बैंकहरुमा लुकाईंदैछ खराब कर्जा, फस्न सक्छन् शेयर लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 02:23:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरु कर्जाको वास्तविकता लुकाएर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। ब्यालेन्स सिट राम्रो देखाउने अस्वस्थ प्रतिस्पर्धाका कारण कर्जाको वास्तविकता लुकाउन खोजिएको सूचना बिजपाटीलाई प्राप्त भएको छ ।

कर्जाको यथार्थपरक तथ्याङ्क राखेर वित्तीय विवरण सार्वजनिक गरेमा खराब कर्जा ७ प्रतिशत नाघ्ने अवस्था रहे पनि राम्रो बन्ने दौडले अधिकांश बैंक तथा वित्तीय संस्थाले वास्तविकता लुकाउनु परेको एक बैंकका प्रमुख कार्यकारीले बताए। 

उनकाअनुसार अहिले पनि कर्जा उठौतीमा धेरै समस्या छ, तर पनि राम्रो बन्ने दौडका कारण बैंकहरु त्यो यथार्थपरक तस्विर बाहिर ल्याउने छैनन्। अधिकांश बैंक तथा वित्तीय संस्थाले खराब कर्जा ३ देखि ४ प्रतिशत मात्रै रहेको देखाउने तयारीमा छन्। दोहोरो फाइदा हुने भएकाले खराब कर्जाको वास्तविकता लुकाइने उनको भनाइ छ।

'खराब कर्जा जति कम देखाउन सक्यो, त्यति बढी नाफा देखिने र बजारमा पनि प्रतिस्पर्धी भन्दा बलियो देखिनेभयो', ती सिईओले भने, 'तर यसले बढी नाफा हुँदा बढी लाभांश दिन्छ भनेर संस्थाको शेयरमा लगानी गर्ने शेयर लगानीकर्ता फस्ने सम्भावना बढी हुन्छ।'

गत आर्थिक वर्षमात्रै मर्जर तथा प्राप्ति प्रक्रिय सकेर एकीकृत कारोबारमा गएका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढी हुनेसमेत ती सिईओको भनाइ छ। उनकाअनुसार मर्जर तथा प्राप्तिबाट आएका संस्थाका कर्जाहरु बढी नजिकबाट नियालिने भएकाले पनि मर्जर तथा प्राप्तिमा गएकाहरुमा खराब कर्जा बढी हुने अवस्था सिर्जना हुन्छ।

अर्थतन्त्रमा आएको मन्दी तथा कर्जा नतिर्ने आन्दोलनका कारण कर्जा उठौतीमा ठूलो समस्या परेकाले गत वर्ष खराब कर्जा स्वत बढ्नुपर्ने भए पनि राम्रो बन्ने दौडले वास्तविक लुक्ने अर्का एक बैंकका अध्यक्षले बताए। 

उनले भने, 'हामी वास्तविक तथ्याङ्क देखाउन चाहन्छौँ तर यहाँ एकातर्फ वास्तविकता देखाउँदा आफू नराम्रो भइने र अर्कोतर्फ वास्तविकता देखाउनेलाई सम्मान र लुकाउनेलाई कारबाही पनि नहुने भएकाले हामीले चाहेर पनि वास्तविकता देखाउन सक्दैनौँ।'

'कर्जा नतिरेका ग्राहकलाई कर्जा तिर्न डाक्ने र सम्पत्ति लिलामको सूचना सबैभन्दा बढी निकाल्ने बैंकको खराब कर्जा एक प्रतिशत मुनि हुँदा त्यो बैंकको वास्तविकता नखोजिएपछि अरु बैंकले वास्तविकता देखाएर आफ्नो ब्राण्ड किन बिगार्ने ?' ति अध्यक्षले नेपाल राष्ट्र बैंकप्रति सङ्केत गर्दै आलोचनात्मक रुपमा भने । 

ति अध्यक्षकाअनुसार सिईओहरुले नै आफ्नो कार्यसम्पादन राम्रो देखाउन कर्जा तिर्न नसक्ने व्यक्ति रहेको समूहको कर्जाको प्रोभिजन नगर्ने तर उक्त व्यक्तिको व्यक्तिगत कर्जालाई प्रोभिजन गरेर ठूलो खराब कर्जा लुकाएका छन्। राष्ट्र बैंकले पनि यस्तो विषयलाई नजिकबाट सुपरीवेक्षण गर्न नसक्ने भएकाले व्यक्तिको व्यक्तिगत कर्जा प्रोभिजन गरेर उ रहेको समूहको कर्जालाई राम्रो कर्जा देखाइएको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गतेसम्मको कारोबारलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा सामेल गर्न पाउने भएकाले अधिकांश बैंक तथा वित्तीय संस्थाले साउन १५ पछि नै वित्तीय विवरण सार्वजनिकको तयारीमा छन्। कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा प्राप्तिमा नगएको सिटिजन बैंकले मात्रै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले पनि खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत कायम रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। जुन ०.९७ प्रतिशत विन्दुको वृद्धि हो ।  

बैंक तथा वित्तीय संस्थामा भन्दा लघुवित्तमा खराब कर्जाको अवस्था भयावह हुने विभिन्न लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको भनाइ छ। एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृतका अनुसार कर्जा उठौतीको प्रतिशत ५० पनि नरहेकाले गत वर्ष लघुवित्तको खराब कर्जा औषतमा ९.१० प्रतिशत पुग्ने देखिन्छ। तर केही लघुवित्तले यही वास्तविकतालाई पनि लुकाउने उनको दावी छ।

खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेका बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। त्यसबाट बच्नका लागि समेत बैंकहरुले कर्जाको वास्तविकता लुकाएर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा रहेको पाइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved