झन् सुक्दै असन, गाउँ फर्किने मुडमा व्यवसायी

सीता बुढाथोकी

सीता बुढाथोकी

Aug 18, 2023 | 01:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको मुख्य व्यापारिक केन्द्र काठमाडौँको असनमा जीन्सका रेडिमेट कपडा पसल चलाउँदै आएका राजु श्रेष्ठलाई कोरोना अघि ग्राहकलाई सामान दिन भ्याइनभ्याइ हुन्थ्यो । उनी कुनै दिन त तीन लाखसम्मको व्यापार गर्थे । कोभिडले थला परे । तर उकासिएका छैनन् । अहिले कतिपय दिन बोहनी नभएर चिन्तित छन् ।

'कोभिड सकिएपछि अलिअलि व्यापार होला–होला जस्तो भएको थियो, त्यसपछि एक्कासी खस्केको व्यापार उँभो लाग्नुभन्दा झनै खस्किने चिन्ता लागेको छ', श्रेष्ठले भने, अहिले १५–२० प्रतिशत पनि व्यापार भएको छैन ।' यो दशैँ र आउँदो जाडोमा पनि व्यापारले गति लिएन भने गाउँ फर्किने योजनामा छन् श्रेष्ठ ।

अहिले असन क्षेत्रमा दशैँ र तिहारका लागि सामान हाल्ने समय भएको छ । केही व्यापारीहरु सामान लिन चीन पुगेका छन्, त्यो पनि एकदम न्युन संख्यामा । धेरैको त गत वर्ष झारेको सामान सकिएको छैन । त्यसैले व्यापार घाटामा नजाने गरी व्यापारीहरुले एकदम थोरै सामान ल्याउन लागेका छन् । “यदि पोहोरको सामान नभएको भए सामान ल्याउने थिइन', राजुले थपे, 'मानिसहरुलाई पैसा नै सबैभन्दा ठूलो भयो । भोलि सामान नै बिक्री भएन भने घाटा हुन्छ, त्यो भन्दा त बरु सामान नै नल्याउने ।'

सधैँ आउने ग्राहकलाई फोन गर्दा ग्राहको जवाफ आउँछ, 'भाई अहिले आएर के गर्ने ? भात खानलाई नै पैशा छैन । लगानी गरेर के गर्ने बिक्री हुँदैन ।' दिउँसो कहिले मोबाइल चलाउने, कहिले वरिपरिका व्यापारीहरु सँग गफ गर्ने र कहिलेकाहीँ त पसलमा बस्दा निद्रा पनि लाग्ने उनले बताए ।

राज्यले उत्पादन मुलक हरेक कुराहरु देशमै उत्पादन गर्ने र उपयोग गर्ने नीति ल्याइदियो भने मात्रै अलि सहज हुने उनले बताए । यदी यस्तो भएन भने १ वर्ष भित्र ५० प्रतिशत व्यापारिक सटर बन्द गरेर पलाएन हुने उनले बताए । शहरी क्षेत्रका धेरै सटर यसअघि नै खाली भइरहेका छन् ।

त्यस्तै, विगत १९ वर्ष देखि असनमा महिलाका सम्पूर्ण रेडिमेट सामानहरु बिक्री गर्दै आएकी सर्जु श्रेष्ठको व्यापारको अबस्था पनि उस्तै छ । कुनै समय दिनको ३–४ लाखको व्यापार गर्ने सर्जु अहिले दिनभरी बस्दा बल्लबल्ल बोहनी हुने गरेको बताउँछिन् ।

उनले भनिन्, 'व्यापार जति हुनुपर्ने त्यति छैन । पहिलाको तुलनामा धेरै कम छ । पहिला दिनको ३–४ लाखसम्मको व्यापार हुन्थ्यो, अहिले बोहनी मात्र हुन्छ ।' उनका अनुसार पहिला भुटान, दार्जिलिङदेखिका ग्राहकहरु दिनहुँ आउथे । अहिले महिनामा १ चोटी पनि आउँदैनन् ।

काठमाडौँ वा बाहिरका खुल्ला व्यापारीहरु पनि असन आउन छाडेका छन् । उनीहरुको पनि आशा लाग्दो व्यापार छैन । केही मात्रामा हुनुपर्ने हो । तर व्यापारीहरुले खुल्ला नाकाबाट धेरै सामान ल्याउन थालेका छन् । यसकारणले पनि असनको व्यापार ठप्प भएको हो ।

असनका अर्का व्यापारी सरोज श्रेष्ठ भन्छन्, 'होलसेल लिने ग्राहकहरु आए भने व्यापार हुन्छ । नत्र खासै व्यापार हुँदैन । अहिले चाहिँ होलसेल लिने ग्राहकहरु आएका छैनन् । व्यापार नभएर भनौँ अथवा अरु नै विकल्प खोजेर भनौँ । हामीले फोन गर्दा व्यापार भएको छैन भन्छन् ।'

भारतबाट अवैध सामान आउन थाल्यो

व्यापारीले धेरै सामानहरु चीनको केरुङ नाकाबाट आयात गर्छन् । मगाएका सामानहरु स्थानीयस्तरमा थोरै र ७५ प्रतिशत बढी बाहिरका होलसेल व्यावसायीहरुलाई पठाइन्छ । अहिलेको समयमा आर्थिक मन्दी त छ नै त्यससँग कोरोनाको समयमा धेरै सामान भारतबाट आउन थाले । सीमा नाका व्यवस्थित नगरिँदा अवैध सामानहरु नेपाल भित्रिन थाले । जुन ठाउँमा काठमाडौँका व्यापारीले सामान बिक्री गर्थे त्यो ठाउँमा प्रशस्त सामान आएको छ । नेपालमाभन्दा भारतमा सामान सस्तो पाउने हुँदा व्यापारीलाई भारतबाट ल्याउन फाइदा हुन्छ । त्यसैले व्यापारीहरुले भारतबाट नै सामान आयात गर्न थालेका छन् । 'यो दुखत अवस्था हो । एउटा व्यापारीले भन्न नहुने कुरा हो । अहिले हामी काठमाडौँमा बसेर व्यवसाय गर्ने व्यापारीको अवस्था धरासयी छ', सरोजले भने, 'सहज हिसाबले सटर बन्द गरेर विदेशिएका साथीहरुलाई त केही छैन । कतिपय व्यापारीले त यो व्यवसायको कारणले आफ्नो जीवन नै छोडेर गएका छन् ।'

कुनै बेला बोल्नसम्म नभ्याउने असनका व्यापारी अहिले गफ गरौँ भन्दा पनि मान्छे पाउँदैनन् । कोरोनाको दोस्रो लहर सकिएपछि केही सामान बिक्री हँदै थियो । त्यसपछि व्यापार फेरि खस्कियो । गएको असार देखि त व्यापार ठप्प नै भएको उनीहरु गुनासो गर्छन् । व्यापारीलाई सटर भाडा तिर्न र घर खर्च चलाउन पनि धौधौ पर्न थालेको छ । दशैँपछि पनि व्यापार यस्तै भइरहयो भने व्यापारीहरु सटर साहुलाई जिम्मा लगाएर गाउँ हिँड्ने उनीहरुले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved