नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आज आइतबार निजी क्षेत्रका ३ ठूला संगठनका अध्यक्षहरुसँग छलफल गरे ।
उद्योगी व्यवसायीहरु राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु विरुद्द आन्दोलित भएपछि गर्भनर अधिकारीले आइतबार करिब १ घण्टा निजी क्षेत्रका ३ ठूला संगठनका अध्यक्षहरुसँग छलफल गरेको स्रोतले बताएको छ ।
गर्भनर अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णु अग्रवालसँग आइतबार अपरान्ह १ घण्टा जति छलफल गरेको स्रोतको भनाई छ ।
छलफलमा उद्योगी व्यवसायीहरुको तर्फबाट महासंघका अध्यक्ष गोल्छाले बढ्दो ब्याजदर र चालु पूँजी कर्जा सम्बन्धि मार्गदर्शनबारे प्रश्न उठाएका थिए । गोल्छाले ब्याजदर निरन्तर बढिरहेको र निक्षेपमा जति नै ब्याज बढाएपनि वित्तीय प्रणालीमा तरलताको उपलब्धता नबढेकाले ब्याज मात्रै बढिरहने नीति परिमार्जन गरेर उद्योग व्यवसायमा कम ब्याजदरमा कर्जा प्रवाह हुने प्रवन्धका लागि अनुरोध गरेका थिए ।
स्रोतका अनुसार चेम्बरका अध्यक्ष मल्ल र सीएनआईका अध्यक्ष अग्रवालले निक्षेपमा ब्याज बढाउँदा त्यसको सोझो प्रभाव उद्योग व्यवसायमा पर्ने भएकाले यसबारे पुर्नविचार गर्न आग्रह गरेका थिए । उद्योग व्यवसायको लागत कम गराउनुपर्नेमा झन झन बढाउने नीति औद्योगिक व्यवसायिक क्षेत्रका लागि प्रतिकुल भएको र यसले उद्योग व्यवसायको क्षेत्र धराशायी बनेको उनीहरुको गुनसो थियो ।
जवाफमा गर्भनर अधिकारीले बैंकहरुले निक्षेपमा बढी ब्याज दिने भन्दै गरिरहेको विज्ञापन रोक्न निर्देशन दिने प्रतिवद्धता जनाएको स्रोतको भनाई छ ।
ब्याजदर बारे भने गर्भनर अधिकारीले राष्ट्र बैंकले यसबारे तत्काल कुनै नीतिगत व्यवस्था नगर्ने संकेत गरेको स्रोत बताउँछ । तर, उनले ब्याजदर बजारले नै निर्धारण गर्ने विषय भएकाले राष्ट्र बैंकले हस्तक्षेप गर्ने विषय नभएको दाबी गरेको स्रोत बताउँछ ।
‘ब्याजदर बजारमा उपलब्ध तरलताको आधारमा तय हुने विषय हो भन्ने उहाँले पूरानै दाबी दोहोर्याउनु भयो’ गर्भनर अधिकारीसँग छलफलमा बसेका एक व्यक्तिलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘बजारले नै निर्धारण गर्ने विषयमा राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्दैन भन्ने उहाँको कुरा आयो । तर, बैंकहरुले बढी ब्याजको लोभ देखाएर निक्षेपका लागि गरिरहेको सूचना बन्द गराउन निर्देशन दिन्छु भन्नु भएको छ ।’