काठमाडौँमा बालेनको अग्रताले जन्माएका ४ प्रश्नहरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:14:07 AM मा प्रकाशित

laxmi  sunrise bank

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै परिणामहरू अनपेक्षित आएका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले मतगणना लीड गरिरहेका छन् भने कतिपय ठाउँमा दलहरूको वर्चस्व भत्किएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा मेयरमा लडेका बालेन शाहले मतगणनाको शुरूदेखि यो समाचार टिप्पणी लेख्दासम्म अग्रता कायम गरेका छन् । अग्रता मात्र होइन, अहिलेसम्म गणना गरिएका प्रत्येक वार्डमा उनले आफ्नो अग्रता बढाइरहेका छन् ।

बिहान ९ बजेसम्म उनले १० हजार २ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार ५ हजार ४ सय ५३ मतका साथ उनलाई निकै पछिबाट पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह अझै पछि छन् ।

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा त्यसको ६४ प्रतिशत मात्र मत खसेको थियो । पूरै मत गन्न केही दिन अरू थप लाग्ने भएका कारण अहिल्यै कसैले जित्छ/जित्दैन भन्न छिटो हुनेछ । तर बालेनले शुरूदेखि नै लिएको अग्रताले राजनीतिक वृत्तमा केही प्रश्नहरू जन्माइदिएको छ ।

परम्परागत दलकै नेता/कार्यकर्ताहरूले बालेनले मेयर जितेमा चलाउन नसक्नेदेखि, बालेन कहींबाट परिचालित भएको आरोपसमेत लगाइसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जित्दा देश गैरदलीय बन्दै जाने जिकिर उनीहरूको छ ।

बालेनले लिएको अनपेक्षित अग्रताले जन्माएका ४ प्रश्नहरू :

१. अग्रता लिएपनि बालेनले जित्नै सक्दैनन्

बालेनका मुख्य तर कमजोर बन्दै गइरहेका प्रतिस्पर्धी एमालेका केशव स्थापितले बालेन तेस्रो हुने दाबी गरेका छन् । उनले शुरूमा अग्रता लिएपनि अन्तिममा आफैंले जित्ने र बालेन तेस्रो हुने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

तर मतगणनाको ट्रेन्ड हेर्दा त्यस्तो देखिदैन । अहिले १ देखि ६ सम्मका वडा र ३१ र ३२ वडाको मतगणना जारी छ । सबै वडामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । यी वडाको मतगणनामा बालेनले स्थापितको भन्दा धेरै अन्तरमा मत ल्याइरहेका छन् । अर्थात मेयरमा एक भोट लौरो र वडामा सूर्यमा मत गइरहेको छ ।

काठमाडौँको भित्री बस्तीको मतगणना शुरू हुँदा बालेनले लिएको अग्रता घट्ने सम्भावना त देखिन्छ । तर एमाले र कांग्रेसकै मतदाताहरूले मेयरमा बालेनलाई चुनेको ट्रेन्ड देखिएकाले भित्री बस्तीको पनि कुनै भर छैन ।

२. जिते पनि काम गर्न सक्दैनन् !

कथंकदाचित बालेनले मेयर जितेपनि उनले काम गर्न नसक्ने अर्को प्रश्न गर्ने गरिएको छ । उनी चर्चित नेपाली र्यापरका साथै म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरसमेत हुन् उनले काम गर्न नसक्ने तर्कमा दुईवटा आधार दिने गरिएको छ । पहिलो त उनी गैरराजनीतिक व्यक्ति हुन्, मेयर हुन राजनीतिक पृष्ठभूमि र अनुभव चाहिन्छ । दोस्रो उनले मेयर जितेपनि नगरसभामा उनको पक्षमा एकजना पनि हुनेछैन । सबै वडा अध्यक्षहरू कांग्रेस या एमालेका हुनेछन् त्यसैले सहयोग पाउन गाह्रो छ ।

पहिलो आधारमा कुनै दम छैन । किनभने यसअघि काठमाडौंकै मेयर बनेर चर्चा कमाएका केशव स्थापित राजनीतिक व्यक्तित्व त थिए, तर अनुभवहीन थिए । तर उनले गरेका केही कामहरू अहिले पनि चर्चाको विषय बनिरहन्छन ।

दोस्रो आधारमा केही सत्यता भने छ । नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघबीच सहकार्य हुनुपर्ने परिकल्पना गरेको छ । केन्द्र र प्रदेशमा दलको सरकार बन्ने तर स्थानीय तहमा स्वतन्त्रको नेतृत्व हुँदा सहकार्यमा असर पर्न सक्छ । अर्को नगरसभामा उनका तर्फबाट कोही प्रतिनिधित्व हुन्छन् या हुँदैनन् भन्ने कुराले भने निकै कम अर्थ राख्छ, किनभने मेयरको पद कार्यकारी पद हो । संघ र प्रदेशमा जस्तो बहुमत पुर्याएर प्रधानमन्त्री/मुख्यमन्त्रीलाई हटाउन सक्ने प्रावधान स्थानीय तहमा छैन ।

३. के उनलाई राजावादी र हिन्दूवादीको समर्थन छ ?  

दशकौं पत्रकारितामा बिताएर दाह्री जुँगा फुलाएका पत्रकार किशोर नेपालले एक अन्तर्वार्तामा लगाएको आरोप हो यो । तर बालेन यसअघि नै सार्वजनिक छबी बनाएका व्यक्तित्व थिए । उनको राजावादी र हिन्दूवादी रुझान यसअघि बाहिर आएको थिएन ।

यदि पत्रकार नेपालले लगाएको आरोपमा सत्यता हुन्थ्यो भने उनी यसअघि राजावादी अभियानमा सहभागी भएको देखिनुपर्थ्यो । देखिने गरेर बालेन हिन्दू सभा सम्मेलनमा उपस्थित पनि भएका छैनन् । उनले अहिलेसम्म आफ्नो स्वतन्त्र छबी कायम गर्न सफल देखिन्छन् ।

तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन । तत्काललाई उनी कुनै दक्षिणपन्थी खेमाका प्रतिनिधि भएको देखिएको छैन तर मेयरको कार्यकारी पदमा आसिन भए भने उनलाई प्रभावित तुल्याउन सबै शक्तिकेन्द्रहरू लाग्नेछन् । त्यसपछि पुनः यो विषयमा बहस आवश्यक होला ।

४. बालेनले मेयर लड्न करोडौं पैसा कहाँबाट ल्याए ?

बालेनलाई सामाजिक सञ्जाल फेसबुकमा करीब ३० लाख लाइक भएको पेज रुटिन अफ नेपाल बन्दले सघाएको छ । उक्त पेजको एक एडमिनका अनुसार बालेनले मेयर लड्न पैसा खर्च गरेका छैनन् ।

'परिवर्तन चाहनेहरूले स्वतःस्फूर्त रूपमा बालेनका पक्षमा आफैं खर्च गरिरहेका छन्,' उनले बिजपाटीसँग भने, 'अहिलेसम्म डेढ दुई लाख खर्च भएको होला प्रचारका लागि । त्यो आफैं जुटेको हो । बाँकी बालेनले व्यक्तिगत रूपमा गर्नुपर्ने खर्च आफैं गरेका छन् ।'

जम्मा डेढ दुई लाख खर्चमा काठमाडौंको मेयर लड्ने कुरा पत्यारिलो लाग्दैन । तर करोडौं लाग्नैपर्छ भन्ने पनि छैन । उनले कति खर्च गरे भन्ने कुरा आयोगमा विवरण दिनुपर्ने कानूनी बाध्यता छ । तर मतदाता प्रभावित पार्न उनले खर्च गरेको कहीं कतै सुनिएको र देखिएको भने छैन ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved