६ ठूला सहकारीको अनुगमन सकियो, वित्तीय अवस्था देखेर राष्ट्र बैंकका अधिकारी छक्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 11:27:56 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकको सहभागीतामा ६ वटा ठूला सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न भएको छ । सहकारी विभागका अनुसार राष्ट्र बैंकका उप कार्यकारी निर्देशकसमेत सहभागी रहेको अनुगमन टोलीले हालसम्म ६ वटा ठूला सहकारी संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण सम्पन्न गरेको हो ।

सहकारी विभागका उप–रजिष्ट्रारसमेत रहेका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार अनुगमन निरीक्षण गरिने ९ वटा ठूला सहकारीमध्ये ६ वटाको स्थलगत अबुगमन सकिएको छ । अनुगमन सकिएका सहकारीको नाम भने अहिले सार्वजनिक नगरिने उपाध्यायले जनाए ।

‘६ वटा ठूला सहकारीको स्थलगत अनुगमनको काम सकिएको छ, राष्ट्र बैंकबाट आउनु भएका साथीहरुले अहिलेको फाइनान्सियल स्टाटस र समग्र वित्तीय पाटो हेर्नु भएको छ, सहकारी विभागले सुशासन र ऐन पालनाका विषयहरु नोटिस गरेको छ’ उनले भने, ‘अहिले अनुगमन सकिएका ६ वटाको अवस्था हेर्दा खासै राम्रो अवस्था पाइएको छैन ।’

अनुगमनमा सहभागी अधिकारीहरुका अनुसार अनुगमन सकिएका सहकारी संस्थाहरुको वित्तीय अवस्था र कारोबार पद्धति देखेर राष्ट्र बैंकका उपकार्यकारी निर्देशकहरु छक्क परेका छन् । राष्ट्र बैंकबाट सहकारी अनुगमनका लागि डा. रमेश चौलागाईं, रामकृष्ण राई र रमेश पौडेल खटिएका छन् ।

अहिले ३ वटा समूहमार्फत सहकारी संस्थाहरुको अनुगमन भइरहेको छ । एउटा समूहले ३ वटा सहकारीको अनुगमन गर्नेछ । सबै ९ वटै सहकारी संस्थाहरुको अनुगमन सकेर रपोर्ट तयार गरिने उपाध्यायले जानकारी दिएका छन् ।

अहिले ५० करोडमाथि शेयरपूँजी भएका सहकारीको अनुगमन भइरहेको छ । सहकारी विभागले छानेका श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन यो टोलीबाट हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved