राजधानीबारे मेरो अडान सही थियो, प्रदेश सभाले त्रुटी सच्याउन सक्छ - विष्णु पौडेल [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 06:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष विष्णु पौडेलले समग्र लुम्बिनीलाई नै विकासको पाठशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले लुम्बिनी प्रदेशलाई नै विकासको रोलमोडल बनाउन चाहेको र त्यसका लागि सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी संचालन, सम्पन्न हुँदै गरेकाको पूर्णता र शुरू हुन लागेकाको निर्माण गर्ने प्रयोजनकै निम्ति आफू चुनावमा होमिएको बताएका हुन् ।

'लुम्बिनीलाई विकासको रोलमोडल बनाउन चाहेको छु, त्यसका लागि दीर्घकालीन र रणनीतिक मोडेलका आयोजनाहरू शुरू, निर्माण र सम्पन्न भएकाको व्यवस्थापन गर्नुपर्छ,' ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा उनकै अस्थायी निवासमा रहेको बिजपाटीको टीमसँग उनले भने ।

उनले बुटवलबाट नारायणगढ जाने ६ लेनको सडक, तिनाउ नदीमा सिग्नेचर ब्रिज, सिद्धबाबामा सुरुङमार्ग, झुम्साखोला खानेपानी आयोजना आफ्नै पहलकदमीमा शुरू हुन लागेको र बनिरहेको दाबी गरे ।

उनले शिक्षा स्वास्थ्य, सीप विकास र रोजगारीमा रुपन्देही जिल्लालाई विकासको पाठशाला बनाउने समेत बताए । 'विकास सिक्ने र थाहा पाउनका लागि रुपन्देही आउने व्यवस्था गर्ने मेरो योजना हो,' पौडेलले भने ।  

उनले बुटवललाई नै लुम्बिनी प्रदेशको राजधानी बनाउने विषयमा आफूले राखेको दृष्टिकोण र अडान ठीक रहेको दाबी गरेका छन् । 'राजधानीको विषयमा अहिले पनि मेरो दृष्टिकोण र मेरो अडान ठीक थियो । यद्यपि यो प्रदेशसभाको विषय हो । अहिले अन्यथा निर्णय भएको छ तर त्यो निर्णयले मेरो मान्यतालाई परिवर्तन गरेको छैन,' पौडेलले भने ।

उनले लुम्बिनी प्रदेश प्रदेश सभाले आफ्ना त्रुटीहरू सच्याउन सक्ने बताए । राजधानी बुटवल नै सार्न सकिने उनको आशय छ ।

पौडेलले एमालेको सरकार हुँदा अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको तर अहिलेको सरकार आएपछि सबै बिग्रिएको आरोपसमेत लगाए ।

'हामीले सरकार छोड्दा अर्थतन्त्रका सबै इन्डिकेटर नेगेटिभ थिएन । अहिले सबै नेगेटिभ छन् । कुनै विशेष परिस्थिति पनि छैन । भूकम्प र महामारीका बेलामा पनि अर्थतन्त्र नकारात्मक थिएन, यसको जिम्मेवारी सबै अहिलेको सरकारले लिनुपर्छ ।' 

हेर्नुहोस् भिडियो - 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved