तुलसी सहकारीको ६८ करोड ठगी मुद्दामा पक्राउ परेकामाथि बयान सुरु, लेखापरीक्षकलाई छुटाइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 02:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको डेढ अर्ब रकम दुरुपयोग गर्ने सञ्चलक तथा कर्मचारीविरुद्ध मङ्गलबार मोरङ जिल्ला अदालतमा दर्ता भएको ठगी मुद्दामा पक्राउ परेकाहरुमाथि बयान लिन थालिएको छ । आठ नम्बर न्यायाधीश प्रकाश कोइरालाको इजलासमा बजान जारी रहेको र बयान सकिएपछि सम्भवत: आजै पुर्पक्षको सुनुवाई गर्नै तयारी छ ।

उनीहरुविरुद्ध एक हजार ३०७ जनाले ६८ करोड हिनामिना गरेको आरोपमा जाहेरी दिएका थिए । सोही आधारमा स्थानीय प्रहरीले सिआइवीको समेत सहयोग लिएर तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले मङ्गलबार अभियोजन दर्ता गरेको हो । 

सहकारी ठगी मुद्दामा ९ जनालाई कारवाही गर्ने गरी प्रहरीले राय दिए पनि उक्त मुद्दाका आरोपी रहेका लेखा-परीक्षक भने जिल्ला सरकारी वकीलको कार्यालयमा आवश्यक पर्दा उपस्थित हुने गरी छुटेका छन् । उनीमाथि वकील कार्यालयले मुद्दा नचल्ने निर्णय गरेकाले पक्राउ परेका तीन जनासँग मात्रै बयान भइरहेको जिल्ला अदालत मोरङ्का श्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले बिजपाटीलाई बताए । 

उनका अनुसार सहकारी ठगी प्रकरणमा सञ्चालक कर्मचारीसहित ९ जना आरोपी रहेका थिए । त्यसमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी घर भएकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर घर भएकी सचिव सविना न्यौपाने, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द थिए ।

उनीहरु विरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन दिएको थियो । सरकारी वकीलले लेखा-परीक्षकको मुद्दा नचल्ने निर्णय गरेर कार्यालयबाटै फिर्ता पठाइदिएपछि तीन जनाको बयान भइरहेको हो । 

उक्त सहकारी ठगीका मुख्य अभियुक्त अध्यक्ष केदारनाथ शर्मासहितका पाँच जना भने फरार छन् । शर्मा भारतमा रहेको खुलेको छ । उनकै योजनामा यसअघि सञ्चालन भएको कोअपरेटिभका ऋणी रोशनकी श्रीमती सविनासँग मिलेर शर्माले तुलसी सहकारी स्थापना गरेका हुन् ।

  उनीहरुविरुद्ध एक हजार ३०७ जनाको जाहेरी परेको थियो । झण्डै डेढ अर्ब ठगी गरेको दावी गरिए पनि अदालतमा भने ६८ करोड विगो दावीसहितको असुलउपर गरी हदैसम्मको कारवाहीका लागि भन्दै सरकारी वकीलको कार्यालयमार्फत अभियोजन दर्ता भएको छ ।

मोरङको विराटनगर महानगरापालिका–३ शंकरपुरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका सञ्चालक कर्मचारीमाथि नागरिकको एक अर्ब ४८ करोड ५५ लाख बढी बचत हिनामिना गरेको आरोप छ ।

 सहकारी गत फागुन १ देखि नै जानकारी विना बन्द गरिएको भन्दै जाहेरी परेको थियो । मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा शाखा कार्याललय छन् । 

सञ्चालकहरुको मिलेमतोमा अवैध तरिकाले इन्टर कम्पनी नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदहस्थित तुलसी राईस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको बुझिएको छ । तर लेखापरीक्षणमा भने ४० लाख मात्रै लगानी भएको उल्लेख गरिएको छ । 

सहकारीका अध्यक्ष केदारनाथ शर्मा नै अध्यक्ष रहेको शिखर अर्गनाइजेसन छ र त्यसको ३२ कम्पनी रहेका पाइएको छ । शर्माका तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नटराज एग्रो प्रालि, गोरर्खा टी–एण्ड कफी प्रालिलगायत छ । त्यसौ सहकारीको पैसा लगाइएको छ । 

प्राप्त विवरणमा सचिव सविना न्यौपानेले भाइ सागर न्यौपानेलाई करोडौँ पैसा दिएर बिर्तामोडमा एस मार्ट खोलेको प्रहरीको दावी छ । 

सहकारी खोल्न यसरी विराटनगर पुगेका थिए शर्मा 

बाँकेको कोहलपुरबाट काठमाडौँ आएर शान्तिनगरमा किराना पसल शुरु गरेका केदारनाथ शर्मा १४ हजार बचतकर्ताको रकम परिचालन गर्ने यती ठुलो तुलसी सहकारीका अध्यक्ष बनेर डेढ अर्ब रकम हिनामिना गर्ने मुख्य अभियुक्त हुन् ।

शर्मा र सञ्चालकमाथि आफ्नै कम्पनीहरुमा लगेर सहकारीको पैसा दुरुपयोग गरेको आरोप लागेको छ । त्यसैले अहिले सहकारीका सञ्चालकलाई विदेश जान रोक लगाइएको छ भने सबै सम्पति रोक्का गरिएको छ । जमिन खरिदबिक्रीमा समेत रोक लगाइएको छ । 

शर्मा २०५० सालतिर ‘उपकार सेभिङ’ नामक सहकारीको सदस्य भए । त्यतिबेला उपकार सेभिङले साना किराना पसलहरुमा ऋण लगानी गरेर त्यस्ता किराना पसलहरुमा ‘उपकार सेभिङमार्फत सञ्चालित पसल’ भनेर बोर्ड नै राख्थ्यो । यसै क्रममा केदारनाथ शर्माले पनि सहकारीबाट ऋण लिए र ‘उपकार सेभिङमार्फत सञ्चालित पसल’ भनेर आफ्नो पसलमा बोर्ड राखे । पछि केदारनाथ शर्मा उपकारको सञ्चालक भए । 

समयक्रमसँगै प्रभाव जमाउँदै केदारनाथ शिखरदीपको अध्यक्ष भए । शर्माले पछि शिखरदीप सहकारी अर्को सहकारीमा मर्ज गराएर नाम शिवशिखर बनाए । अनि सर्बसाधारणबाट सङ्कलित निक्षेप घर–जग्गा र आफ्नै व्यवसायमा लगाउन थाले । 

बानेश्वरमा पसल चलाउँदै आएका रोशन न्यौपानेले पनि सहकारीमार्फत ऋण लिएका थिए । त्यो लगानी उठाउन अध्यक्ष शर्मा रोशनलाई खोज्दै जाँदा उनकी श्रीमती सविना न्यौपानेसँग भेट भयो । अनि उनले ऋण उठाउनुको सट्टा ‘तुलसी बहुमुखी सहकारी संस्था’ दर्ता गरेर उनै सविनालाई प्रबन्ध निर्देशक बनाए । 

त्यसपछि विस्तारै उनले सञ्ञ्चालकहरु प्रयोग गरेर रकमको दुरुपयोग गर्न थालेका थिए । आफ्ना कम्पनीमा करोडौँ रकम लगानी गरेपछि उनीसँग बचतकर्ताको रकम फिर्ता गर्ने पैसासमेत भएन । बचतकर्ता पैसा माग्न आउँदा रित्तो हात फर्किनुपरेपछि हल्ला फैलिँदैगयो र पैसा माग्न कार्यालयमा बचतकर्ताको भिड नै हुन थाल्यो । त्यसपछि सहकारी बन्द गरेर सञ्चालन फरार भए भने यता प्रहरीमा उजुरी पर्यो र तीन जना समातिए ।

यस अघि : ऋणीको श्रीमतीसँग मिलेर अर्को सहकारी, डेढ अर्ब डुबाउन काठमाडौँबाट विराटनगर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved