एक महिनामा ४० प्रतिशतले बढ्यो बैंक वित्तीय संस्थाको नाफा, तर भविष्यलाई छैन गतिलो संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 05:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको साउन मसान्तसम्मको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकको नियमन विभागले सार्वजनिक गरेको उक्त तथ्यांकमा खुद मुनाफाका अंक हेर्दा बैंक वित्तीय सँस्थाहरुको प्रगती मनग्गे देखिएपनि सम्पूर्ण तथ्यांक हेर्दा आगामी दिनलाई गतिलो संकेत भने देखिएको छैन।  

बैंक वित्तीय सँस्थाले एक महिनामै ३९.४५ प्रतिशतले खुद मुनाफा  बढाएर साउन मसान्तसम्म २  अर्ब ८१ करोड १० लाख रुपैयाँ पुर्याएका छन्। जसमा कमर्शियल बैंक, विकास बैंक र फाइनान्स कम्पनीको समेत हिस्सा जोडिएको छ। २०७८ साल साउन मसान्तमा ७ अर्ब १२ करोड ४० लाख खुद मुनाफा गरेका बैंक वित्तीय संस्थाहरुले २०७९ साउन मसान्तमा ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ आर्जन गरेका छन्। अर्थात २ अर्ब ८१ करोड १० लाखले खुद मुनाफा बढाएका छन्। 

त्यस्तै कमर्शियल बैंकहरुको मात्र तथ्यांक हेर्ने हो भने उनीहरुको खुद मुनाफा ४३.२१ प्रतिशतले बढेको छ। २०७८ साउन मसान्तमा ६ अर्ब ३१ करोड १० लाख खुद मुनाफा आर्जन गरेका बैंकहरुले २०७९ साउन मसान्तमा ९ अर्ब ३ करोड ८० लाख आर्जन गरेका छन्।  अर्थात २ अर्ब ७२ करोड ७० लाखले खुद मुनाफा बढाएका छन्। 

लगानीयोग्य रकमको अभावमा बजारमा पर्याप्त लगानी नगर्दा नगर्दै पनि बैंक वित्तीय संस्थाहरुको लगानी असार मसान्तको तुलनामा साउन महिनामा ७ अर्बले कर्जा लगानी बढेको छ। जसबाट विगतका बर्षहरुको समेत जोडेर झन्डै ३ अर्ब ब्याज आम्दानी भएको छ। 

कमर्शियल बैंकहरुले कुल २ अर्ब ७२ करोड खुद मुनाफा आर्जन गरेपनि सबै बैंकहरुको मुनाफा उस्तै वृद्धि देखिएको छैन। २६ मध्ये मेगा बैंकको खुद मुनाफा घटेको छ भने नबिल, कृषि, सिटिजन्स र सानिमा बैंकको खुद मुनाफा १० प्रतिशत भन्दा कमले बढेको छ। 

आगामी दिनलाई छैन गतिलो संकेत 

विगत तथा गत आर्थिक बर्षको कर्जा लगानीबाट यस चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा बैंक वित्तीय संस्थाहरुले करिब ४० प्रतिशतले खुद मुनाफा बढाउन सफल भएपनि आगामी दिन भने सहज नभएको तथ्यांकले देखाउंछ। 

२०७८ साउनको तुलनामा २०७९ साउनमा ब्याज आम्दानी ६२ प्रतिशतले बढेको देखिएपनि ब्याज खर्च ७२.७० प्रतिशतले बढेको छ। अझ यो बढेको ब्याज आम्दानीमा सरकारी सेक्युरिटिजमा गरिएको लगानीबाट प्राप्त ब्याज आम्दानी समेत सामेल छ। 

तर एकातर्फ ब्याज आम्दानीको तुलनामा जुन तरिकाले ब्याज खर्च बढिरहेको छ र अर्कोतर्फ जुन तरिकाले गैर ब्याज आम्दानीको हिस्सा खुम्चिदै छ, यसले आगामी दिनमा बैकहरुको लागि संकेत सुखद देखिदैन। २०७८ सालमा १०० रुपैयाँ ब्याज आम्दानी गर्न बैकहरुले ६२ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो भने अहिले यो खर्चको रकम ६५ रुपैयाँ ७५ पैसा पुगेको  छ। यसले पनि बैंकहरुको लागि आगामी दिन सुखद नरहेको देखाउंछ। 

अर्कोतर्फ, बचत तथा मुद्दती निक्षेपमा जुन तरिकाले बैंकहरुको ब्याज खर्च बढिरहेको छ, यसले पनि आगामी दिनमा बैंकहरुको आम्दानी खुम्चिने स्पष्ट संकेत देखाउंछ। 

त्यस्तै बैंकहरुको गैर ब्याज आम्दानी २७.८० प्रतिशतले घटेको छ। २०७८ साउन महिनामा गैर ब्याज आम्दानी ५ अर्ब २१ करोड रहेकोमा २०७९ साउन महिनामा यो आम्दानी घटेर ३ अर्ब ७६ करोडमा झरेको छ। 

यी विभिन्न सूचकले चालू आर्थिकमा बैंक वित्तीय संस्थाहरुको कर्जा लगानी नबढ्ने र परिपक्व भएका निक्षेपहरुमा थप ब्याजको भार बढ्दै जाने हो भने आगामी आर्थिक बर्ष बैंक वित्तीय संस्थाहरुको लागि चुनौतिपूर्ण देखिन्छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved