को हुन् प्रेम आलेसँग चुनावमा भिड्दै गरेकी डोटीकी आँटिली गौरी ओली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 03:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा एमाले डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गौरी ओलीले एमालेप्रति डोटेली जनताको भरोसा भएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले उम्मेदवारहरुको जीत हुने दावी गरेकी छन् ।

ओलीले नजर अनलाईनसँगको निर्वाचन विशेष कुराकानीमा एउटा प्रतिनिधी सभा सदस्य र दुइटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको डोटीमा सबै सिटमा जीत सुनिश्चित भएको दावी गरेकी हुन् ।

एमाले पोलिटब्यूरो सदस्य तथा डोटी इञ्चार्ज समेत रहेकी ओलीले विशेष गरी राष्ट्रियताका सवालमा र देशैभरिको समग्र विकासका लागि एमालेले खेलेको भूमिकाका आधारमा एमालेप्रति आम जनताको ठूलो भरोसा रहेको उनले बताईन् ।

साथै डोटेली जनतामा पनि यस्तै आशा र भरोसा रहेको आफुले पाएको उनले बताइन् । समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने एमालेको सपना साकार पार्न नदिन राष्ट्र र जनविरोधी अपवित्र एवं अलोकतान्त्रिक गठनबन्धन भएको र त्यसले देशलाई नकारात्मक असर पारिरहेको उनको भनाइ छ ।

जनताको मन जितेरै मुलूकको सबैभन्दा ठूलो पार्टी बनेको एमालेसँग भएको शतप्रतिशत सैद्धान्तिक मत र आस्था जेसुकै भएता पनि अधिकतम् डोटेली जनताले प्रतिनिधी सभा सदस्यका लागि आफुलाई मतदान गर्ने उनले विश्वास व्यक्त गरिन् ।

डोटेली राजनीतिक इतिहासमा संघीय निर्वाचनमा प्रत्यक्ष लड्ने पहिलो महिला उम्मेदवार रहेकी ओलीले महिलाको सम्मानका लागि पनि डोटेली मतदाताले आफुलाई भोट दिने विश्वास उनको छ ।

डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारका रुपमा एमालेबाट गौरी ओली, नेकपा एकिकृत समाजवादीबाट प्रेम आले, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशी  रहेका छन् ।

वि.सं. २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा प्रेम आले एमालेबाट विजयी भएका थिए । आलेले नेपाली काँग्रेसका उम्मेदवार एवं तत्कालिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिर बहादुर बलायरलाई १ हजार ६३२ मत अन्तर सहित पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत र बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए ।
यस पटकको प्रतिनिधी सभा निर्वाचनमा भने उनै नेता आले नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार छन् र उनैनैसँग एमाले नेतृ ओलीले प्रतिष्पर्धा गर्नुपर्नेछ ।

को हुन् गौरी ओली ?

डोटीको साविक घण्टेश्वर गाउँ विकास समिति–३, हाल जोरायल गाउँपालिका–१ घण्टेश्वरको निकाने गाउँमा वि.सं. २०३० सालमा बुबा बलबहादुर ओली र आमा भक्तीदेवी ओलीको कोखबाट उनको जन्म भएको हो ।

उनको राजनीतिक जीवन यात्रा २०४६ सालमा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु र कलाकारहरुको संगठन जनसाँस्कृतिक मञ्चको सदस्यता लिएदेखि शुरु भएको हो ।

उनले २०४६ सालदेखि २०५३ सम्म जनसाँस्कृतिक मञ्चमा आवद्ध भई डोटेली जनतामाझ गीतसँगीतका माध्यमबाट जनतालाई कम्युनिष्ट आन्दोलनमा जोड्ने काम गरिन् ।

उता विद्यार्थी राजनीतिमा २०४८ सालमा डोटीको जोरायलमा रहेको श्री घण्टेश्वर माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि सदस्य तथा २०४९ सालमा सम्पन्न अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला कमिटिमा निर्वाचित भएकी थिईन् ।

२०५१ सालमा सम्पन्न अनेरास्ववियुको दोश्रो जिल्ला सम्मेलनबाट जिल्ला कमिटि कोषाध्यक्ष निर्वाचित हुँदै अनेरास्ववियुको १२ औं र १३ औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधी बनिन् ।

उनले वि.सं. २०५३ सालमा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) डोटीको सँस्थापक अध्यक्षको जिम्मेवारी सम्हालिन् । त्यसपछि २०५५ सालमा अनेमसंघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएर सेती अञ्चलको इञ्चार्जको समेत जिम्मेवारी सम्हालिन् ।

त्यस्तै २०५९ मा सम्पन्न अनेमसंघको पाँचौं राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रिय सदस्यमा निर्वाचित एवं स्थायी कमिटि सदस्य बनिन् भने २०६९ मा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवको जिम्मेवारी पाईन् । अहिले ओली अनेमसंघको सुदूरपश्चिम प्रमूखको जिम्मेवारीमा छन् ।

वि.सं. २०५४ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य भएर काम गर्न शुरु गरेकी ओली पटक–पटक गरेर करीब १० वर्ष जिल्ला कमिटि सदस्यको भूमिकामा पार्टी जीवन बिताइन् ।

त्यस्तै २०६४ देखि २०६५ सम्म एमाले सेती अञ्चल कमिटि सदस्य, २०६५ देखि ०७१ सम्म पार्टी केन्द्रिय सदस्य तथा डोटी र बझाङ जिल्लाको इञ्चार्ज भएर उनले काम गरेकी छन् ।

त्यस्तै २०७१ देखि ०७५ सम्म पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य, २०७४ बैशाखदेखि जेठसम्म एक महिना पार्टीको केन्द्रिय निर्वाचन आयोग सदस्य, २०७५ जेठदेखि पुनः पार्टी केन्द्रिय सदस्य हुँदै एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पोलिट ब्युरो सदस्य र डोटी इञ्चार्जको जिम्मेवारीमा छन् ।

गौरी ओलीको नाम डोटेली कम्युनिष्ट आन्दोलनमा पहिलो महिलाका रुपमा परिचित त छँदैछ । उनी राजनीतिमा होमिएको समयमा अरु दलहरुमा पनि महिलाहरु सक्रिय राजनीतिमा नभएकाले समग्र डोटेली राजनीतिक इतिहासमै ओली अग्रज महिला पनि हुन् ।

२०६२/०६३ को जनआन्दोलनमा निर्मम कुटपिटसँगै केहि दिन हिरासतको कष्टकर जीवन समेत उनले बिताईन् ।
वि.सं. २०७० सालमा समानुपातिकबाट संविधान सभा सदस्य भएर नेपालको संविधान २०७२ लेखनका लागि पनि योगदान गरिसकेकी छन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved