बैंकर्स संघका अध्यक्ष भन्छन् ' निष्क्रिय कर्जाले डराउनु पर्दैन, सजग भने हुनु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 05:32:26 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बैंकर्स संघले जनाएको छ । बैंकहरुको ठूलो रकम सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनका लागि छुट्याउनु पर्दा नाफा घटेको संघले जनाएको छ । 

सोमबार संघले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तीन महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको जानकारी दिए । यो अवधिमा बैंकको खराब कर्जा एनपीएल ३.६१ प्रतिशत पुगेको उनको भनाई छ ।

उनका अनुसार खराब कर्जा बढ्दा बैंकहरुले प्रोभिजनिङ्गका लागि मात्रै १६ अर्बभन्दा बढी रकम छट्याएका छन् । गत वर्षको यसै अवधिका त्यस्तो रकम ७ अर्ब मात्रै थियो ।

त्यस्तै यो अवधिमा बैंकहरुको कर्जा लगानीमा पनि अपेक्षित वृद्धि हुन सकेको छैन् । अध्यक्ष केसी भन्छन्, 'चालू आर्थिक वर्ष कात्तिक १७ सम्म वाणिज्य बैंकमा रहेको कुल निक्षेप १२० अर्ब तथा कर्जा प्रवाह ८४ अर्ब रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा केही बढी हो ।' जसका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको उनको भनाइ छ ।

अध्यक्ष केसीले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर बैंकमा देखिएको उल्लेख गरे । 'यद्यपी, दक्षिण एसिया अन्य देशको तुलनामा नेपालको बेंकिङ्ग अवस्था ठीकै रहेको छ ।' कार्यक्रममा बोल्दै उनले भने, 'डराउनुपर्ने अवस्था छैन्, सजग भने हुनुपर्छ ।'

समस्या समाधानका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल

अध्यक्ष केसीले अहिलेको बैंकिङ्ग साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल भएको बताएका छन् । उनले बैंकिङ्ग क्षेत्रको अहिले अवस्था समग्र अर्थतन्त्रको प्रतिबिम्बका रुपमा रहेको भन्दै थप सजग भएर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याए । यसका लागि छुट्टै कम्पनी बनाएर अघि बढ्न सकिने विषयमा छलफल भएको उनको भनाई छ । 

त्यस्तै उनले आगामी दिनमा निष्कृय कर्जा थप नबढ्ने संकेत गरे । उनले अहिले डिफल्ट भएका कर्जाको प्रोभिजन गरेर जाँदा पछि राइटब्याक हुने उनको भनाई थियो ।

अध्यक्ष केसीले आगामी दिनमा ब्याजदर नबढ्ने संकेत समेत दिएका छन् । असोजको भारित औसत ब्याजदर ९.९४  प्रतिशतमा आइसकेको तथा तीन महिनाको औसत ब्याजदर पनि १०.०९  प्रतिशत रहेको उनले बताए । शनिबार एक कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले उनको नामै तोकेर ब्याजदर बढाएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा खुला मार्केटमा स्वभाविक भएको साथै निक्षेप कायम राख्न त्यसो गरिएको बताए ।

एशिया क्षेत्रका बैंकरहरु काठमाडौंमा भेला हुँदै

एशिएन बैंकर एसोशिएसनले काठमाडौंमा दुई दिने सम्मेलन गर्ने भएको छ । एशिया क्षेत्रका बैंकरहरुको उपस्थित रहने सो कार्यक्रममा बैंकको ग्लोबल मार्केट ट्रेण्ड, डिजिटल ट्रान्सफरमेसनको लगायतका विषयमा छलफल हुने भएको छ । कार्यक्रममा विभिन्न २५ देशका ७० जनाभन्दा बढी सीईओको सहभागिता अध्यक्ष केसीले जानकारी दिए । 

हिमालयन बैंकका सीईओ अशोक शमशेर राणाले नेपालमा पहिलो पटक लागेको यस कार्यक्रमबाट विश्व बजारको बैंकिङ्ग क्षेत्रका विषयमा जानकारी आदानप्रदान हुने बताए । यसबाट नेपालमा लगानीको संभावनाका सम्बन्धमा पनि विश्व बजारमा जानकारी दिन सकिने उनको भनाई छ । 

कात्तिक २३ गते बिहान साढे ८ बजेबाट शुरु हुने उक्त सम्मेलनको तयारी भइरहेको संघले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved