
आर्थिक वर्ष २०७९/०८० मा १ लाख १२ हजार ९६८ जना विद्यार्थी विदेश पढ्न गए। राष्ट्र बैंकको तथ्यांक अनुसार उच्च शिक्षाका नाममा उनीहरु विदेशिँदा युवासँगै १ खर्ब ४२ करोड नेपाली रुपैयाँ पनि बाहिरियो ।
कक्षा १२ सकेपछि युवाहरु सामान्यतया कमाउन थाल्छन् । तर, नेपालको अवस्था भने दयानीय बन्दै गएको छ । सवा २ लाख विद्यार्थी कक्षा १२ उत्तीर्ण हुँदा आधा भन्दा बढी विदेशिने दुःखदायी अवस्थाको असर बजारमा देखिन थालेको छ ।
अघिल्लो आर्थिक वर्षबाट दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको बजार अस्वभाविक रुपमा खस्कियो । बजारमा वार्षिक करिब २० हजार युनिट कार खपत हुँदै आएकोमा अहिले १० हजार हाराहारीमा झरेको व्यवसायीको अनुमान छ ।
त्यस्तै, दुइ पाङ्ग्रे सवारीको बजार माग सामान्य अवस्थामा करिब ३ लाख युनिट जति हुन्छ । तर अहिले १ लाख पनि छै्रन । कमाउने र खर्च गर्ने उमेर समूहका युवाहरुको विदेश पलायनकै कारण बजार क्रमशः ओरालो लागिरहेको व्यवसायीहरु बताउँछन् ।
नाडा अटोमोबाइल्स एसोसियसनको ‘टू ह्वीलर्स कमिटी’का सभापति अभिक ज्योतिका अनुसार अहिले मोटरसाइकलको बिक्रि दर १० वर्ष पहिलाको जस्तो छ । बजारमा मन्दी सुरु आउनुभन्दा अगाडीको वर्षमा ३ लाख २० हजार युनिटसम्म आयात भएको देखिएपनि अहिले वार्षिक १ लाख पनि नपुग्ने जस्तो देखिएको ज्योति बताउँछन् ।
‘डाउन हुनु अगाडी ३ लाख २० हजारसम्म आयात भएको थियो, सामान्य अवस्थामा पनि २ लाख ५० हजार युनिट आयात हुन्थ्यो’ उनले भने, ‘तर गत वर्ष १ लाख ५० हजार पनि पुगेन, यसपाली पनि त्यस्तै नै होला जस्तो देखिन्छ । तर, इभीको मुभमेन्ट राम्रै देखिएको छ ।’
उनले स्कुटरको बिक्रि पनि ७ वर्ष पहिलाको जस्तो रहेको बताए ।
‘इन्कम जेनेरेट गर्ने युथहरु नहुँदा पनि असर पर्यो नै, सँगै आम्दानीका क्षेत्रहरुमा आएको प्रवलमले इन्कम नै हुन सकेन’ ज्योतिले भने, ‘मान्छे भएर पनि पैसा नभएपछि माग हुने कुरा भएन, त्यो आयातको आँकडाले पनि देखाउँछ ।’
मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता ग्याजेट्सको पनि खपतको अवस्था यस्तै छ । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चोल्याडोका अनुसार अहिले मोबाइल फोनको बजार माग पनि केही घटेको छ ।
‘सबै खालका व्यवसायमा समस्या छ, युवाहरु विदेशिँदा मोबाइलको बजारमा पनि केही न केही असर चाहिँ परेको छ’ उनले भने, ‘तथ्यांकमै यति नै डाउन छ भन्ने चाहिँ छैन, तर चेन इफेक्ट केही न केही परेको छ ।’
विलासीताका साधनमा मात्रै होइन, दैनिक उपभोग्य वस्तुको पनि बजार माग कम हुँदैछ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले आम्दानी र खर्च गर्ने उमेरका युवाहरु दैनिक ५ हजारको संख्यामा विदेश जाने गरेकाले त्यसको असर उद्योग व्यवसायमा पर्न थालेको बताएका छन् । उनका अनुसार लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुको समेत माग घटिरहेको छ ।
‘आम्दानी र खर्च गर्ने उमेर समूहका युवाहरु दैनिक ५ हजारको संख्यामा विदेश जाने गर्दछन्, उनीहरु विदेश जाँदा मासिक ३.५ अर्ब नेपाली रुपैयाँ पनि सँगसँगै बाहिरिन्छ’ उनले भने, ‘खपत गर्ने जनशक्ति नै नभएपछि बजारमा माग हुने कुरा भएन, अहिले चाडवाडको मुखमा समेत बजार सुनसान छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ पनि कमाउन सुरु गर्ने, आम्दानीका लागि उत्प्रेरित गर्ने र खर्च गर्न पनि नडराउने उमेर समूहका युवाहरुको विदेश पलायनले समग्र अर्थतन्त्रको चक्रमै प्रभाव परिरहेको बताउँछन् ।
‘प्लस टू सकेपछि समान्यतया कमाउन सुरु गर्ने बेला हो, नेपालमा कमाउने र खर्च पनि गर्ने भनेका १८ देखि २५ वर्षसम्मका युवाहरु हुन्, उनीहरु भर्खर भर्खर कमाउन थालेका हुन्छन्, साथीभाईसँग इन्गेज हुन्छन्, बिहे पनि गरिसकेका हुँदैनन्, उनीहरुले घर परिवारमा आर्थिक सहायता पनि दिनुपर्दैन, यस्तो बेलामा मान्छे रमाउँछ, खर्च गर्छ’ उद्योग वाणिज्य संघ काठमाडौँका महासचिवसमेत रहेका श्रेष्ठले भने, ‘तर, अहिले यहीँ उमेरका युवाहरु बढी पलायन भए, कमाउने र रमाउने उमेरका युवाहरु नै नभएपछि कन्जम्सन घट्यो, कन्जम्सन घट्नु भनेको माग घट्नु हो, माग घट्नु भनेको उत्पादन घट्नु हो, उत्पादन घट्नु भनेको रोजगारीदेखि राजस्व पनि घट्नु हो । अहिले भएको यहीँ हो ।’
उनले व्यवसायको ‘भ्यालु’ नघटेपनि ‘भोलुम’ घटिरहेको बताए । महँगी बढेका कारण भ्यालु नघटेको भएपनि विगतको तुलनामा व्यापारको मात्रा क्रमशः घटिरहेको उनको अनुभव छ ।
साथै, दशैँ तिहार जस्ता चाडपर्वमा थेग्नै मुस्किल पर्ने भिडभाड हुने असन, न्यूरोड लगायतका क्षेत्रमा पनि अहिले अपेक्षाकृत चहलपहल नहुनु र सरकारले समेत कामको भूक्तानी दिन नसक्नुले अर्थतन्त्रको कमजोर अवस्थाको चित्रण गरिररहेको अध्यक्ष दिनेश श्रेष्ठको भनाई छ ।