भिपिएनको प्रयोगले नेपालका बैंकमा पनि जोखिम बढ्यो, 'ग्राहकको खाता होइन, बैंक नै रित्तिन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 10:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमा टिकटक बन्द गरेसँगै भिपिएन प्रयोग गरेर टिकटक चलाउन सकिने चर्चा सुरु भईसकेको छ। नेपालका इन्टरनेटबाट टिकटक बन्द भएपनि भिपिएनको मद्दतले टिकटक चलाउन सकिनेबारेको चर्चा ब्यापक बनेको हो। 

टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध गर्दै कतिपयले भिपिएनको प्रयोग मार्फत टिकटक चलाएर सरकारलाई चुनौती नै दिएका छन्। नेपालका सबै इन्टरनेट कम्पनीलाई टिकटक बन्द गर्न निर्देशन दिए पश्चात पनि नेपालमै रहेका टिकटक प्रयोगकर्ताहरुले अझैं टिकटक चलाउनुले भिपिएनको प्रयोग बढिरहेको पुष्टि गरेको छ। 

कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्। केहि टिकटक प्रयोगकर्ताले भिपिएनको प्रयोग मार्फत कसरी टिकटक चलाउन सकिन्छ भनेर सार्वजनिक रुपमा नै जानकारी सहितको भिडियो समेत सार्वजनिक गरिरहेका छन्। 

तर भिपिएनको प्रयोग मार्फत नेपाल सरकारले बन्द गरेको टिकटक चलाउन सकिएपनि सित्तैमा प्राप्त भिपिएन सुरक्षित नहुने कम्प्युटर असोसिएशन अफ नेपाल 'क्यान फेडेरेसन'का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले बताए। 

उनकाअनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू केहि बढी सुरक्षित हुन्छन्। तर टिकटक चलाउने नेपालको ठुलो जमात भिपिएनसँग अब्यस्त नभएकाले यसको प्रयोग असुरक्षित मात्रै नभई आर्थिक रुपमा नोक्सानदेह पनि हुन सक्छ। 

"सबै भिपिएन सुरक्षित हुँदैनन्। केहि भिपिएनहरुले डाटा लिएर त्यसलाई बिक्रीमा राख्ने गर्दछन्। जसले गर्दा यस्ता भिपिएनले प्रयोगकर्ताको डिभाइसबाट 'डाटा' लिने काम हुन्छ। यस्ता भिपिएनका कोडहरु प्रयोगकर्ताको डिभाइसमा प्रवेश भई उक्त डिभाइससँग जोडिएका अन्य जानकारी पनि बाहिरिन सक्छन्" अधिकारीले भने। 

यस्तो भिपिएन प्रयोग भएको डिभाइस घर र अफिसमा पनि प्रयोग भएको अवस्थामा अफिसका जानकारी पनि सहजै बाहिरिन सक्ने जोखिम बढी हुने अधिकारीले बताए। उनकाअनुसार बैंक वित्तीय सँस्थाका कर्मचारीले घर र अफिसमा प्रयोग गर्ने मोबाइल र ल्यापटप जस्ता डिभाइस एकै भएको अवस्थामा बैंक नै जोखिममा पर्न सक्छ। 

"केहि अपवाद बाहेक घर र कार्यलयमा प्रयोग गर्ने मोबाइल र ल्यापटप उही नै हुने नेपालको अवस्था छ। यसले बैंक तथा सरकारी कर्मचारीको डिभाइसबाट सूचना बाहिरिदा आर्थिक जोखिम पनि बढाएको छ" उनले भने, "सुरक्षा अपनाउन नसके स्विट प्रणाली नै ह्याक हुने देशमा ग्राहकको खाताको पैसा नै गायब नहोला भन्न सकिन्न।"

ओटिपि प्ल्याटफर्म तथा अनलाइन बैंकिंङको दुरुपयोग गरेर करोडौं रुपैयाँ खाताबाट चोरी भईरहेको अवस्थामा टिकटक चलाउनलाई भिपिएन प्रयोग गर्दा खाताबाट पैसा चोरी हुने मात्रै नभई बैंकनै जोखिममा पर्न सक्ने चुनौती बढेको उनको भनाई छ। 

अधिकारीकाअनुसार अधिकांश नेपालीले सित्तैमा पाइन्छ भन्ने सोचले भिपिएन किनेर (subscribtion) चलाउदैनन। फ्री वालाले ई-बैंकिंग, मोबाईल बैंकिंग, कनेक्ट आईपियसबाट कसरी पैसा उडाउँछन् भन्ने उदाहरण हेर्न अब धेरै दिन कुर्नु पर्दैन मिडियामा आईहाल्छ। 

उनले भने, "अब तपाईँ लाग्ला ओटिपि त एसएमएस मा आउँछ नी कसरी पैसा चोर्छ र ? ओटिपि ईमेलमा पनि जान्छ भन्ने कुरा चाहिँ भुल्नु भएन। ह्याकरले ई बैंकिंगको लगईन मात्र होइन ईमेल पनि कब्जा गरिसक्या हुन्छ। अनि यता टिकटकमा तरुनी मुसुक्क उता पैसा भुसुक्क भन्ने न्युजमा हेडलाईन हेर्न पाउनु हुनेछ।"

उनले भिपिएन प्रयोग गर्नुपरे सतर्क रहेर मात्र प्रयोग गर्नलाई समेत अधिकारी सुझाव दिन्छन्। फ्रीको भिपिएन प्रयोग गर्नु परे बैंकिंङ कारोबार तथा कार्यलयमा प्रयोग नहुने   छुट्टै डिभाइसमा प्रयोग गर्नलाई उनको सुझाव छ। 

भीपीएन प्रयोग गर्दा कस्तो जोखिम

जानकारहरूका अनुसार कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिन सक्छन्। त्यसो हुँदा हाम्रो उपकरणमा भएका अन्य विवरण जोखिममा पर्न सक्छन्।

विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुने जानकारहरू बताउँछन्। 

“हाम्रोमा टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूलाई भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो," अधिकारी भन्छन्, "अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुन्छ, यस्तो चोरी हुने सूचना प्रयोगकर्ताको मात्रै नभई बैंक वित्तीय संस्थाको पनि हुन सक्छ”

“कतिपय कुरामा 'प्यासिभ अट्याक' हुन्छ। त्यो भनेको सूचनाहरू चोरी भइरहन्छ र पछि एकैचोटि आक्रमण हुन्छ। कतिपय चाहिँ 'एक्टिभ अट्याक' हुन्छ। त्यो भनेको टिकटक चलाइरहेको समयमा कम्युनिटी गाइडलाइन्स भएन भन्ने खालका सन्देश पठाएर फेरि भेरिफिकेशन गर्न भनेर आउँछ र त्यसले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ।”

कसैले फेसबुकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै आफैँसँग यसबारे राम्रो ज्ञान नभई प्रयोग गर्नु थप जोखिमपूर्ण हुने जानकारहरू बताउँछन्।

“भाइरसहरू र मलिशस कोडहरू त एकदमै फैलिन्छन्। तपाईँले क्लिक गर्नुभयो भने तपाईँका साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ,” अधिकारी भन्छन्।

भीपीएनका के हुन् अरू विशेषता ?

विज्ञहरूका अनुसार सुरक्षित भीपीएनहरू पनि उपलब्ध छन्। तर अधिकांश सुरक्षित भीपीएन किन्नुपर्छ। “कतिपय व्यावसायिक संस्थाहरूले यस्तो भीपीएन चलाउँछन्। व्यक्तिगत रूपमा चलाउन अलि महँगो हुन्छ,” अधिकारीले भने।

उनका अनुसार व्यावसायिक संस्थाहरूले चलाउने भीपीएन विशेष गरी डेटा सुरक्षाका लागि प्रयोग हुन्छन् र त्यसमा प्राविधिकहरूले म्याक र आईपी अड्रेस परिभाषित गरेर प्रयोग गर्छन्। सरकारले बन्द गरेको एप वा वेबसाइट चलाउन भीपीएन प्रयोग गरेर सम्भव हुने भए पनि धेरै सुरक्षित चाहिँ नहुने अधिकारीको भनाइ छ।

भीपीएन के हो ?

भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो।  साधरणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौँ।

भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ। त्यसो गर्दा हाम्रो परिचय गोप्य रहन्छ। धेरैजसो भीपीएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेशन हुन्। ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन्।

तर केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरशिप वा प्रतिबन्ध छल्नका लागि पनि भीपीएन प्रयोग गर्छन्। सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन्।

विशेष गरी अनलाइनमा चलचित्र हेर्न तथा विभिन्न एप प्रयोग गर्न धेरैले भीपीएन प्रयोग गर्ने गरेको बताइन्छ। चीनमा पनि भीपीएनको प्रयोग भएको पाइन्छ। भीपीएनका पनि फरकफरक प्रकृति हुन्छन्। कुनैले डीएनएस (डोमेन नेम सिस्टम) परिवर्तन गरिदिन्छन् भने कुनै भीपीएनले प्रोक्सी सर्भर प्रयोग गर्छन्।

टिकटक बन्द गर्ने सरकारको निर्णय कति ठिक ?

नेपाल सरकारले अन्तराष्ट्रिय अभ्यास हेरेर मात्रै नेपालमा टिकटक बन्द गर्ने निर्णय लिएको सरकारको गतिविधिले देखाएको अधिकारी बताउँछन्। टिकटक बन्द गर्नु अगाडी सरोकारवाला तथा जानकारहरुसँग सल्लाह सुझाव लिएकोबारे आफुलाई थाहा नभएकाले सरकारले अन्तराष्ट्रिय अभ्यास हेरेर मात्रै बन्द को निर्णय लिएको उनको दाबि छ। 

तर नेपाल जस्तो देशमा टिकटक जस्तो महत्त्वपूर्ण प्ल्याटफर्म बन्द गर्न नहुने अधिकारी बताउँछन्। उनि भन्छन्, "टिकटकको प्ल्याटफर्म बन्द गर्नु अस्वाभाविक हो। कन्टेन्ट बन्द गर्नु र प्ल्याटफर्म नै बन्द गर्नु अलग कुरा हो।"

टिकटक बन्द गर्ने निर्णयले कोरोनाले ध्वस्त बनाएका नेपालका साना तथा मझौला व्यवसाय र नयाँ प्रयोगका उत्पादन तथा सेवा मुलक कम्पनीहरु बढी मारमा परेको अधिकारि बताउँछन्। 

"सरकारको टिकटक बन्द गर्ने निर्णयले नेपालको डिजिटल अर्थतन्त्रको बाटो मात्र रोकेको छैन, यो निर्णयले डिजिटल अर्थतन्त्रबाट नेपालले प्राप्त गर्दै गरेको आम्दानीको हिस्सा पनि नेपालले गुमाएको छ" उनले भने, "टिकटकको प्ल्याटफर्म प्रयोग गरेर धेरै साना तथा मझौला प्रकारका व्यवसायले अन्तराष्ट्रिय बजारमा मात्रै नभई स्वदेशी बजारमा पनि आफ्ना उत्पादनको प्रचार प्रसार गरिरहेका थिए, अब त्यो बाटो बन्द भएको छ, यसले नेपाललाई ठुलो नोक्सानी पुर्याउछ।" 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved