मोहम्मद अज्मत अलि
पुंजीबजारको बिकास तथा बिस्तारका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले चालेका कदमहरु प्रशंसनीय छन तर अझै पनि ती प्रयासहरु पर्याप्त छैनन। बिशेषगरी दोस्रो बजार अर्थात सेकेण्डरी मार्केटका लगानीकर्ताले अहिलेपनि यो या त्यो कारणले समस्या भोग्दै आईरहेका छन।
समस्याहरुको चाङ् चांगलाई न्यूनीकरण गर्न सम्बन्धित निकायले चाँसो नदिएका कारण कतिपय समस्याहरु ज्यु को त्यु रहेको छ। यसै सन्दर्भमा पछिल्लो समय सेयर धितो राखेर कर्जा लिनेहरुको थाप्लोमा अर्को दुखको भारी थपिएको छ। यती बेला सेयरधितो राखेर कर्जा लिने लगानीकर्ताहरुको डिम्याट खातामा बोनस र हकप्रद सेयर जम्मा नहुँदा उनीहरुले पाउनुसम्म दुख पाएका छन।
समस्या: एका तर्फ केहि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम प्रदान नगरेकाले लगानीकर्ताले हैरानी बेहोर्नु परेको छ। लगानीकर्ता आफैले सम्बन्धित कम्पनीले उल्लेख गरेको खातामा बोनस शेयर बापत सिर्जना भएको करको दायित्व चुक्ता तिरेपछी मात्र उनीहरुको डिम्याट खातामा बोनस सेयर आउने गरेको छ। राजधानीका लगानीकर्ताले त जेनतेन दुख झेलेर आफ्नो दायित्वको कर चुक्ता गर्लान र डिम्याट खातामा बोनस सेयर पाउलान तर राजधानी बाहिरका लगानीकर्ताको ब्यथा कसले बुझिदिने ? केहि कित्ता बोनस सेयर पाउन हजारौं रकम र अमुल्य समय खर्चेर राजधानी आउनुको दुख नियमन निकायले कहिले सम्बोधन गरिदिने ?
अहिले ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सेन्चुरी कमर्शियल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बिकास बैंक, हाम्रो विकास बैंक, देव विकास बैंक, ओम डेभलपमेन्ट बैंक, फेवा विकास बैंक, कामना बिकास बैंकको सेयर भएका सेयरधनीहरुले बोनस शेयर बापतको सिर्जना भएको करको दायित्व चुक्ता नगर्दा उनीहरुले आफ्नो डिम्याट खातामा बोनस सेयर पाउन सकेका छैनन।
समाधान: नेप्सेमा सुचिकृत कम्पनीहरुको कम्जोर व्यवस्थापनका कारण लगानीकर्ताले भोग्दै आएको दुखलाई सम्बन्धित निकायले अहिलेसम्म सम्बोधन गर्न सकेको छैन। नियमन निकायले बोनस शेयर बापत सिर्जना भएको करको दायित्व सम्बन्धित कम्पनीले नै तिर्नु पर्ने गरी कानुनको व्यवस्था गरिदिने हो भने लगानीकर्ताले बोनस सेयर पाउन यत्तिका 'शास्ती' बेहोर्नु पर्थेन।
समस्या: अर्को तर्फ सेयरधितो राखेर कर्जा लिएकै कारण लगानीकर्ताले आफ्नो डिम्याट खातामा बोनस तथा हकप्रद सेयर पाउन सकेका छैनन। सामान्यतया जुन कम्पनीको सेयर राखेर ऋण लिएको हो त्यो कम्पनीको हकप्रद या बोनस सेयर डिम्याट खातामा प्लेजमा गएर बस्ने गर्दछ या कहिलेकाहीं फ्रीमा पनि गएर बस्ने गर्छ। तर पछिल्लो पटक धितो राखेर ऋण लिनेहरुहरुको डिम्याट खातामा केही कम्पनीका थपिएको सेयर नआउने गरेकाले लगानीकर्ताले अर्को झन्झट बेहोर्नु परेको छ।
केहि कम्पनीले जारी गरेका बोनस तथा हकप्रद पाउन जुन बैंक वा वित्तीय संस्थाबाट ऋण लिएको हो त्यस संस्थाले प्रदान गर्ने 'नो अब्जेक्सन लेटर' लिएर आरटिएसकोमा पुग्नु पर्ने बाध्यता लगानीकर्तालाई आइपरेको छ। उक्त नो अब्जेक्सन लेटर लिएर आरटिएसकोमा नजादा सम्म डिम्याट खातामा थपिएको सेयर नआउँदा लगानीकर्ताले आफुसंग भएको सेयरको परिमाण कति हो भन्ने कुरा एकिन गर्न नसक्दा अनेक समस्याहरु आइपरेका छन।
जस्तो केहि लगानीकर्ताले थपिएको सेयर आफ्नो खातामा आएको अनुमान गरी सेयर बिक्रीको आदेश दिंदा क्लोज आउटमा परेका छन भने सम्बन्धित कम्पनीको हकप्रद भर्दा समेत आफ्नो हक भन्दा कम सेयर दाबी भएको छ। लगानीकर्ताहरुका अनुसार माछापुच्छ्रे बैंक, सिटिजन बैंक, डिप्रोक्स लघुवित्त, कुमारी बैंक लगायतका थपिएका बोनस सेयर डिम्याट खातामा नआउँदा लगानीकर्ताले हैरानी बेहोर्नु परेको छ।
समाधान:जुन कम्पनीको सेयर धितो राखेर कर्जा लिएको हो त्यस कम्पनीको थपिएको सेयर (प्राप्त गर्नु पर्ने बोनस सेयर या हकप्रद) कम्तिमा पनि डिम्याट खातामा प्लेजमा गएर बस्नु पर्ने हो। अधिकांश कम्पनीहरुमा यो समस्या नभएपनि केहि कम्पनीको नियतनै यस्तो देखिएको छ। तसर्थ सम्बन्धित निकायले यसमा बेलैमा ध्यान दिनु आवश्यक छ। यहाँ नियमन निकायले निर्देशन नै जारी गर्नु भन्दा पनि सम्बन्धित कम्पनीहरु लगानीकर्ता मैत्री बनिदिएर दुख दिने नियत नराख्ने मात्र हो भनेपनि यस समस्याबाट लगानीकर्ताले मुक्ति पाउने थिए।
दोस्रो बजारमा लगानीकर्ताले पाएका दुखहरु यतिमै सिमित छैनन। एका तर्फ हकप्रद भर्न पर्याप्त व्यवस्था नहुँदा लगानीकर्ताले आफ्नो हक बापतको सेयर पाउनबाट बन्चित हुनु परेको छ। अर्को भर्न पाउनेले पनि समयमै आफ्नो खातामा हकप्रद पाउन सकेका छैनन। नेपाल धितोपत्र बोर्ड यो बारे जानकार रहेपनि यस समबन्धमा मापदण्ड बनाउन लागिपरेको छौं मात्र भन्दै आएको छ। हकप्रद भरेको कतिदिन सम्म सुचिकृत भईसक्ने हो र सुचिकृत भएको कतिदिनमा डिम्याट खातामा आउनुपर्ने हो यो बारे धितोपत्र बोर्डसंग नै कुनै ठोस मापदण्ड छैन।
समाधान: आस्वा प्रणाली मार्फत हकप्रद भर्ने व्यवस्था गरिदिने हो भने अधिकांश सर्वसाधारण लगानीकर्ताले आफ्नो हक बापतको सेयर दाबी गर्न पाउने थिए। यसबाट कम्पनीहरुले लिलाम मार्फत कमाई गर्ने 'विकृति' कम हुने थियो भने हकप्रदको पहुँच दुरदराजका लगानीकर्तासम्म पुग्ने थियो।
हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्दाको बेथिति पनि उस्तै छ। बजार मूल्य भन्दा बढी मुल्य तिरेर लिलामीमा राखिएको सेयर खरिद गर्ने क्रम बढिरहेको छ। लगानीकर्ता 'अबुझ' भएर मात्र यस्तो समस्या सृजना भएको भन्ने ठाउँ छैन, कतिपय अवस्थामा दोस्रो बजारमा उक्त कम्पनीको सेयर मुल्यमा 'चलखेल' गर्न पनि यस्तो 'हत्कण्डा' अपनाइएको हुन्छ।
समाधान: त्यसैले लिलाममा राखिएको सेयर मुल्य बजार मुल्य भन्दा निश्चित प्रतिशतले तल र माथी तोकिनु पर्दछ।