
सरकारले विज्ञापन एजेन्सीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ। काठमाण्डाैमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई सचेत गराएकी हुन्।
कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको पनि स्पष्ट पारिन।
‘सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ’, प्रवक्ता भट्टराईले भनिन, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’
यस्तै उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराईन। कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ। कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताइन।
कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराए। सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सरकारले मंसिर १३ गतेसम्मको म्याद थपेको छ ।