नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा ब्याजदरको सम्बन्धमा यस अघि गरेको भद्र सहमती खारेज गरेसंगै बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा सुरु भएको छ।
ब्याजको दर बढाउने प्रतिस्पर्धामा अन्य बाणिज्य बैंकलाई पछाडी पार्दै मेगा बैंकले सर्वाधिक ब्याजदर सहित लोकप्रिय अफर ल्याएको छ। बैंकले आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ ।
ग्राहकहरुको चाहना अनुसार बमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ। न्यूनतम १ लाख रुपैँयामै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ। यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ ।
त्यस्तै बैंकले आकर्षक सुविधा सहित ‘मेगा राइजिङ बचत खाता’ योजना समेत ल्याएको छ। न्यूनतम १० हजार रुपैँयामै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ। यो योजनामा ग्राहकहरुका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।
बैंकले ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजना समेत ल्याएको छ। यस योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपैँयामै खोल्न सकिनेछ। यो योजनामा चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।