चुनाव जित्न खर्बपतिको साम, दाम, दण्ड, भेद : उम्मेदवारी रद्द हुनसक्ने तर आयोग मौन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 10:41:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट उठेका नेपाली कांग्रेसका उम्मेदवार तथा विवादित डलर अर्बपति विनोद चौधरीले निर्वाचन आचारसंहिता विपरित दैनिक भोजभतेर संचालन गरिरहेका छन् ।

उक्त भोजभतेरमा दैनिक डेढ सय भन्दा बढीलाई चार पटकसम्म मासुभात खुवाउने व्यवस्था गरिएको छ । बर्दघाट नगरपालिकाको जिमिरेभारमा अवस्थित त्रिनेत्र अध्यात्म धाममा संचालित उक्त भोज भतेरविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको भएपनि कुनै कारवाही भने भएको छैन ।

विगत एक साता भन्दा बढी समयदेखि चलिरहेको भोजभतेरमा जो कोही पनि आएर खान सक्ने व्यवस्था छ । सञ्चारमाध्यमहरूले भोजभतेर बारे समाचार प्रकाशन र प्रसारण गरे पनि चौधरीले अटेरी गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयले भने चौधरीमाथि परेको उजुरीको अनुसन्धान भइरहेको जनाएको छ ।

त्यति मात्र नभएर चौधरीले आफ्नो क्षेत्रमा निशुल्क इन्टरनेटसमेत वितरण गर्न लगाइरहेका छन् । निर्वाचन जसरी पनि जित्ने प्रयासमा लागेका चौधरीले भोट तान्न भतेर, पैसा, निशुल्क इन्टरनेट, रोजगारी दिन्छु भन्दै नयाँ कम्पनी दर्ता, पैसा, जस्ता सबै हत्कण्डा प्रयोग गरिरहेका छन् ।

चौधरीले आफ्नो बारेमा समाचार लेख्ने सञ्चारमाध्यमलाई अदालतमा मुद्दा हाल्नेदेखि मान्छे पठाएर धम्क्याउनेसमेत गरेको तथ्य बिजपाटीले यसअघि लेखेको थियो ।

स्थानीय नागरिक समाजका अगुवा बृजराज कुशवाह चौधरीले निर्वाचन प्रचार प्रसारमा बालबालिकासमेत प्रयोग गरिरहेको बताए ।

'चौधरीको निर्वाचन प्रचार-प्रसार अभियानमा स्कूले बालबालिका पनि टन्नै देखिएका छन्, यसबारे निर्वाचन कार्यालयमा उजुरी परेको छ तर अहिलेसम्म कुनै कारवाही भएको सुनिएको छैन,' कुशवाहले भने ।

निर्वाचन आचारसंहिता, २०७९ ले मतदातालाई प्रलोभनमा पार्ने गरी भोज खुवाउन नपाइने तथा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न निषेध गरेको छ । यस्तो गरेको पाइएमा आयोगले निर्वाचन आयोग ऐन२०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसम्म गरिदिन सक्छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved