लगानी सम्मेलनका प्रोजेक्ट: काठमाडौँमा ‘अण्डर ग्राउण्ड’ रेल, थानकोट–चित्लाङमा सुरूङमार्ग

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 12, 2024 | 09:05:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी बैशाख १६ र १७ गते (सन् २०२४ अप्रिल २८ र २९) हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाको सूची तयार भएको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोट गर्न गठित प्राविधिक समितिले हालसम्म १ सय भन्दा बढी परियोजनाको पहिचान गरेको हो ।

लगानी बोर्ड स्रोतका अनुसार अपर चमेलिया जलविद्युत आयोजना, हुम्ला–कर्णाली जलविद्युत आयोजना र अपर अरूण जलविद्युत परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिनेछन् । यस्तै, चन्द्रागिरि–पालुङ–चितवन एक्सप्रेस–वे, काठमाडौँमा अण्डरग्राउण्ड (भूमीगत) मेट्रो रेल, पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नेपाल एयरलाइन्सको ह्याङ्गर निर्माण आयोजना पनि ‘शो–केस’ गरिने सूचीमा परेका छन् ।

चितवन–रामपुुर–बुटवल एक्स्प्रेस वे, दोलखा फिल्म सिटी र पश्चिम सेती टाउन प्लानिङ परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिने लगानी बोर्ड कार्यालयले जनाएको छ ।

मलेखु–लोथर सुरूङमार्ग, दाउन्ने–बर्दघाट सुरूङमार्ग, धरान–लेउती सुरूङमार्ग र थानकोट–चित्लाङ सुरूङमार्ग आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिने करिब करिब पक्का भएको छ ।

‘समितिले परियोजना माग गर्दा आएका प्रस्तावहरु हेरेर परियोजना टुङ्गो लगाउने काम भइरहेको छ’ लगानी बोर्ड स्रोतले भन्यो, ‘अहिले मोटामोटी १ सय भन्दा बढी आयोजनाहरु पहिचान गरिएको छ । यी मध्ये केहीको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भइसकेको छ भने केहीको बाँकी छ । केही चाहिँ भर्खर ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) सकिएका आयोजनाहरू पनि छन् ।

लगानी बोर्ड स्रोतका अनुसार सबै प्रक्रिया सकिएका र सकेसम्म ‘फिल्ड’को काम मात्रै विकासकर्तालाई वा लगानीकर्तालाई जिम्मा लगाउने लक्ष्यका साथ लगानी सम्मेलनको तयारी अघि बढाइएको छ । 

‘यसपाली डीपीआर र ईआईए सकिएका आयोजना मात्रै राख्ने भन्ने छ’ स्रोत भन्छ, ‘परियोजनमा लगानीको प्रस्ताव आउने बाहेक कम्तीमा एक दर्जन आयोजनाको भने सम्मेलनकै क्रममा सम्झौता पनि सक्ने लक्ष्य छ ।’ 

को को आउंदै छन् ?

लगानी बोर्डका अनुसार लगानी सम्मेलनमा बेलायती मन्त्री यानी म्यारी ट्रिभिलियन (एसिया प्यासिफिक क्षेत्रका लागि बेलायती मन्त्री), बेलायतको सिटी अफ लण्डनका मेयर माइकल मैनेली, ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका सीइओ निकओ डनहऊ र युके एक्सपोर्ट फाइनान्सका सीइओ टिम रेइड नेपाल आउने पक्का भएको छ । त्यस्तै हिन्दुस्तान युनिलिभर लिमिटेडका सिइओ रोहित जावा, बजाज अटोका प्रवन्ध निर्देशक राजिव बजाज, र डोल्मा ग्रुपका सिइओ टिम गोचरलाई पनि निम्ता पठाईसकिएको छ।

यी बाहेक अन्य देशका परिचित व्यवसायी र धनाढ्यहरुलाई पनि निम्ता पठाइने बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved