मुठी खुकुलो गर्न अर्थमन्त्री पुनको निर्देशन, गभर्नर पनि सकारात्मक !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 12:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

‘१२ वर्षपछि खोलो फर्कन्छ भन्थे, ठिक त्यसैगरि आज म पनि १२ वर्षपछि फेरि अर्थ फर्केको छु, २०६८ मा बाह्य र आन्तरिक अर्थतन्त्रको अवस्था जस्तो थियो, ठिक त्यस्तै त्यस्तै अवस्था अहिलेको पनि छ। फरक यत्ति हो, त्यो बेला मलाई अर्थशास्त्र र विकासका धेरै कुरा थाहा थिएनन, तर अहिले यो बीचमा सत्ता बाहिर रहे पनि धेरै कुरा अध्ययन गर्न पाएको छु, धेरै कुरालाई नजिक बाट नियालेको छु’ पदभार सम्हालेपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा पहिलो सम्बोधनमा अर्थमन्त्री बर्षमान पुनले बोलेको कुरा हो यो । 

२०६८ सालमा आफू अर्थमन्त्री हुँदा विश्वब्यापी आर्थिक मन्दीका कारण नेपाल पनि प्रभावित भएझैं अहिले पनि विश्वब्यापी आर्थिक चुनौतीका बाछिटा नेपालमा पनि परेको पुनले स्वीकारे। अर्थतन्त्रमा देखिएका दबाब जति चुनौतीपूर्ण छन्, त्यति नै जनताको ठूलो अपेक्षा पनि चुनौतिपूर्ण रहेको पुनको भनाई थियो। 

अर्थतन्त्रका सूचक र तथ्य सामान्यजस्तो देखिए पनि अर्थतन्त्र सामान्य अवस्थामा नरहेको स्वीकार गर्दै मन्त्री पुनले अहिलेको समस्यालाई नयन ढंगले समाधान गर्नुपर्ने र त्यसको लागि राजश्व संकलन बढाएर मात्रै नभई खर्च पनि बढाउनुपर्ने बताएका छन् । 

‘राजश्व संकलन बढाउनुपर्छ, अहिलेको १० प्रतिशत वृद्धिलाई २० प्रतिशत पुर्याउन पनि सकिन्छ तर, संकलन गरेर मात्र नभई विभागीय प्रमुखहरुले मुठी पनि खुकुलो बनाउनुपर्छ’ अर्थमन्त्री पुनले भनेका छन् ।

मुठी खुकुलो गर्नलाई निर्देशनात्मक सुझाव दिइरहँदा अर्थमन्त्रीको दायाँपट्टि बसेका गभर्नर महाप्रसाद अधिकारी पनि सकारात्मक देखिए । यद्यपी, अर्थमन्त्री पुनको स्वागत गर्न करिब तीन घण्टा कुरेका गभर्नर अधिकारीले मौद्रिक नीति सम्बन्धि बाह्य अवस्था सकारात्मक हुँदाहुँदै वास्तविक क्षेत्र र सार्वजनिक वित्तमा एक खालको दबाब रहेको स्वीकारे । 

अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख डा. टोकराज पाण्डेले सुरुमा अर्थसचिव कृष्णहरी पुस्करलाई बोल्न दिएर सिधै अर्थमन्त्रीलाई सम्बोधनको लागि भन्दै गर्दा समय मागेर नै गभर्नर अधिकारीले आफ्ना कुरा राखेका हुन् ।

टिमलाई विश्वास गर्ने मन्त्रीको विशेषताका कारण आफूहरुको जिम्मेवारी र जवाफदेहिता उत्तिकै बढ्ने बताउँदै गभर्नरले अर्थमन्त्री पुनले आफूहरुलाई बिश्वास गरे हातेमालो गरेर अगाडी बढ्ने स्पष्ट संकेत पनि गरे । 

२०६८ मा पुन अर्थमन्त्री हुँदा आफू डेपुटी गभर्नर रहेको र उर्जा मन्त्री हुँदा आफू लगानी बोर्डमा रहेर काम गरेको स्मरण गर्दै गभर्नर अधिकारीले अहिले पनि मन्त्री पुनले लिएको लक्ष्य अनुसार सकारात्मक बनेर सँगसँगै अगाडी बढ्ने विश्वास दिलाए । 

यस अगाडीका दुई अर्थमन्त्रीसँग गर्भनरको पानी बाराबारको सम्बन्ध रहेकोले अहिले पनि त्यस्तै रहने हो कि भन्ने आशंकालाई मन्त्री पुनको स्वागत कार्यक्रममा  गभर्नर अधिकारीले देखाएको व्यवहार र अभिव्यक्तिले चिर्ने काम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved