पञ्चायतकालदेखि दुई ठाउँबाट मतदान गर्दै छाङरु र तिंकरबासी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 10:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङरु र तिंकरबस्ती सुनसान छन्। चिसो छल्न स्थानीय सदरमुकाम खलंगा झरेकाले गाउँ सुनसान भएका हुन्।‘छाङरु र तिंकरबासी खलंगा झरिसकेका छन्, अहिले छाङरु र तिंकरमा चौकीदार मात्रै छन्,’ व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने, ‘हिउदमा चिसो छल्न छाङरु र तिंकरबासी खलंगा झर्ने गर्दछन्।’

तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया समेत ल्याएर खलंगा बसाइँ सर्छन। स्थानीय भाषामा उनीहरु यसलाई ‘कुञ्चा’ सर्नु भन्छन्। अहिले तिंकर र छाङरुबासीका घरमा ताल्चा लागेका छन्। तिंकर र छाङरुका बासिन्दाले सदरमुकाम खलंगामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान गर्ने भएका छन्।

तिंकर र छाङरुका बासिन्दाका लागि खलंगामा मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले बताए। ‘छाङरु र तिंकरका बासिन्दाले कुञ्चा सरिने भनेर निवेदन दिएका थिए, उहाँहरु खलंगामै मतदान गर्नुहुन्छ,’ उनले भने, ‘अधिकांश मानिस सदरमुकाम आइसकेका छन्।’

व्याँस गाउँपालिका–१ छाङरुस्थित कैलाशवती आधारभूत विद्यालयमा ३८३ र तिंकरको मोती महिला संघ आधारभूत विद्यालयमा २२४ गरेर त्यहाँ कूल ६०७ मतदाता रहेका छन्। चिसोको समयमा छाङरु र तिंकरका सरकारी कार्यालय, विद्यालय लगायत सम्पूर्णको काम खलंगाबाट हुने गरेको छ। त्यहाँका बासिन्दाको सदरमुकाम खलंगा समेत घर छ। 

उनीहरु खलंगास्थित कैलाशवती आधारभूत विद्यालय र मोती महिला संघ विद्यालयबाट मतदानमा सहभागी हुने छन्। ‘छाङरु र तिंकरका बासिन्दा खलंगामा पनि बस्छन्, त्यहीँका विद्यालय खलंगामा पनि छन्,’ व्याँस गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘यता आएको बेला यतै पढ्छन्।’

पञ्चायतकालदेखि छाङरु र तिंकरका बासिन्दा दुवैतिर बसेर मतदानमा सहभागी हुने गरेको उनी बताउँछन्। ‘पञ्चायतकालदेखि यसरी नै चल्दै आएको छ, उता भएको बेला त्यतै मतदान गर्छन, दार्चुला भएको बेला यताबाट मतदान गर्छन्,’ उनले भने। नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर छाङरु र तिंकरबासीलाई सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ। चिसोका कारण उल्लेखित दुई ठाउँमा बस्नै नसकिने अवस्था रहन्छ जसका कारण खलङ्गा झर्नुपर्ने हुन्छ । यदि चिसोको समयमा चुनाव भए खलङ्गाबाट र अन्य समयमा चुनाव भए उल्लेखित ठाउँबाट मतदान गर्छन् ।

सदरमुकाम झर्न नेपाली बाटो प्रयोग गरे चार दिनसम्म जोखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने हुन्छ। भारतले गाडी गुड्ने बाटो निर्माण गरेकोले सो बाटोबाट एक दिनमै सदरमुकाम खलंगा पुग्न सकिने स्थानीय बताउँछन्। खलंगादेखि छाङरुसम्म नेपाली भूमिबाट सेनाले बाटो निर्माण गरिरहेको छ। तर उक्त बाटो निकै जोखिमपूर्ण छ। त्यसैले छाङरु र तिंकरबासी आफ्नै भूमि जानका लागि भारतको अनुमति माग्नुपर्ने बाध्यतामा छन्।

दार्चुलामा चुनावको सम्पूर्ण तयारी पुरा भएको छ। एउटा प्रतिनिधि सभा क्षेत्र रहेको दार्चुलामा कूल ८९ हजार १५४ मतदाता रहेका छन्। जिल्लाभर ११२ वटा मतदानस्थल र १४२ मतदान केन्द्र छन्। कैदीबन्दी र कर्मचारीका लागि दुई वटा अस्थायी मतदानस्थल पनि राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धामीले बताए। उनका अनुसार निर्वाचन सामाग्री सहित कर्मचारी मतदानस्थलका लागि गइसकेका छन्। स्वयमसेवक सहित दार्चुलामा कूल एक हजार ६४९ कर्मचारी मतदानस्थलमा परिचालन भएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved