५ घण्टे छलफलमा वाणिज्य बैंकका सीइओले उठाए यी विषय, गभर्नरले भने 'समाधान दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 11:03:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग ५ घण्टा छलफल गरेको छ। राष्ट्र बैंकले समसामयीक विषयमा छलफल गर्न भन्दै बैंकका सीइओहरुलाई निम्ता गरेकोमा सो छलफल ५ घण्टासम्म चलेको हो । 

छलफलमा बैंकका सीइओहरुले अहिले बजारमा देखिएका 'जल्दा बल्दा' बिषयहरु उठान गरेका थिए भने समस्याको गाँठो फुकाईने आश्वासन  राष्ट्र बैंकले दिएको छ। 

छलफलको सुरुवातमा नै गभर्नर महाप्रसाद अधिकारिले अहिलेको समस्याबारे खुलेरै आफ्नो कुरा राख्नलाई निर्देशन भएपछि बैंकका सीइओहरुले पनि अहिलेका बिषयहरु खुलेरै राखेको छलफलमा सहभागी एक बैंकका सीइओले बिजपाटीले बताए। गभर्नर अधिकारीले अहिले बैंकको कर्जा तिर्नु पर्दैन भनेर आन्दोलन गरिरहेका व्यक्तिहरुले कर्जा लिएका बैंकका सीइओबाट उनीहरुको कर्जाको 'स्ट्याटस' र समग्र बैंकमा परेको प्रभावबारे जानकारी लिएका थिए। 

ती सीइओकाअनुसार कर्जा तिर्नुपर्दैन भन्ने आन्दोलन गर्नेहरुको कर्जा र लक्षित बैंकको अवस्था, कर्जा उठान 'रिकभरी'को अवस्था, तरलताको अवस्था, अमेरिकामा बैंक बन्द भएका घटनाको असर, बैंकहरुको पुंजीको अवस्था, अहिले कर्जाको माग र आपूर्तिको अवस्था लगायतका बिषयमा बैंकका सीइओहरुले खुलेर नै आफ्ना धारणा राखेका थिए। 

बैंकका सीइओहरुले डिभेञ्चरको फण्ड र स्थानिय तहको पैसालाई तत्काल तरलतामा गणना गर्नबाट नहटाउन, काउन्टर साइक्लिकल बफर लागू गर्दा समस्या बल्झिने र ८-१० वटा बैंक कर्जा प्रवाह नै गर्न नसक्ने अवस्थामा पुग्ने भएकाले तत्कालै कार्यन्वयन नगर्न, सिमेन्ट डण्डी तथा निर्माण क्षेत्रलाई कर्जा भुक्तानी गर्न धेरै कठिनाइ भएकाले यी क्षेत्र तथा दुई करोड माथिका अप्ठ्यारोमा परेका क्षेत्रका कर्जालाई पुंजीकृत सुविधा दिन लगायतका मागहरु राखेका थिए। 

त्यस्तै बैंकका सीइओहरुले अमेरिकामा बैंक बन्द भएका घटनासँग नेपालका बैंकहरुको दुरसम्म पनि कुनै सम्बन्ध नभएको, अहिले पनि नेपालका बैंकहरु सक्षम र बलियो भएको, अप्ठ्यारोमा परेका उद्योग व्यवसायलाई पुंजीकृत वा अरु सहजीकरणको सुविधा उपलब्ध गराउँदा पनि खराब कर्जामा पनि ठूलो असर नपर्ने अवस्था रहेको, दक्षिण एसियामा नै खराब कर्जामा राम्रो अवस्थामा रहेको लगायतका बिषयबारे राष्ट्र बैंकलाई जानकारी गराएका थिए। 

गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समस्या समाधानको लागि राष्ट्र बैंक बैंकहरुको साथमा रहेको जवाफ दिएका थिए। सँस्थागत सुशासनमा बसेर काम गर्न आग्रह गर्दै गभर्नर अधिकारीले हरेक समस्याको समाधानको लागि सहजीकरण गर्न राष्ट्र बैंक सधैं तयार रहेको भन्दै बैंकका सीइओहरुलाई ढाडस दिएका थिए। 

चाहना हुँदाहुँदै परिस्थितिका कारण कर्जा भुक्तानीमा समस्या आएका उद्योग व्यवसाय तथा क्षेत्रहरुलाई सहजीकरणका लागि कुनै न कुनै उपाय राष्ट्र बैंकले छिट्टै दिनेमा समेत गभर्नर अधिकारिले बैंकका सीइओहरुलाई आश्वस्त पारेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved