अन्ततः प्राधिकरण छोडेर चुनाव लड्ने मनस्थितिमा कुलमान, काठमाडौँ रोज्लान् कि रामेछाप ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 08, 2022 | 01:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू काठमाडौँमा काठमाडौँ महानगरका मेयर बालेन शाहभन्दा चर्को ‘सेन्टिमेन्ट’को खोजीमा रहेको र कसैले सोच्दै नसोचेको व्यक्तिलाई उम्मेदवार बनाउने उल्लेख गरे । उनको भनाईको आशय थियो, शहरी क्षेत्रमा अब भाषणले मात्रै काम गर्दैन, मतदाताले पत्याउने उम्मेदवार चाहिन्छ । 

ठूला भनिएका राजनीतिक पार्टीले एकल वा गठबन्धन गराएर उभ्याएका उम्मेदवारलाई पाखा लगाउँदै देशको राजधानीसमेत रहेको काठमाडौँका जनताले बालेनलाई मेयरमा निर्वाचित गरेपछि बाहिर बाहिर ‘एकाध स्वतन्त्र आए भन्दैमा डराएका छैनौँ’ भन्दै भाषण गर्दै हिडेपनि प्रचण्डसहित सबै ठूला पार्टीका अध्यक्ष र नेताहरुको मुटुमा डरले ‘ढ्याङ्ग्रो’ ठोकेकै छ ।

प्रचण्डले केही दिन अघि बालेनभन्दा चर्को सेन्टिमेन्ट खोज्दैछौँ भन्नु पनि त्यहीँ डरको उपज हो भन्दा फरक नपर्ला । 

प्रचण्डको भाषणपछि कुलमानतिर नजर

प्रचण्डले सार्वजनिक मञ्चबाटै त्यसो भनेपछि सबैको नजर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतिर सोझिएको छ । पछिल्लो पटक ४ वर्षे कार्यकाल सकेर घरमै बसिरहेको अवस्थामा माओवादीले नै पुनः उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएर ल्याएको हो । 

गठबन्धन सरकार बनेपछि कार्य सम्पादनमा चौतर्फी आलोचना भइरहेका बेला प्रचण्डकै सल्लाहमा उर्जामन्त्री पम्फा भुसालले कुलमानलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिलाएकी थिइन् । 

कुलमानले पहिलो कार्यकालमा बिजुली पुगेका जति ठाउँमा लोडसेडिङ मुक्त गराएर वाहवाही बटुलेका थिए । त्यसैले पनि प्रचण्डले बालेनभन्दा चर्को सेन्टिमेन्टको खोजीमा छु भनेपछि सबैको नजर कुलमानतिरै तेर्सिएको छ ।

केही दिन अगाडी हास्य कलाकार हरिवंश आचार्यले पनि कुलमानलाई सांसदको उम्मेदवार बनाउने चर्चा सुनिएको भन्दै शुभकामना नै दिन भ्याए ।

अहिले माओवादी निकट भातृ संगठनका तल्लो तहका कार्यकर्ताहरु पनि कुलमानलाई ल्याउनुपर्छ भनेर दबाब दिन थालेका छन् । 

के कुलमान साँच्चै चुनाव लड्दैछन् ?

रामेछाप पुर्ख्यौली घर भएका कुलमान घिसिङलाई उम्मेदवार बनाउन माओवादी बाहेकका दलहरु पनि तयार नै होलान् । तर, माओवादीसँग उनको पृष्ठभूमी जोडिएको छ । उनले बाल्यकाल बिताएको बेथान र सिंगो सुनापति गाउँपालिकासहित छिमेकी दोरम्बा गाउँपालिका माओवादीको ‘गढ क्षेत्र’ हो ।

हाल यी दूबै पालिका माओवादी केन्द्रले जितेको छ । त्यसैले पनि अन्य दलहरुको तुलनामा माओवादीप्रति कुलमान घिसिङको सद्भाव बढी हुनु स्वभाविक हो । 

तर, उनलाई भावी सांसदको रुपमा चित्रण गर्न थालिएपनि के कुलमान साँच्चै तयार छन् त ? यस सम्बन्धमा उनले मुख खोलिसकेका छैनन् । हाल आफ्नो बसोबास रहेको क्षेत्र बौद्ध (काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३) बाट उनलाई चुनाव लडाउने प्रचण्डको मनशाय बाहिरै प्रकट भइसकेको छ ।

कुलमानले यसबारे औपचारिक जवाफ नदिनुको पछाडी उनी स्वयम् पनि यसका लागि तयार छन् भन्ने अर्थमा कतिपयले लिएका छन् । तर, उनले आफूले निर्णय गरिनसकेको भन्दै ‘डिप्लोमेट’ उत्तर दिएर पन्छिने गरेका छन् ।

उनको गृह जिल्ला रामेछापबाट माओवादी केन्द्रले डिल्लिमान तामाङ, सुनिता गौतम, हालका सांसद श्यामकुमार श्रेष्ठ (कुशल) र युवराज चौलागाइँको नाम सिफारिस गरेको छ । कुशल यसअघि २ पटक सांसद भइसकेका छन् । उनीप्रति मतदाता रुष्ट छन् । 

युवराज चौलागाइँ यसपाली जसरी पनि टिकट फुत्काउने र गठबन्धनको आडमा चुनाव जितेर संसद भवन छिर्ने दाउमा छन् । 

सँगै, यदि कुलमान साँच्चै चुनाव लड्ने हो भने काठमाडौँबाट नभई रामेछापबाटै उठाउनुपर्ने मत जिल्लामा बढ्दो छ । यदि कुलमान रामेछापबाटै उठेको खण्डमा आफ्नो संसद छिर्ने सपना पूरा नहुने देखेर युवराज चौलागाइसहित माओवादीबाट टिकटका दाबेदार नेताहरु कुलमानलाई काठमाडौँमै ‘ठेगान’ लगाउन लविङ गरिरहेको माओवादी केन्द्र निकट स्रोत बताउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved