नेपालको अर्थतन्त्र अहिले पनि शिथिल अवस्थामै छ । अर्थतन्त्र चलायमान बनाउने क्षेत्रहरु शेयर बजार, घरजग्गा कारोबार र उद्योग क्षेत्रले लय गुमाएको २ वर्ष भन्दा बढी भइसक्यो । विदेशी मुद्राको सञ्चिति बढेको देखिए पनि आयात घट्दा यसको प्रत्यक्ष असर राजस्वमा देखिएको छ । आर्थिक वर्षको ८ महिना बित्न लाग्दा पनि राजस्व संकलन जम्मा ४३ प्रतिशत मात्रै छ ।
उद्योगी व्यवसायीहरु बाटो बिराएको अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्किन अझै केही समय लाग्ने बताउँछन् । बिग्रन जति समय लागेको छ, सप्रिन पनि उत्तिकै समय लाग्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् ।
‘अर्थतन्त्र बाह्रबिसे जानुपर्ने थियो, पुग्यो नारायणघाट’ बिम्बात्मक उपमासहित उनी भन्छन्, ‘बाटो बिराएर नारायणघाट पुग्न २ वर्ष बढी लाग्यो भने फर्किन पनि त्यत्तिकै समय लाग्छ । अहिले अर्थतन्त्र स्थिर जस्तो बनेको छ, आशा गरौँ समयमै फर्किनेछ ।’
यति मात्रै होइन, कतिपय हाम्रा नीतिहरु नेपाली माटो सुहाउँदो नहुँदा पनि अर्थतन्त्रले बाटो बिराएको निजी क्षेत्रको अनुभूति छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक जस्ता दातृ निकायहरुको मात्रै कुरा सुनेर सोही अनुसारका नीतिहरु अवलम्बन गरिँदा पनि अर्थतन्त्रले लय गुमाएको उद्योगी व्यवसायीहरुको विश्लेषण छ ।
‘भारतमा चालु पूँजी कर्जाको जस्तो प्रावधान छ, यहाँ पनि ठिक त्यस्तै गर्न खोजियो, आईएमएफको सुझावमा सबै उसले भनेका मात्रै कुराहरु गर्दा हाम्रो आन्तरिक अवस्था हेरिएन’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपालमा हुने कारोबारको चेन आईएमएफलाई थाहा हुने कुरा भएन । यहाँ त नगदमा किनेर उपभोक्तालाई उधारोमा बेच्ने र दुइ महिना, तीन महिनामा त्यो पैसा उठाएर फेरि त्यहीँ चक्र दोहोरिने खालको बजार प्रणाली हो । यतातर्फ न अर्थ मन्त्रालयले सोच्यो, न राष्ट्र बैंकले सोच्यो ।’
‘ग्राउण्ड रियालिटी’को अवस्थालाई हेरेर मात्रै विश्व स्तरीय नीतिहरु कति फलदायी हुन्छन् र हाम्रो समाजको चरित्रले त्यसलाई कसरी ‘एसेप्ट’ गर्छ भन्ने हेर्नुपर्ने निजी क्षेत्रको बुझाई छ । कुनै बेला कोकाकोलाले खाडीका देशहरुमा गरेको बजारीकरण पश्चात उसले ‘थिङ्क ग्लोबल्ली, एट् लोकल्ली’ भन्ने कुराको महशुस गरे जस्तै अब नेपालको अर्थतन्त्रका सम्बन्धमा नीति निर्माताहरुले पनि त्यो कुरा महशुस गर्नुपर्ने निजी क्षेत्रको तर्क छ ।
कोकाकोलाको माउ कम्पनीले अरब राष्ट्रहरुमा ब्यापक प्रचार र बजारीकरण गर्दा पनि बिक्री घटेपछि उसले आफू बहुराष्ट्रिय कम्पनी भए पनि स्थानीय सोचअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको थियो । कोकाकोलाले अरेबियन देशहरु ‘भर्जिन मार्केट’ हुन् भन्ने सोचेर ठूलो बजेटसहित बजारीकरण गरेको थियो ।
‘यसपछि मार्केटिङको ठूलो बजेट लगेर खाडी राष्ट्रमा कोकाकोलाले आफ्नो क्याम्पेन लन्च गरेछ, मान्छे अल्छी भएर बस्ने, आलस्य भएर बस्ने र कोक पिएपछि फुर्तिलो हुने खालको गजबको मार्केटिङ क्याम्पेन गरेछ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यत्रो ठूलो क्याम्पेन गरेको छ, अब बजार बढ्छ भनेर कम्पनी मख्ख थियो । तर, त्यहीँ वर्ष उसको सेल्स शून्यमा झरेछ, बढ्नुपर्नेमा झन घट्यो । यो किन भयो भनेर कम्पनीले समीक्षा गर्दा अरबमा त उल्टो तिरबाट लेख्ने र पढ्ने हुन्छ । यो कुरा कोकाकोलाले मार्केटिङ क्याम्पेन गर्दा ध्यान नै दिएनछ ।’
यसपछि कोकाकोलाले आफू बहुराष्ट्रिय कम्पनी भए पनि आफूले बजारका लागि छानेको क्षेत्रको स्थानीयता बुझ्न नसकेको स्वीकार गर्दै ‘थिङ्क ग्लोबल्ली, एट् लोकल्ली’ भन्ने निष्कर्ष निकालेको थियो भन्ने चर्चा आज पनि उत्तिकै हुँदै आएको छ ।
‘यसकारण विश्व बैंक, आईएमएफ सबैको सुझाव सुन्ने हो, विश्व स्तरीय सोच राख्नु पनि पर्छ’ उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘तर, नीतिगत निर्णय लिँदा हाम्रो अफ्नो स्थानीय परिवेशन सुहाउँदा निर्णयहरु लिनुपर्छ ।’
निजी क्षेत्र आशावादी
बिग्रिएको अर्थतन्त्रले अब लय समात्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । नयाँ सत्ता समिकरण पश्चात बनेको गठबन्धन सरकारले अर्थतन्त्रलाई स्थायित्व दिने खालका नीतिहरु अघि सार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण प्रदान गर्नेमा निजी क्षेत्रका ३ ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु आशावादी देखिएका छन् ।
अब बन्ने १६औँ पञ्चवर्षीय योजना, सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेट र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबीच तालमेल हुने र अर्थतन्त्रले लय समात्ने निजी क्षेत्रको अपेक्षा छ । उद्योगी व्यवसायीहरुले नीति तर्जुमा हुँदा देशको आन्तरिक वस्तुस्थिति सुहाउँदा नीतिहरु बन्ने आशा समेत लिएका छन् ।