जलविद्युत र मल कारखानामा लगानी गर्न रुस इच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 01:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । बुधबार आफूलाई भेटेर बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् ।

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौं ।’ जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताए । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । ‘हाम्रो नेपालका दुवै छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध छ’, उनले भने, ‘रुस यस्तो देश हो कि जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्तछ ।’ यस्तै नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए । 

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे । रुस र नेपालबीच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्वपश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युतसहित अन्य पूर्वधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरे ।

राजदूत नोभिकोभका अनुसार रुसको उद्योग बाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनले बताए । 

फरक प्रसंगमा मन्त्री पुनने द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गरे । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरे । यस्तै उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए । ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्’, यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।’ जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे ।

तर, रुसले पनि उनीहरुलाई बोलाएर भर्ती नगरेको तर्क उनको थियो । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे । यद्यपि रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरु दुःखी भएको उनले बताए । रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनले गरे । ‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौं ।’ उनले सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे । फरक प्रसंगमा उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरुसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ’, राजदूत नोभिकोभले भने । यस्तै उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved