राइड हेलिङ प्लाटफर्म इन्ड्राइभ नेपालमा आधिकारिक रुपमा दर्ता भएर औपचारिक रूपमा सञ्चालनमा आएको छ । राजधानी काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा कम्पनीले नेपालमा कानून अनुसार दर्ता गराए्र सेवा सुचारु गरेको जानकारी दिएको छ । कम्पनीले चालकबाट १० प्रतिशत कमिसन लिने बताएको छ ।
उक्त शुल्क करसहित भएको र राइडरबाट १० प्रतिशत बाहेक थप रकम नलिने पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीले सुरक्षित भुक्तानीको लागि पेमेन्ट पार्टनरको रुपमा आईएमईसँग साझेदारी गरेको पनि जनाएको छ ।
कम्पनीको नेपाल निर्देशक रहेकी रिता पोखरेलले नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले राइड हेलिङ उद्योगमा नयाँ अध्यायको सुरुवात भएको बताइन् । इन्ड्राइभले ग्राहक एवं प्रयोगकर्ताका समस्या र गुनासोहरू तत्काल सम्बोधन गरिरहेको पनि उनले दाबी गरिन् । उनका अनुसार इन्ड्राइभमा एप भित्र नै यात्रु र राइडरले मूल्यमा बार्गेन गरेर एक आपसमा मूल्य तय गर्न सक्ने विशेषता छ ।
इन्ड्राइभले राइड सेयरिङबाहेक कुरियर, कार्गाेलगायत अन्य सेवा पनि नेपालमा विस्तार गरिरहेको छ । ट्याक्सी, मोटरसाइकल, डेलिभरी तथा अन्तर शहर यात्रा (सिटी टू सिटी) लगायतका सेवा पनि इन्ड्राइभले प्रदान गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।
काठमाडौंको हात्तिसारमा रहेको उक्त कम्पनीले अब उपत्यका बाहिरका सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको बताएको छ । सन् २०२२देखि नेपालमा सेवा दिन थालेको इनड्राइभ हालै मात्र राइड शेयरिङ उद्योगका रूपमा उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो ।