'बैंकले जति नै बोलाएपनि उद्योगी व्यवसायी ऋण लिन जाने अवस्था छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 01:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कर सप्ताह समापन कार्यक्रममा उद्योगी व्यवसायीका छाता संगठनका अध्यक्षहरुले अहिलेको कर नीति अस्थिर भएको र उद्योगी व्यवसायीले लगानीको अनुकुल वातावरण नपाएको बताए । अर्थतन्त्र असजिलो अवस्थामा रहेकाले सरकार र राष्ट्र बैंकले लगानीका लागि उद्योगी व्यवसायीको मनोबल बढाउने गरी नीतिगत सुधार नै गर्नुपर्ने उनीहरुको भनाई छ ।

अहिले सरकारले बजेटमार्फत भन्सारका दरहरु बढाउँदा पनि राजस्व बढ्न नसकेकाले दर बढाउँदैमा राजस्व बढी संकलन हुन्छ भन्ने पुरातनवादी सोचले अब काम नगर्ने उद्योगी व्यवसायीहरुको दाबी छ । राजस्वमा ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रको मनोबल नबढेसम्म बैंकहरुले ऋण लिन आउनु भनेर बोलाएपनि उद्योगी व्यवसायीहरु ऋण लिन जान सक्ने अवस्थामा नरहेको भनाइमा उद्योगी व्यवसायीहरु एकमत छन् ।

राजेश अग्रवाल, अध्यक्ष (सीएनआई)

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिले अर्थतन्त्र सजिलो अवस्थामा नरहेको बताएका छन् । सरकार, सरकारका मन्त्री, सचिव र राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको तथ्यांकलाई देखाएकै भरमा अर्थतन्त्र ठिक अवस्थामा छ भनेर भन्न नमिल्ने उनको भनाई छ । उनले अर्थतन्त्रलाई थप असजिलो अवस्थामा जान नदिन सरकारले नै पहल गर्नुपर्ने बताए । प्रधानमन्त्री र अर्थमन्त्रीको पहलमा सर्वदलीय सर्वपक्षीय छलफलको प्रारम्भ भएकाले अब अर्थतन्त्रमा सकारात्मक सन्देशको सञ्चार हुने अपेक्षा गर्न सकिने बताए । 

उनले राजस्व बढाउन करका दर बढाउने काम मात्रै हुने गरेको प्रति असन्तुष्टि जनाए । कर सम्बन्धि नीति अस्थिर हुँदा स्वदेशी र विदेशी लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था नरहेको भन्दै उनले स्थिर कर नीतिका लागि माग समेत गरे ।

‘राजस्व बढाउन करका दर मात्रै बढाउने होइन, दायरा बढाउने हो’ अध्यक्ष अग्रवालले भने, ‘कर सम्बन्धि नीतिमा पनि स्थिरता चाहिन्छ । स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीका लागि कर नीतिको स्थिरता हेर्छन् ।’

राजेन्द्र मल्ल, अध्यक्ष (चेम्बर अफ कमर्स)

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खाली पेटले कर तिर्न नसक्ने बताएका छन् । दोकान र होटल तथा पसलहरु बन्द गरेर युवाहरु पलायन हुने क्रम बढिरहेको भन्दै उनले करदातालाई सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए ।

‘करदातालाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने कार्यक्रम आवश्यक छ, संसारभरी यो व्यवस्था छ, हाम्रो देशमा छैन’ उनले भने, ‘खाली पेटले कर तिर्न सक्दैन ।’

अध्यक्ष मल्लले आन्तरिक राजस्वले नै चालु खर्च धान्न सक्ने स्थिति हुँदा पनि करको दर बढी भएको र कर नीति पनि स्थिर नहुँदा भन्सारमा निर्भर हुनु परिरहेको बताए । ३ महिना ६ महिनामा निदेशिका ल्याएर कर नीति चलाउने काम ठिक नभएको बताए । 

‘भन्सार बढाउँदा पनि राजस्व बढेन, किनभने बिना भन्सार, बिना कर आयात भइरहेको छ, दिउँसो पोका पोका साइकलमा हालेर ल्याउने र रातभरी ट्रकबाट वितरण हुने गरेको सुनिएको छ, यसलाई निस्तेज पार्नुपर्छ’ उनले भने, ‘करको दर भन्दा पनि दायरा बढाउँदै लैजानुपर्छ । अहिलेको अवस्थामा स्थिर नीतिकै कारण उद्योगी व्यवसायीहरु थप लगानी गर्ने मनस्थितिमा छैनन् ।’

चन्द्र ढकाल, अध्यक्ष (एफएनसीसीआई)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले आफूले उद्योगी व्यवसायीलाई तिर्नुपर्ने दायित्वको भूक्तानी गरेर अब अर्थतन्त्र सुधार हुँदैछ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायीले भूक्तानी नपाएको तर्फ संकेत गर्दै अध्यक्ष ढकालले सरकारले तिर्नुपर्ने जति सबै दायित्व तिरेर र भ्याट फिर्ता सुरु गरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

उनले साना व्यवसायीबाट सुरु भएको समस्या मझौला हुँदै ठूला उद्योग व्यवसायमा आइपुगेको बताए । 

‘साना व्यवसायीबाट देखिएको समस्या अहिले ठूला व्यवसायी र बैंकसम्म आइपुगेको छ, बैंकको रिपोर्ट हेर्नुभयो भने त्यहाँ आम्दानी घटेको देख्नुहुन्छ’ अध्यक्ष ढकालले भने, ‘आम्दानी घटेको कारण बैंकिङ क्षेत्रबाट आउने कर घट्ने चिन्ता छ ।’

उनले विदेशी मुद्राको सञ्चिति, पर्यटन आगमनमा बढोत्तरी र रेमिट्यान्स आप्रवाहमा समेत वृद्धि भइरहे पनि उद्योगी व्यवसायी र आम नागरिकमा विश्वास नबढेकाले सरकारले विश्वासको वातारवण बनाउन नसक्दा उद्योगी व्यवसायीहरु थप लगानीका लागि तयार नभएको बताए ।

‘बैंकले जति नै कर गरेर बोलाएर ऋण लैजानुस् भनेपनि उद्योगी व्यवसायी ऋण लिन तयार छैनन्’ अध्यक्ष ढकालले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved