नेपालको खराब कर्जाबारे एसियन बैंकर्स संघका अध्यक्षको फरक धारणा, राष्ट्र बैंकको नीतिमै प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 06:08:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको खराब कर्जाको अवस्थाबारे एशियन बैंकर एसोसिएसनका अध्यक्ष इयुजेन आसेभेडोले नौलो जवाफ दिएका छन्। आजदेखि नेपालमा सुरु भएको दुईदिने '३९औं एबिए सम्मेलन' को पहिलो सत्र पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा आसेभेडोलेले नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा डराउनु पर्ने अवस्थामा नरहेको बताएका हुन्। 

नेपालको बैंकिङ क्षेत्रको कुल खराब कर्जा ३.५ प्रतिशत हाराहारी रहेको र यो दर बढ्दै गएकाले यसले नेपालका नियामक तथा अन्य सरोकारवालालाई चिन्तित बनाएकोबारे राखिएको जिज्ञासामा अध्यक्ष आसेभेडोले यसमा चिन्ता लिनुपर्ने अवस्था नै नरहेको बताएका हुन्। 

आफ्नो देश फिलिपिन्स मात्र नभई अन्य देशसँगको तुलना गर्दा पनि नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा अत्यन्त कम भएकाले डराउनु पर्ने अवस्था नरहेको उनले बताए। "नेपालको बैंकिङ क्षेत्रको कुल खराब कर्जा ३.५ प्रतिशत हाराहारी भनेको धेरै होइन,' आसेभेडोले भने, 'हाम्रै मुलुकमा बैंकहरूको खराब कर्जा झन्डै यसको दोब्बर छ।'

छिमेकी देश भारत लगायत अधिकांश देशको बैंकिङ क्षेत्रको खराब कर्जा नेपालको भन्दा धेरै रहेको बताउदै उनले खराब कर्जालाई नै आधार मानेर बैकिङ्ग क्षेत्रको अवस्थाबारे विश्लेषण गर्न नहुने समेत बताए।

जिन्दगिको ६०औं वर्षमा लाग्दै गर्दा आफुलाई अहिले खराब कर्जा (एनपीएल) एउटा बिशेष शब्द र अवस्था भएको महसुस हुने बताउदै उनले भने , " खराब कर्जाको दरले हामी (नियामक, बैंक, ऋणी र सरोकारवाला) लाई आवश्यक भन्दा बढी पैसा कर्जा लिनु हुँदैन भन्ने सिकाउँछ, तर कोभिड पश्चात कर्जा लिने ऋणी तथा व्यवसायीको अवस्थामा उनीहरुको गल्ति छैन।"

उनले अगाडी भने, "ऋण लिएर उद्योग व्यवसाय गर्दा कोभिड जस्तो कुनै विपत्ति वा अन्य कुनै अप्ठ्यारो अवस्था आउँछ भने ऋणी अभागी रहेछ भन्ने मात्र हो, यो सन्दर्भमा अभागीको दर नेपालमा धेरै कम हुनु राम्रो देखियो। सुन्दा हाँसो लाग्छ तर जुन देश फिलिपिन्सबाट म प्रतिनिधित्व गर्छु, त्यो देशको औषत खराब कर्जा नै नेपालको भन्दा झन्डै दोब्बर छ।"

समय परिस्तिथि मानिसहरुको नियन्त्रणमा नरहने भएकाले परिस्थितिका कारण कसैले कर्जा तिर्न नसक्नु ऋणी बिग्रिनु नभएको उनले बताए। एउटा बिशेष परिस्थितिका कारण ऋणीले कर्जा तिर्न नसक्ने अवस्था आउंदैमा ऋणी नै खराब भयो भनेर बिग्रिएको जस्तो व्यवहार गर्न नहुने उनको आशय थियो। खराब कर्जालाई आधार मानेर लिइने निर्णयको असर अन्तत ऋणीमाथि नै पर्ने उनको आशय थियो। 

नेपाल राष्ट्र बैंकले खराब कर्जालाई आधार मानेर लिएको नीतिगत व्यवस्थाले उद्योग व्यवसाय गर्न तथा दैनिकी गुजारो टार्न कर्जा लिने नेपालीहरु प्रभावित भएका छन्। ५ प्रतिशतभन्दा बढी खराब कर्जा भए उक्त सँस्था समस्याग्रस्त घोषणा गर्नुपर्ने राष्ट्र बैंकले बनाएको कानुनी व्यवस्थाका कारण बैंक वित्तीय संस्थाले ऋणीलाई सहजीकरण गर्नुको साट्टो लिलाम वा कालोसूचीको डर देखाएर मिटरब्याजबाट भएपनि कर्जा तिर्न बाध्य बनाउने गरेका छन्। 

तर एशियन बैंकर एसोसिएसनका अध्यक्ष इयुजेन आसेभेडोले भने उद्योग व्यवसाय गर्न तथा अन्य आवश्यकताले कर्जा लिएका ऋणीलाई बैंकहरुले साथ सहयोग गर्नुपर्ने र त्यसको लागि नियामकले उचित कानुनी व्यवस्था गरिदिनु पर्ने बताए।  

एशियन बैंकर एसोसिएसनका अध्यक्ष इयुजेन आसेभेडोले उक्त भनाईले खराब कर्जाबारे नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थामाथि नै प्रश्न उठाएको सम्मेलनमा सहभागी अन्य बैंकरहरुले समेत टिप्पणी गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved