३ बैंकको लाभांश घोषणा हुनै बाँकी, दर्जन बैंकमा कसको लाभांश कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 11:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

कुल २० वाणिज्य बैंकमध्ये १२ वटा बैंकले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने भएका छन् । साधारणसभा बोलाएका १७ वाणिज्य बैंकमध्ये पाँच वाणिज्य बैंकले लाभांश दिन नसक्ने भएका हुन् । 

लाभांश दिन नसक्ने बैंकमा नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । तीन वाणिज्य बैंक कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

एनआईसी एशिया बैंकको उच्च लाभांश

हालसम्म लाभांश वितरणको घोषणा गरेका १२ बैंकहरूमध्ये उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिएको हो । 

त्यस्तै एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश पारित गरेको छ भने स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

यता, सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत लाभांश पारित गरेको छ । त्यस्तै नबिल बैंक लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस र ६.८ प्रतिशत नगदसहित १०.५५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण पारित गरिसकेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लााभांश वितरणको प्रस्ताव गरेको छ । सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेञ्जमा स’चीकृत नभएको एक मात्र वाणिज्य बैंक हो । 

त्यस्तै सिद्धार्थ बैंकका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद पाएका छन् ।  

लाभांश घोषणा गरेका बैंकमध्ये लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु सबैले लाभांश प्रयोजनका लागि बुकक्लोज गरिसकेका छन् । कतिपयले साधारणसभा समेत सम्पन्न गरी लाभांश पारित गरी सकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved