बैंकमाथि निरन्तर आक्रमण हुँदा विदेशी मुलुकले उठाउन थाले प्रश्न, एफडिआई नै बन्द हुने चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 07:41:54 PM मा प्रकाशित

nepal oil ltd

नेपाल बैंकर्स संघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि निरन्तर रुपमा आक्रमण हुँदा बाह्य मुलुकसंगको व्यावसायीक सम्बन्धमा समेत समस्या आएको जनाएको छ। संघका अध्यक्ष सुनिल केसीले सडकबाट गरिने हिसाबकिताव र आक्रमणले बाह्य मुलुकमा नकरात्मक सन्देश प्रवाह हुन गई प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) मा नै असर परेको बताएका हुन्।

बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने ‘मुलुकको प्रमुख कम्पोनेन्ट र प्रोफेश्नल म्यानेज सिस्टममा चलेको बैंकिङ्ग क्षेत्रमा आक्रमण गर्दा बाहिरको लगानीकर्ताहरुमा निरुत्साहित बनाएको छ। अहिले बाह्य मुलुकसँग जतिपनि डिल भईरहेको छ, उहाँहरुले यो कस्तो आक्रमण, किन यस्तो भएको छ? समस्या के हो? भन्ने कुराहरु आएका छन्। यसले समग्र मुलुकको अर्थतन्त्रलाई समस्यामा पार्नेवाला छ।’

नेपाल यसै पनि एफडीआई भित्राउने मामलामा पछाडी रहेको जानकारी गराउँदै पछिल्ला दिनहरुमा थप समस्या निम्त्याउने उनको भनाई छ। ‘गत वर्ष नेपालले एफडीआई १८–१९ अर्ब मात्रै भित्राएको छ, त्यहि एफडीआई बंगलादेशले ४ सय अर्ब भन्दा बढी ल्याएको छ।’ उनले भने, ‘नेपालको विकासको लागि एफडीआई नभई नहुने कुरा हो। यसलाई निरुत्साहित गर्ने गतिविधि गर्नु दुखद् हो।’ 

सतह नै कमजोर भएको ठाउँमा रहेर अराजक गतिविधि गर्नु देशको अर्थतन्त्र थप खराबतर्फ धकेल्नु रहेको उनले बताए। यस्ता गतिविधि रहेभने भोलीको दिनमा एफडीआइ ब्लक हुन सक्ने जोखिम रहेको उनको भनाई छ। 

देशकै क्रेडिट रेटिङ नभएको अवस्थामा बाह्य मुलुकबाट कुनै पनि लगानी भित्राउन असहज हुँदा पनि पछिल्लो समय बैंकहरुले त्यसको लागि कसरत गरेको बताए। 

ब्याजदर चर्काे होईन

बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महंगो नभएको संघले जनाएको छ। विगतका वर्षहरुमा पनि औषत ब्याजदर १२ देखि १३ प्रतिशतकै हाराहारीमा रहेको र यो वर्ष पनि उस्तै रहेको अध्यक्ष केसीले बताए। 

विगतका वर्षहरुमा हेर्दा पनि अहिलेकै जस्तो व्याजदर रहेको र केही असहज अवस्थामा मात्रै ब्याजदर घटेको अध्यक्ष केसीको भनाई छ। ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महंगो भयो भन्न मिल्दैन, अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीक अघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved