हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 11:03:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले आज डिसेम्बर २८, २०२३ देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । 

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ । 

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पहिलो आउटबाउन्ड उडान, H9 774, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ ।  एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । 

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, माननीय श्री सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित  भएका थिए । यसका साथै चिनियाँ दूतावासका उपप्रमुख वाङ जिन र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङले स्वागत गरेका थिए ।

सोअवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भने , “हिमालय एअरलाइन्स्ले काठमाडौं– ल्हासा–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । “यस नयाँ स्थापित मार्गले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ।  

“श्री वाङ जिन, भने , “यो प्रथम उडान नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धहरूलाई ठूलो शक्ति दिने अवसरमा छ, जो सांस्कृतिक र संयोजन संबन्धहरूलाई थप नजिक गर्दै जाने छ ।” “नयाँ सुरु गरिएको रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको छ । सारमा, यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमा बिस्तार गर्दछ । यातायात पूर्वाधारमा भएको यो बिस्तारले पहुँचलाई बढावा दिने मात्र होइन, यसले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहनुभएका भाइस प्रेसिडेन्ट श्री विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै भने , “ हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु हो । हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न हाम्रो योगदान उल्लेखनीय रहेको छ । यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा राख्दछौँ । ”

 हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले  चीनका पाँच शहरहरूमा उडान गर्दैछ : बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासा। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved