वाणिज्य बैंकको नाफा साढे १३ अर्ब, ८ बैंकले बढाउँदा १२ बैंकको घट्यो (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 12:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद नाफा घटेको छ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जा लगानीमा देखिएको सुस्ताको प्रभाव बैंकमा देखिएको हो । 

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आव २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले कुल १३ अर्ब ४७ करोड २० लाख ४६ हजार ७ सय ९५ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले १६ अर्ब ५५ करोड ७ लाख ६३ हजार ७८ रुपैयाँ नाफा गरेका थिए । जुन गत आवको तुलनामा १८.६० प्रतिशत अर्थात ३ अर्ब ७ करोड ८७ लाख १६ हजार २८३ रुपैयाँले कमी हो ।

११ बैंकको नाफा घट्यो, नोक्सानीमा कृषि विकास बैंक

समिक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा गएको छ । अघिल्लो वर्षको सो अवधिमा भने बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो । 

त्यस्तै समिक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा ९१.४० प्रतिशतले घटेको छ । गत आवको यस अवधिमा ४९ करोड ४२ लाख नाफा कमाएको सिद्धार्थले यसपाली ४२ करोड ८६ लाख नाफा कमाएको छ । 

त्यस्तै लक्ष्मी सनराइजको नाफा ७९.५३ प्रतिशत, सरकारी स्वामित्वको नेपाल बैंकको ७६.४३ प्रतिशतले, कुमारी बैंकको ७३‍‍.६४ प्रतिशत र एनआइसी एसियाको ४२.४९ प्रतिशतले नाफा घटेको छ । 

सरकारी स्वामित्वको अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशतले घटेर ८५ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, नेपाल एसबिआइ बैंकको २३.६२ प्रतिशत, सिटिजन्स बैंकको १९.७० प्रतिशत सानिमाको ११.९ प्रतिशत, एभरेष्ट बैंकको ९.४५ प्रतिशत र नबिल बैंकको नाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको हो ।

८ बैंकको नाफामा वृद्धि

यस अवधिमा आठ बैंकले भने नाफा बढाएका छन् । नाफा वृद्धि गर्नेमा हिमालयन बैंक, प्रभुबैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, माछापुच्छ्रे, एनएमबि, ग्लोबल आईएमई र स्ट्याडर्ड चार्टर्ड रहेका छन् । 

यस अवधिमा हिमालयन बैंकले ९८.३५ प्रतिशत वृद्धि गरी  १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ कमाएको छ । त्यस्तै प्रभु बैंकको नाफा ४६.७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३३.४७ प्रतिशत , प्राइम कमर्शियल बैंकको ३१.७३ प्रतिशत र माछापुच्छ्रे बैंकको २०.१८ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी,एनएमबी बैंकले ६.५३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशतले र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.०१ प्रतिशतले नाफा बढाएका छन् ।

सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले यसअवधिमा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ भने तेस्रो बढी कमाउने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । 

यता, सबैभन्दा कम नाफा कमाउनेमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ । बैंकले ४२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक भने यसअवधिमा नोक्सानीमा गएको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved