किन आएन असोज ११ मै बेलायतबाट नेपाल आउँछु भनेको हिमालय जेट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 04, 2023 | 01:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जालतिर बेलायतबाट काठमाडौँ सिँधा उडान गर्ने भनेर प्रचार गरिरहेको हिमालय जेटले असोजको ११ गते नै काठमाडौँ आउने दाबी गरेको थियो । सेप्टेम्बर २५ अर्थात् असोज ११ गते बेलायतको हिथ्रो विमानस्थलबाट काठमाडौँ उडान गर्ने भनेको हिमालय जेटले दाबी गरे अनुसारको मितिमा उडान गर्न सकेन । 

साथै, अब कहिले उडान हुन्छ भन्ने पनि टुंगो छैन । किनकी, पहिलो कुरा त हिमालय जेटसँग जहाज नै छैनन् । दोस्रो कुरा उसले नेपालमा उडान गर्न लिनुपर्ने स्वीकृतिका लागि प्रक्रिया नै सुरु गरेको छैन । तर, सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा नेपालमा आज भोली नै जहाज ल्याण्ड गराउने जसरी प्रचार गरिरहेको छ । तर, बिजपाटीको सम्पर्कमा रहेका हिमालय जेटका प्रतिनिधिले अहिले नै नियमित उडान नभई चार्टड उडान गर्न खोजिएको बताउँदै आएका छन् । अहिलेकै अवस्थामा हिमालय जेटले चार्टड उडान गर्न पनि सक्ने देखिएको छैन । उसले आजको मितिसम्म बेलायत सरकारबाटै ‘एयर अपरेशन सर्टिफिकेट’ (एओसी) पाएको छैन । 

सँगै, नेपालमा उडान गर्नका लागि हिमालय जेट आफूले भनेका भरमा हुँदैन । उ बेलायतमा दर्ता भएको हुनाले बेलायत सरकारमार्फत नेपाल सरकारलाई कुटनीतिक नोट आउनुपर्छ । बेलायत सरकारले नेपाल सरकारलाई ‘हिमालय जेट हाम्रो देशको एयरलाइन्स कम्पनी हो, नेपालसँग भएको हवाई सेवा सम्झौता अनुसार यो एयरलाइन्सलाई उडान अनुमति दिन अनुरोध गर्दछौँ’ भन्ने विषय खुलाएर कुटनीतिक नोट पठाउनुपर्छ । यस्तो नोट परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालय हुँदै नेपालको सिभिल एभियसन हेर्ने निकाय नागरिक उड्डयन प्राधिकरणमा आउनुपर्छ । यस्तो नोट आएपछि नेपाल पक्षले हवाई सम्झौता हेरेर ‘लेटर अफ अथोराइजेशन’ पठाउनुपर्छ । 

लेटर अफ अथोराइजेशन पठाएपछि फेरि एयरलाइन्सले कुन विमानस्थलमा उडान गर्न चाहेको त्यो खुलाएर आवेदन दिनुपर्छ । आवेदन आएपछि उसले उडान गर्न चाहेको विमनस्थलमा उडान अनुमति दिन सकिने वा नसकिने भन्ने सम्बन्धमा नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकले विमानस्थलका अधिकारीसँग छलफल गर्छन् । यदि उडान गर्न सक्ने देखिएमा महानिर्देशकले नियमित उडान (सेड्यूअल फ्लाइट)को अनुमति दिन सक्ने व्यवस्था छ । तर, यो प्रक्रियामा अहिलेसम्म हिमालय जेट प्रवेश नै गरेको छैन । 

यद्यपी, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यदि उसले चार्टड उडान मात्रै गर्न चाहे यो प्रक्रिया पूरा गर्नु पर्दैन । उसले आफ्नो देशबाट ‘एयर अपरेशन सर्टिफिकेट’ (एओसी) मात्रै लिएर पनि चार्टड उडान गर्न सक्छ ।

‘चार्टड उडान गर्ने हो भने एओसी पाएको कागजात पठाएर यो मितिमा यति बजे आउँछु भन्दा अनुमति पाउन सक्छ’ उनले भने, ‘नियमित उडानका लागि चाहिँ फर्मल्ली अहिलेसम्म केही आएको छैन, तर चर्चा भएपछि र बुकिङसमेत लिन थाल्यो भन्ने भएपछि हामीले वाच गरेका थियौँ, क्यानको पर्मिशन बिना बुकिङ लिन मिल्दैन । पर्मिशनका लागि प्रक्रिया पूरा गर्नुपर्छ । अनौपचारिक रुपमा हामीले उहाँहरुको टिमलाई यस सम्बन्धमा सचेत गराएर नेपालमा उडान गर्ने हो भने यी यी प्रक्रिया पूरा गर्नुपर्छ भनेर बुझाइदिएका छौँ ।’

हिमालय जेटले नेपालमा उडान गर्न भन्दै केही दिन अगाडी जेनिथ ट्राभललाई जनरल सेल्स एजेन्ट (जिएसए)मा नियुक्ति गरेको छ । 

बेलायत–काठमाडौँ सम्भव छ ?

नेपालको हवाई उड्डययन क्षेत्रलाई युरोपियन युनियनले सेफ्टी लिस्ट (चलन चल्तीको भाषा अनुसार कालोसूची)मा राखेको छ । यस्तो बेलामा बेलायतमा दर्ता भएको एयरलाइन्सले नेपालमा उडान गर्न चाहँदा नेपाललाई फाइदा नै हुने क्यानका सूचना अधिकारी भुल बताउँछन् । 

उनका अनुसार बेलायत र नेपालबीच भएको हवाई सेवा सम्झौता अनुसार अहिले बेलायतबाट हप्तामा ३ उडान गर्न सक्ने अवस्था छ । सन् १९९४ मार्च ३ मा नेपाल र बेलायतबीच भएको हवाई सेवा सम्झौता अनुसार हप्तामा ६ सय सिट क्षमतामा जहाज आउन सक्ने व्यवस्था छ । यो भनेको अहिलेको अवस्थामा एक उडानले २ सय यात्रु बोक्दा हप्तामा ३ उडान हो । उक्त सम्झौता बमोजिम हप्तामा ३ उडान नेपाली जहाज र ३ उडान बेलायती जहाजले गर्न सक्ने ठाउँ छ । 

यदि हिमालय जेट नेपाल आउँदा पनि यहीँ सम्झौता अनुसार आउने हो । तर, अहिलेसम्मको अवस्था हेर्दा हिमालय जेटले बेलायत–काठमाडौँ–बेलायत उडान गर्छ भन्नेमा शंका देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved