कन्सल्टेन्सी करोडपति बन्दा कंगाल बन्दैछन् नेपालका कलेज र राज्यको ढुकुटी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 17, 2023 | 02:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

विदेश अध्ययनको लागि पठाउने कन्सल्टेन्सीमा विद्यार्थी खचाखच हुँदा नेपाली कलेजमा भने सुनसानको अवस्था सृजना भएको पाइएको छ। उच्च शिक्षा सक्नासाथ विदेश जाने प्रवृत्ति बढेकाले नेपालका कलेजले विद्यार्थी नै पाउन छाडेको बताइन्छ। 

कक्षा १२ को परीक्षा सक्नासाथ विदेश जाने प्रकृया सुरु हुने अवस्थाले नेपालका स्नातक तहमा भर्ना दर कम हुँदै गएको कलेजका सञ्चालकहरु नै बताउँछन्। यहि कारणले स्नातक तहमा विद्यार्थीको भर्ना दर वर्षैपिच्छे घटिरहेको उनीहरुको दाबी छ। 

स्नातक तहमा पढ्दै गरेका समेत कुनै न कुनै देशमा जाने तयारीमा रहने भएकाले चौथो सेमेस्टरदेखि उता विद्यार्थी नै हातमा गन्न सक्ने अवस्थामा पुगेको ती कलेज संचालकको गुनासो छ। 

‘कक्षा ११, १२ पढ्दा नै उनीहरुको लक्ष्य १२ सकेपछि विदेश जाने हुन्छ’ ति कलेज सञ्चालक भन्छन्, ‘निजी कलेजबाट १२ पास गरेकामध्य ९० प्रतिशतले कुनै न कुनै देशको लागि अप्लाई गर्छन्, यी मध्ये ५० प्रतिशत जान्छन्। बाँकी ५० प्रतिशतले स्नातकमा भर्ना गर्छन् तर विदेश जाने तयारीलाई निरन्तरता दिन्छन्।  अन्तिम वर्षमा आइपुग्दा स्नातकमा भर्ना भएकामध्ये करिब ३० प्रतिशत विद्यार्थी घटिसकेका हुन्छन् ।’

राम्रो अंक ल्याएर कक्षा १२ उत्तीर्ण गरेकाहरु र मन्त्रीदेखि उच्च तहका कर्मचारीका छोराछोरीहरु कलेजको सट्टा कन्सल्टेन्सी धाउने गरेको देखिएको र यसका लागि अभिभावकसमेत आफ्ना सन्तान लिएर कन्सल्टेन्सी पुग्ने गरेको काठमाडौँस्थित एक कलेजका सञ्चालक बताउँछन् । यसले सरकारी, सामुदायिकसहित निजी कलेजमा विद्यार्थीको संख्या घटाएको उनको अनुभव छ। अष्ट्रेलिया, क्यानडा र अमेरिका नेपाली विद्यार्थीको रोजाईमा पर्ने मुलुक हुन् । 

सँगै, कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने विद्यार्थी संख्या पनि कम हुँदै गएको छ । साउन ३० गते प्रकाशित कक्षा १२ को परीक्षाको नजितामा ५० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । ४ लाख ४८ हजार ८ सय ३७ विद्यार्थीले परीक्षा दिएकोमा स्नातक तहमा भर्नाका लागि योग्य हुनेगरी २ लाख १४ हजार ५३१ जना मात्रै उत्तीर्ण भए । यद्यपी, नतिजामा यसपाली ३ प्रतिशतको सुधार आएको छ। 

उत्तीर्ण भएका यी विद्यार्थीहरु १४ सय ४० वटा कलेजमा बाँडिन्छन् । ग्रेडवृद्धि परीक्षा असोज पहिलो हप्ता हुने भएकाले कलेजहरुले मंसिरबाट मात्रै भर्ना लिने गरी तयारी अघि बढाएका छन् । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार नेपालमा हाल सञ्चालित ११ वटा विश्वविद्यालय मातहत १५० आंगिक, ५३७ सामुदायिक र ७५३ निजी कलेज छन् । तर, अहिले कुनै कलेजले पनि कोटा अनुसार विद्यार्थी पाउँदैनन्।

‘राम्रो अंक ल्याएका सबै विदेशिँदा राम्रा भनिएका विषयले विद्यार्थी पाएनन्’

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले राम्रो अंक र ग्रेड ल्याएर कक्षा १२ उत्तीर्ण गरेकाहरुको पहिलो रोजाईमा अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देश पर्ने गरेकाले नेपालमा राम्रो भनिएका विषयमा समेत भर्नादर दर घट्दो क्रममा रहेको बताएका छन्।

‘राम्रो अंक ल्याएकाहरु सकेसम्म यहाँ बस्ने मनस्थितिमा हुँदैनन्, अहिले हेर्ने हो भने सबै विश्वविद्यालयका राम्रा भनिएका संकाय र विषयमा पनि विद्यार्थी छैनन्’ उनले भने, ‘कलेजहरूले पाएको कोटामध्ये ५० देखि ६० प्रतिशत कोटा मात्रै पूरा हुन्छ, बाँकी खाली हुने समस्या बढेको छ, यो ठूलो समस्या हो, यसबारे अनुसन्धान नै हुनेपर्ने देखिएको छ।’

पाँच वर्षमा झन्डै चार लाख बाहिरिए 

पछिल्लो पाँच वर्षको सरकारी तथ्यांकलाई आधार मान्दा पढ्ने बहानामा विदेश जानेको सङ्ख्या बढ्दो क्रममा छ। त्यसमा पनि पछिल्लो दुई वर्षमा विदेश पढ्न जानेको संख्या २ लाख नाघेको छ भने पछिल्लो पाँच वर्षमा करिब ३ लाख ५० हजार जना विदेशिएका छन्। 

आर्थिक वर्ष २०७८/७९ मा १ लाख १२ हजार ९६८ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिएका छन् भने गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजार २१७ जना विद्यार्थीले एनओसी लिएका छन्। 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ६३ हजार २५१ जना, आर्थिक वर्ष २०७६/०७७ मा ३४ हजार ९४ जना र आर्थिक वर्ष २०७७/०७८ मा २७ हजार ९७८ जना विद्यार्थीले वैदेशिक शिक्षाका लागि भन्दै देश छोडेको छन्। 

पाँच वर्षमा ३ खर्ब बाहिरियो 

पाँच वर्षमा झन्डै ४ लाख नेपाली अध्ययनको बाहानामा विदेश जाँदा करिब ३ खर्ब रुपैयाँ बाहिरिएको छ । पछिल्ला दुई आर्थिक वर्षमा मात्रै २ लाख २२ हजार विद्यार्थी बाहिरिँदा १ खर्ब ६८ अर्ब १२ करोड नेपाली रुपैयाँ पनि बाहिरिएको छ । यसमध्ये आर्थिक वर्ष २०७८/०७९ मा ६७ अर्ब ७० करोड र आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ४६ अर्ब २४ करोड, आर्थिक वर्ष २०७६/०७७ मा २५ अर्ब ८१ करोड र आर्थिक वर्ष २०७७/०७८ मा २४ अर्ब ९५ करोड नेपाली रुपैयाँ बाहिरिएको छ ।

कन्सल्टेन्सीका संचालक मालामाल 

एक जना विद्यार्थीलाई पठाउँदा विदेशका सम्बन्धित कलेज तथा विश्वविद्यालयले नेपाली विद्यार्थीले तिर्ने शुल्कको १५ देखि ४० प्रतिशतसम्म कमिशन कन्सल्टेन्सीलाई दिने गर्दछन्। अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा पढ्न जानेमध्ये अधिकांशले कम्तिमा पनि पहिलो सेमेस्टरको शुल्क अग्रिममा तिरेका हुन्छन् र सोहि पैसा तिर्नका लागि नो अब्जेक्सन लेटर लिने गर्दछन्।

सरकारी तथ्यांकअनुसार नेपाली विद्यार्थीले पहिलो सेमेस्टर तथा पहिलो एक वर्षबापत झन्डै २ खर्ब रुपैयाँ बाहिर पठाएका छन् । यसलाई आधार मान्दा औषत कमिशन २० प्रतिशत राख्दा पनि पछिल्लो ५ वर्षमा नेपालका कन्सल्टेन्सीले विदेशका कलेज तथा विश्वबिद्यालयबाट पहिलो सेमेस्टर तथा पहिलो वर्षको शुल्कबाट मात्रै ४० अर्ब रुपैयाँ कमिसन प्राप्त गरेका छन्। 

यहाँबाट जाने विद्यार्थीले पढाइलाई निरन्तरता गर्दासम्म सम्बन्धित कलेज तथा विश्वविद्यालयबाट नेपालका कन्सल्टेन्सीले निरन्तर रुपमा कमिशन पाइरहन्छन् । तर, कन्सल्टेन्सीले प्राप्त गर्ने कमिशन सिँधै नेपालको बैंक खातामा नआउँदा र कन्सल्टेन्सीहरुले आफ्नो आम्दानी लुकाउँदा नेपालको राजश्वमा ठुलो धक्का परिरहेको छ । अर्कोतर्फ कमिशन बापतको पैसा विदेशमा नै डलर खाता खोलेर राख्दा हुण्डीको कारोबार पनि झनै मौलाएको जानकारहरु बताउँछन् ।

यो पनिः

कन्सल्टेन्सीको ठगी धन्दा विरुद्द उत्रियो माछापुच्छ्रे बैंक, कन्सल्टेन्सी संचालक पक्राउ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved