मधेशलाई नै 'एमालेमुक्त' बनाउने योजनामा थिए प्रभु शाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 05:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गोजीमा एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका स्थायी कमिटी सदस्य प्रभु शाहले गरेको विद्रोह यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने, ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा आफूनिकट नेताहरूलाई ८ प्रतिनिधि सभा र १७ प्रदेश सभा क्षेत्रमा संगठित रूपमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।

२०७७ साल फागुन २३ गते तत्कालीन नेकपालाई एमाले र माओवादीमा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलापछि साह माओवादीबाट एमालेतिर लागेका थिए । त्यसयता मधेशलाई 'माओवादीमुक्त' बनाउने भन्दै पटक-पटक अभिव्यक्ति दिने गरेका साह भित्रभित्रै मधेशलाई 'एमालेमुक्त' बनाउने षड्यन्त्रमा रहेको खुलेको हो ।

गत आइतवार मनोनयनको अघिल्लो दिन शनिवारसम्म पनि साह केपी ओलीसँगै थिए । पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुने गरेका साह जसपासँग तालमेल गर्ने निर्णयपछि असन्तुष्ट देखिन्थे ।

'साह असन्तुष्ट त देखिन्थे तर उनले पार्टीको निर्णय अवज्ञा गरेका थिएनन्,' एमालेका एक नेताले बिजपाटीसँग भने, 'मनोनयन दर्ता गर्ने दिन आइतवार अबेर उनले पार्टीलाई घात गरे ।'

उनका अनुसार मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका टिकट आफूलाई चाहिने बताउने गरेका थिए साहले । आफ्नै कारण एमालेको मधेशमा छवि सुध्रिएको दाबी गर्ने साहले ३२ वटै क्षेत्रलाई एमालको उम्मेदवारबिहीन बनाउने षड्यन्त्र गरेका हुन् ।

'पार्टी अध्यक्ष केपी शर्मा ओलीले मधेशको पुरै टिकट होइन, रौतहटका ४ वटा टिकट मात्र लैजानुस् भनेर दिनुभयो,' एमालेका ती प्रभावशाली नेताले भने, 'प्रभु साहले ती चारवटै क्षेत्रमा अबेर गरी आफूसहित अन्यलाई स्वतन्त्र उम्मेदवार दिन लगाए । यद्यपी आइतवार दिउँसै अध्यक्षलाई उनले गर्न लागेको षड्यन्त्रबारे थाहा भएको थियो । उनको क्षेत्रबाहेक अन्यमा थप क्षति हुन पाएन ।'

साहले स्वतन्त्र उम्मेदवारी दिंदै गर्दा आफू जसपासँग पार्टीले गरेको तालमेलसँग असन्तुष्ट रहेको बताएका थिए । साहले एमालेबाट विद्रोह गर्नुको अर्को कारण मधेशका अर्का जल्दाबल्दा राजनीतिज्ञ रघुवीर महासेठ पनि हुन् । अध्यक्ष ओलीले महासेठकै योजनामा जसपासँग तालमेल गर्ने निर्णय गरेपछि साह थप रुष्ट बनेका थिए ।

मधेशमा एमाले र जसपाबीच तालमेलको प्रकृया चलेपछि साहले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटक-पटक भेटेका थिए ।

डा. भट्टराई अहिले सत्ता गठबन्धनका साझेदार बनेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग निकट भएका छन् ।

अध्यक्ष प्रचण्डले पूर्व माओवादीलाई एक ठाउँमा ल्याउने जिम्मा डा. भट्टराईलाई दिएको चर्चा छ । भट्टराईकै योजनाअनुसार साहले एमालेबाट विद्रोह गरेको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

प्रतिनिधिसभातर्फ रौतहट- ३ बाट प्रभु साह‚ रौतहट- २ मा किरण साह, रौतहट- ४ मा प्रदीप साह, महोत्तरी- ३ मा रामआधार कापड, सर्लाही- १ मा मानवबहादुर खड्का, धनुषा- १ मा कसोरी साह कमल, धनुषा- ४ मा कृष्णकुमार महतो, पर्सा- १ मा सन्तोष श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

साहले विद्रोह गर्ने छनक पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई फोनमार्फत सम्पर्क गरेका थिए । प्रचण्डले माओवादीकै चुनाव चिह्नमा उम्मेदवारी दिन आग्रह गरेपनि साहले अहिले स्वतन्त्र लडेर पछि सहकार्य गर्न सकिने जवाफ फर्काए ।

साहको यस्तो कदमले मधेशमा एमाले थप कमजोर बनेको छ । प्रत्यक्षतर्फ साह आफूबाहेक अरूलाई जिताउन सक्ने अवस्थामा नभएपनि एमालेको मत काटेर गठबन्धनका अन्य उम्मेदवारलाई सहयोग गर्ने रणनीतिमा देखिएका छन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved