कसरी भइरहेको छ राष्ट्र बैंकका प्रतिनिधि समेत राखेर सहकारीको अनुगमन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 05:25:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारबाट राष्ट्र बैंकका प्रतिनिधि सहितको टोलीले सहकारी संस्थाहरुको अनुगमन सुरु गरेको छ । राष्ट्र बैंकका उपनिर्देशकसमेत सम्मिलित सहकारी विभागले बनाएको समितिले अहिले धमाधम ठूला सहकारी संस्थाहरुको अनुगमन गरिरहेको छ । यसका लागि अहिले राष्ट्र बैंकले ३ जना उपनिर्देशकलाई नै खटाएको छ ।

सहकारी विभागका उप–रजिष्ट्रारसमेत रहेका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार यो अनुगमन नियमित रुपमा हुने अनुगमन हो । सहकारी संस्थाहरुको अहिलेको अवस्था, वित्तीय पाटो के कस्तो छ भन्ने विषय राष्ट्र बैंकबाट खटिएका  निर्देशकहरुले हेर्ने र सुशासन तथा सहकारी ऐन परिपालनाको विषय भने विभागबाट खटिएका अधिकारीहरुले हेर्ने उपाध्यायले जानकारी दिए ।

उनका अनुसार ठूलो आकारमा कारोबार गर्ने र पूँजी पनि ठूला भएका सहकारी संस्थाहरुको अनुगमन भएकाले एकै दिन एउटा सहकारीको अनुगमन नसकिने भएकाले निर्देशिका नै बनाएर ७ दिनसम्म लगाएर एउटा सहकारीको अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ । यसरी अनुगमनबाट आएको निष्कर्षलाई विभागका रजिष्ट्रार समक्ष पेश गरिनेछ ।

‘अनुगमनबाट प्राप्त स्टाटस अनुसार समस्या देखिए सुधार कसरी गर्ने र कारबाही नै गर्नुपर्ने तहको खराबी देखिए के कस्तो कारबाही गर्ने भनेर पनि हामीले रजिष्ट्रार समक्ष पेश गर्नेछौँ’ सूचना अधिकारी उपाध्यायले भने, ‘यसपछि कारबाही गर्ने वा निर्देशन दिने भन्ने कुरा आउँछ ।’

उनका अनुसार ३ वटा समूहमार्फत अहिले अनुगमन टोली परिचालन गरिएको छ । 

‘३ वटा समूह परिचालन गरिएको छ, एउटा समूहले ३ वटा सहकारीको अनुगमन गर्ने गरि असाइन गरिएको छ’ उनले थपे, ‘यसो हुँदा ९ वटा संस्थाको रिपोर्ट आउँछ ।’

५० करोडमाथि शेयरपूँजी भएका सहकारीको अनुगमन गर्ने गरि टोली परिचालन भएको भए पनि विभागका सूचना अधिकारी उपाध्यायले अहिले नै यो यो संस्थामा टोली गएको छ भनेर भन्न नमिल्ने बताएका छन् । 

‘अहिले ३ वटा टोलीले काम सुरु गरिसकेको छ, यी समूहले ९ वटै संस्थाको जानकारी लिन्छन् र रिपोर्ट तयार पार्छन्, रिपोर्टका आधारमा संस्थालाई निर्देशन दिने या कारबाही गर्ने सिफारिस गर्छन्, यसपछि रजिष्ट्रारले आफ्नो अधिकार प्रयोग गरेर निर्देशन दिने या कारबाही गर्ने भन्ने पाटो अगाडी बढ्ने हो’ उनले भने ।

राष्ट्र बैंक झण्डै डेढ दशक पछि सहकारीमा प्रवेश गरेको हो । सहकारी विभागले छानेका श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन यो टोलीबाट हुनेछ ।

‘अब नियमित अनुगमन हुन्छ, यसपछि अरु सहकारीहरुको पनि क्रमशः अनुगमन गर्दै जान्छौँ’ उपाध्यायले भने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved