नबिलबाट सुरु भएको 'ब्याज आतङ्क'ले विफल बन्यो ब्याज घटाउने अर्थमन्त्रीको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 01:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिललगायत पाँच कमर्सियल बैंकले ब्याजको दर बढाएपछि बजारमा फेरि 'ब्याज आतङ्क' मच्चिएको छ। नबिललगायत तीन बैंकबाट सुरु भएको ब्याज बढाउने अभियानले दशौँ अर्ब निक्षेप खोसिएपछि निक्षेप बचाउनलाई भए पनि ब्याज बढाउनुपर्ने बाध्यताले बजारमा फेरि 'ब्याज आतङ्क' सुरु भएको हो। 

नबिललगायत तीन बैंकले ब्याज बढाएको केही दिनमै बाध्यताले अन्य केही बैंकले ब्याज बढाउने निर्णय गरेको हो। आफ्नो बैंकबाट पन्ध्र अर्ब निक्षेप खोसिएकाले ब्याज बढाउन बाध्य हुनुपरेको ब्याज बढाएका पाँचमध्ये एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। 

नबिल बैंकले ब्याज बढाउने खबर थाहा भएपछि हामीसँगको निक्षेप बचाउनका लागि पनि ब्याज बढाउनुपर्ने बाध्यता आइलागेको ती बैंकका प्रमुख कार्यकारी अधिकृतले  बताए। ब्याजदर बढाउँदा अर्थतन्त्रमा थप गाह्रो पर्छ भन्ने थाहा हुँदाहुँदै पनि निक्षेप बचाउनलाई पनि ब्याज बढाउनु परेको उनले गुनासो गरे। 

'ब्याजको दर घटाउन भद्र सहमती तोडिएको जस्तो लाग्थ्यो तर साथीहरु ब्याज बढाउँनलाई भद्र सहमति तोड्नु भएको रहेछ। बैंकमा प्रशस्त पैसा हुँदा पनि ब्याजको दर बढाउने खेलले अलिअलि बचेका ऋणी पनि सडकमा आउने अवस्था बन्यो। ब्याज बढाउने खेल सुरु गरेको नबिलले नैतिक जिम्मेवारी लिनुपर्छ', ती सीइओले भने। 

बजारमा प्रशस्त पैसा भएका बेला सस्तो ब्याज बनाएर व्यवसायिक वातावरण बनाउनुपर्नेमा अहिले ब्याजको दर बढाउँदा निक्षेप खोसाखोस भएकोले सबै बैंक ब्याज बढाउन बाध्य हुने उनको दावी छ। नबिलबाट सुरु भएको यो रोग भद्र सहमतिमार्फत नरोकिए ब्याज घटाएर ऋणीलाई राहत दिने र थप व्यवसायिक माहोल बनाउने सरकारको योजना पनि विफल हुने उनको तर्क छ। 

'ब्याज घट्दा एकातर्फ अहिलेकै ऋणीले तिर्नुपर्ने ब्याज घट्थ्यो र व्यवसायिक लागत कम हुन्थ्यो भने अर्कोतर्फ नयाँ ऋणीलाई पनि कर्जा लिएर व्यवसाय थालौँ भन्ने हुन्थ्यो, यसले ठप्प रहेको अर्थतन्त्रलाई केही चलायमान बनाउँथ्यो तर अब त्यो सम्भव भएन', उनले भने। 

नबिल बैंकबाट सुरु भएको ब्याज बढाउने प्रतिस्पर्धालाई एनआईसी एसिया, प्राइम, एनएमबि र कुमारी बैंकले पछ्याएका छन्। यी बैंकहरुले व्यक्तिगत तर्फको मुद्दतीमा १०.९३६ प्रतिशत ब्याज कायम गरेका छन् भने संस्थागततर्फ ९.९३६ प्रतिशत कायम गरेका छन्। 

निजी लगानीका बैंकहरुले ब्याजमा तिब्र प्रतिस्पर्धा गर्दा सरकारी लगानीका तीन बैंकहरुमा बढी दबाब परेको ती बैंकका प्रमुख कार्यकारीहरुले बताएका छन्। ब्याज नबढाउने भद्र सहमति भएको अवस्थामा आफूहरु पनि ब्याज बढाउन बाध्य हुने उनीहरुको भनाइ छ। 

भद्र सहमति ब्यूँताउन अर्थमा लबिङ्ग

नबिललगायत यी बैंकहरुले ब्याज बढाएकाले आफूहरु पनि ब्याज बढाउन बाध्य भएकोबारे एक सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले अर्थमन्त्री डा प्रकाशशरण महतलाई जानकारी गराएका छन्। 

बजारमा प्रशस्त पैसा हुँदाको अवस्थामा ब्याजको दर घटाउन सहमति जुटाउनलाई पनि भद्र सहमतिको आवश्यकता रहेकाले यसलाई ब्यूँताउन उनले अर्थमन्त्रीलाई सुझाव समेत दिएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved