'रेड जोन'मा खर्बपति : माओवादीको भोट नआउने र कांग्रेसभित्र अन्तर्घात हुने परिस्थिति

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Nov 16, 2022 | 04:54:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका विवादित खर्बपति विनोद चौधरी कांग्रेसभित्रैको अन्तर्घात र मओवादीको मत ट्रान्सफर नहुने त्रासमा देखिएका छन् ।

करीब १३ देखि १५ हजारसम्म मत लिएर बसेको माओवादी केन्द्र उक्त क्षेत्रमा गठबन्धनप्रति इमान्दार नदेखिने स्थिति बनेको छ भने कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल पक्षले अन्तर्घात गर्न सक्ने अवस्था सिर्जना भएको त्यहाँका स्थानीयहरूको भनाइ छ ।

चुनावी ग्राउण्ड जिरो रिपोर्टिङका लागि पुगेको बिजपाटीले त्यहाँका स्थानीय मतदाता र गठबन्धन र अन्य दलका नेता कार्यकर्ताहरूसँगको कुराकानीका आधारमा चौधरीलाई धक्का लाग्न सक्ने स्थिति पैदा भएको अनुमान गरेको छ ।

चौधरीकै सचिवालयका एक सदस्य भन्छन्, 'हामीलाई आउनुपर्ने १० देखि १२ हजार मत ट्रान्सफर हुन नसक्ने अहिलेको आंकलन छ, यो परिस्थिति बदल्न हामी काम गरिरहेका छौं ।'

बिजपाटीले प्रतापपुर क्षेत्रका २० जना, भटौलिया क्षेत्रका २५ र बर्दघाटका २५ जना मतदातासँग त्यहाँको मतको अवस्थाबारे कुराकानी गरेको थियो ।

प्रतापपुर क्षेत्रमा २० मध्ये १८ जनाले आफ्नो मत हृदयेश त्रिपाठीलाई जाने बताएका थिए । तीमध्ये एकजना रामकुमार कुर्मीले बिजपाटीसँग भने, 'हाम्रो नेता बाबा (हृदयेश त्रिपाठी) नै हो । विनोद चौधरी धेरै पैसा भएको मान्छे, हामी जस्ता गरीबको कुरा सुन्दैनन् । हामीले धेरै पहिलादेखि बाबालाई नै मत हाल्दै आएको हो ।'

त्यस्तै भटौलिया क्षेत्रमा हामीले कुरा गरेको २५ मध्ये २० जनाले आफ्नो मत हृदयेशलाई नै जाने बताएका छन् । बाँकी ५ मध्ये ३ जनाले अहिल्यै कसलाई भोट हाल्ने भन्ने नसोचेको र २ जनाले मात्र चौधरीलाई आफ्नो भोट जाने बताए ।

त्यहाँ भेटिएका एकजना माओवादी कार्यकर्ता रिजवान अन्सारीले बिजपाटीसँग भने, 'यहाँको प्रदेश 'ख'मा विनोद चौधरीले कांग्रेसकै नेता देकवरण कलवार 'सन्तु'लाई कांग्रेसको उम्मेदवार बनाए, जबकी गठबन्धनको आधिकारिक उम्मेदवार हाम्रो पार्टीको रामानन्द यादव हुनुहुन्थ्यो । अहिले विनोद चौधरीले सन्तुलाई पनि भोट माग्दै हिँडेका छन् । हामीले त प्रदेशमा हाम्रै उम्मेदवारलाई भोट हाल्ने हो, संघमा भने भर छैन ।'

उनले उक्त क्षेत्रमा माओवादी मतदाताको संख्या १५ हजारको हाराहारीमा भएको बताए । त्योमध्ये अधिकांश मुस्लिम समुदायको मत रहेको उनको भनाइ छ ।

गठबन्धनको शीर्ष नेतृत्वले त्यहाँको प्रदेश (ख) माओवादीको भागमा पर्ने निर्णय गरेको थियो । तर चौधरीकै प्रभावले गर्दा सन्तुलाई पनि कांग्रेसले टिकट दिएको थियो । सन्तुले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छैनन् भने माओवादीका रामानन्द यादवले आफूलाई गठबन्धनको उम्मेदवार भनेर प्रचार गरिरहेका छन् ।

उक्त क्षेत्रमा प्रदेश महामन्त्री खनाल र सन्तु कांग्रेसभित्रकै प्रतिस्पर्धी नेता हुन् । प्रतिनिधिसभातर्फ चौधरीले टिकट नपाएको भए खनाल या सन्तुमध्ये एकले टिकट पाउने निश्चित थियो । लामो समयदेखि दुवै नेताको पार्टीको स्थानीय संगठनमा अन्तरसंघर्ष रहँदै आएको छ । सन्तुलाई समातेर खनाललाई पाखा लगाउने रणनीति लिएका चौधरी यतिबेला अप्ठेरोमा परेका छन् ।  

बर्दघाट क्षेत्रमा हामीले कुरा गरेको २५ जना मतदातामध्ये १६ जनाले आफूलाई विनोद चौधरी मन नपर्ने बताएका छन् । तीमध्ये एकजना रामप्रसाद बोहोराले भने, 'मलाई विनोद चौधरी पहिला राम्रो लाग्थ्यो तर चुनावी अभियानका क्रममा उनले गरेको ढोंगले अहिले त्यो मान्छे ठीक रहेनछ जस्तो लागेको छ ।'

उनले ६ करोडको गाडी बाटोभन्दा बाहिर राखेर २ किलोमिटर मोटरसाइकलमा हिँडेको फोटो र भिडियो प्रचार गरेको भन्दै आक्रोश पोखे । उनी कांग्रेसका मतदाता रहेछन् ।

'मैले कांग्रेसलाई भोट हाल्दै आएको थिएँ, तर अहिले भने चौधरीलाई मत नहाल्ने निष्कर्षमा पुगेको छु । कसलाई हाल्ने भन्ने अहिल्यै निष्कर्षमा पुगिसकेको छैन ।'

२५ मतदातामध्ये ९ जनाले विनोद चौधरीलाई मत हाल्ने बताएका थिए । त्यसको कारण भने सामान्य रहेछ । ती ९ मध्ये ६ जनाले यसअघि एमालेकै चुनाव चिह्नमा उठेका त्रिपाठीलाई नै मत दिएका थिए । त्रिपाठीले संसदमा ५ वर्षे कार्यकाल बिताएको तर आफ्नो क्षेत्रमा सुख दुख सोध्न नआएको उनीहरूको गुनासो थियो ।

बाँकी तीन जनाले विनोद चौधरी उद्योगपति भएको र हजारौंलाई रोजगारी दिएको कारणले आशावादी भएको बताए । एकजनाले नवलपुरस्थित सीजी औद्योगीक ग्रामभित्रै काम गर्ने रहेछन् ।

     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved