लालपूर्जा नबाड्न र सरकारी कोषबाट विदेश नजान निर्वाचन आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 08:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले सरकारलाई  लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न र नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन  मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको साथै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना भई आश्‍विन २ र ३ गते उम्मेदवार मनोनयनको लागि बन्दसूची पेश गर्ने कार्यक्रम र क्रमश: निर्वाचनका अन्य कार्यक्रमहरू सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको सन्दर्भमा आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफु र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन आयोगले राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको हो ।

त्यस्तै आयोगले सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र सात सय त्रिपन्न वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved