको गम्भीर आरोप लागेको छ । निगम कर्मचारी संघले कार्यकारी अध्यक्ष अधिकारीमाथि आर्थिक अपचलन गरेको आरोप लगाएको हो ।

नेपाल एयरलाइन्सको ९एन–एकेएक्स (लुम्बिनी) न्यरोबडी जहाज ७२ दिनदेखि ग्राउण्डेड हुँदा पनि त्यसको मर्मतसम्भारमा कुनै चासो नदेखाएको आरोप अध्यक्ष अधिकारीमाथि लागेको छ । यो जहाज ग्राउण्डेड हुँदा निगमको सवा अर्ब आम्दानी गुमेको छ ।

त्यस्तै, निगम अध्यक्ष अधिकारीमाथि जहाजको पार्टपूर्जा खरिदमा समेत अनियमितता गरी निगमलाई आर्थिक घाटा गराइरहेको आरोप लागेको छ । पार्टपुर्जा खरिद र मर्मतसम्भार एमआरओ (मेन्टेनेन्स रिपियर अर्गनाइजेशन) छनोट गर्न पटक–पटक ध्यानकर्षण गराउँदा पनि नेतृत्वले वेवास्ता गरी एओजीमार्फत आर्थिक प्रलोभनमा परी निगमलाई ठूलो आर्थिक घाटा गराइएको पनि कर्मचारीले संघले आरोप लगाएको छ । 

लामो समयदेखि सञ्चालनमा नहरेको र व्यवस्थित नगरिएको ९एन–एबीएक्स कलसाइनको ट्वीनअटर जहाज तथा ५ थान चिनियाँ जहाज र त्यसमा रहेको करोडौँ मूल्यका पार्टपुर्जाहरु अलपत्र छाडेको आरोप पनि अध्यक्ष अधिकारीमाथि लागेको छ । 

वर्षौ अघि ‘फेजआउट’ भइसकेको बोइङ ९एन–एसीबी कलासनइन जहाजलाई पार्किङ र बीमावापत निमगलाई आर्थिक व्ययभार बढाउँदै लगिएको पनि आरोप छ ।

एन–एकेडब्ल्यू कलसाइन भएको जहाजको इन्जिन भाडामा लिने तथा बनाउने प्रक्रियामा करोडौँको घोटाला तथा कमिशन मिलाउन आपसी समन्वय गर्ने बाहानामा ७१ दिनसम्म जहाज ग्राउण्डेड गराएर करोडौँको क्षति गराएको आरोप पनि निगम अध्यक्ष अधिकारीमाथि लागेको छ । नेपालकै बेइजत हुने गरी कतारको दोहामा २०२२ डिसेम्बर २७ देखि २०२३ मार्च ३ सम्म ९एन–एकेडब्ल्यू कलसाइन जहाज ग्राउण्डेड भएको थियो ।

त्यस्तै, इन्जिनको समयमै व्यवस्था नगरी ७६ करोड ‘फ्लाइट रेभिन्यू’ नोक्सान गराइएको र ६० करोडमा नयाँ इन्जिन खरिद गर्न सकिने भए पनि खरिद नगरी अमुक कम्पनीसँग मिलेमतो गरी कमशिनकै लागि ३५ करोड रुपैयाँमा इन्जिन मर्मत तथा भाडामा लगाउन दिएको पनि आरोप अधिकारीमाथि लागेको छ ।

चिनियाँ जहाजका लागि नियुक्त गरिएका पाइलट तथा इन्जिनियरलाई काम नदिएर उनीहरुको वृत्तिविकासमा समेत वेवास्ता गरिएको आरोप पनि लागेको छ । त्यस्तै, निगममा अनावश्यक रुपमा कर्मचारीहरु भर्ती गरी निगमलाई आर्थिक भार बढाउने काम भएको पनि आरोप लागेको छ । 

साहित्य समाजको सम्मेलनका नाममा अध्यक्ष अधिकारीले आफू निकटका व्यक्तिहरुलाई उडाएको आरोप पनि कर्मचारी संघले लगाएको छ । 

यस्तै, कर्मचारी विनियमावली संशोधन गर्न गठित समितिको सिफारिस अनुसार विनियमावली पास गर्न पनि संघले माग गरेको छ । कर्मचारीहरुले चेतावनी र ध्यानाकर्षणसहितको अल्टिमेटमपत्र मन्त्रालयलगायत सरोकार राख्ने निकायमा समेत पेश गरेका छन् ।

अध्यक्ष भन्छन्, ‘पहिला जहाज उडाउँ, अनि बोलौला’

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने आफू ग्राउण्डेड जहाज उडाउने विषयमा निरन्तर प्राविधिक र इन्जिनियरहरुसँग छलफलमा रहेको बताएका छन् । उनले आज सोमबारसहित मंगलबार र बुधबार पनि यसैका लागि प्राविधिक र इन्जिनियरहरुसँग छलफलमा रहेको बताएका छन् ।

‘पहिला जहाज उडाउँ, अनि यसबारे बोलौला’ उनले बिजपाटीसँग भने, ‘अहिले पनि म यसैमा व्यस्त छु, इन्जिनियरहरुसँग छलफलमै छु । आज, भोलि र पर्सी छलफल छ । जहाज उडाएपछि यसबारे कुरा गरौँला ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved