सहकारीको अनुगमन गर्न राष्ट्र बैंकले मानेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 05:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको लेखा जाँच र अनुगमन गर्न अस्वीकार गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ वटा ठूला सहकारी, एउटा सहकारी बैंक र २ वटा वित्तीय कारोबार गर्ने सहकारीका संघहरुको अनुगमन, निरीक्षण र लेखा जाँच गर्न अनुरोध गरेकोमा राष्ट्र बैंकले अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले लेखा जाँच गर्न नसकिने तर, आवश्यक परेको अवस्थामा सहकारी विभागलाई विज्ञ जनशक्ति उपलब्ध गराउने सकिने व्यहारो सहितको जवाफ पठाएको सहकारी मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्र बैंकले विभागमा लेखा जाँच समिति बनाउन सुझाव दिएको छ । त्यो समितिलाई आवश्यक परेको अवस्थामा राष्ट्र बैंकले विज्ञ जनशक्ति उपलब्ध गराएर सहयोग गर्ने पत्रमा उल्लेख छ ।

‘उहाँहरुले सहकारी नीति राष्ट्र बैंकले बनाएको होइन, अर्को निकायले बनाएको नीतिमा चलेका संस्थाको लेखा जाँच र अनुगमन निरीक्षण गर्न प्रिन्सीपल्ली मिल्दैन भन्नुभयो’ सहकारी मन्त्रालय स्रोतले भन्यो, ‘तर, छुट्टै टिम बनाएर त्यसमा विज्ञ जनशक्ति उपलब्ध गराएर सहयोग गर्छौँ भन्नुभएको छ ।’

सहकारी मन्त्रालयको प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा अन्तर्गतको सहकारी व्यवसाय प्रवद्र्धन तथा संघ संस्था समन्वय शाखा स्रोतले सहकारी ऐन २०७४ को दफा ९५ अनुसार ठूला सहकारी संस्थाहरुको अनुगमन निरीक्षण राष्ट्र बैंकले गर्ने व्यवस्था रहेकाले सोही अनुसार राष्ट्र बैंकलाई अनुरोध गर्दा पनि राष्ट्र बैंकले अस्वीकार गरेको बताएको छ ।

‘खासमा अनुरोध नगरी पनि राष्ट्र बैंकले नै हेर्नुपर्ने हो, तर अनुरोध गर्दा पनि राष्ट्र बैंकले आफ्नो नीति अनुसार स्थापना नभएका वित्तीय संस्थाको अनुगमन निरीक्षण गर्न नमिल्ने जवाफ आएको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘विभागमै अनुगमन टिम बनाए त्यसमा प्राविधिक र विज्ञ जनशक्ति उपलब्ध गराएर सहयोग गर्छौँ भन्ने उहाँहरुको कुरा छ । यो सुझाव पनि राम्रै हो, अब मन्त्रालयले आवश्यक छलफल गर्नेछ ।’

सहकारी मन्त्रालयले राष्ट्र बैंकसँग बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून), नेपाल बहुउदेश्यीय सहकारी केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैंकको अनुगमन निरीक्षणमा सहयोग मागेको थियो । यस्तै, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन निरीक्षण र लेखा जाँच गरिदिन मन्त्रालयले राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

यस अघि : ठूला सहकारीको लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved