बेलायती अधिकारीले भने, ‘नेपाल लगानीको आकर्षक गन्तव्य बन्न सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 06:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले नेपाललाई लगानीका लागि आकर्षक गन्तव्य बनाउन सकिने बताएका हुन् । 

भेटमा उनले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धतासमेत जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पुरा गर्न निर्देशक बेनले आग्रह गरे । 

जवाफमा मन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताएका छन् । त्यसका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको उल्लेख गरे ।

भेटमा मिलरले नयाँ विकास साझेदारी कार्यक्रमअन्तर्गत बेलायत सरकारले दिने भनिएको ४ सय मिलियन पाउण्ड (करिब ६७ अर्ब रुपैयाँ) अनुदानसम्बन्धी सम्झौता कार्यान्यवन सुरु भइसकेको जानकारी मन्त्री पुनलाई गराएका छन् । गत ९ फागुनमा नेपाल भ्रमणमा आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्र मण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले बेलायत–नेपाल विकास पोर्टफोलियो उद्घाटन गर्दै उक्त घोषणा गरेका थिए । उक्त रकम जलवायु परिवर्तन अनुकूलन कार्यक्रम, हरित प्रवद्र्धन, आर्थिक रूपान्तरण, साना तथा मझौला उद्योगमा लगानी विस्तार तथा विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनसहित विभिन्न ८ क्षेत्रमा खर्च गर्ने सम्झौतामा छ । 

आगामी सन् २०३० भित्र सम्झौता कार्यान्वयन हुँदा करिब साढे १३ हजार जनाका लागि रोजगारी सिर्जना हुने विश्वास दुवै देशले लिएका छन् । परियोजना कार्यान्वयनमा आइसक्दा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा २० लाख महिला र किशोरीको पहुँच पुग्ने लक्ष्य निर्धारण गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved