एसईई पास नभएकाहरू साउदी जान नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 05:48:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालस्थित साउदी दूतावासले एसईई वा एसएलसी उत्तीर्ण नगरेकाहरु साउदी अरब जान नपाउने गरी नयाँ व्यवस्था लागू गर्न लागेको छ । दूतावासले अब कामदारका रुपमा साउदी अरेबिया जाने नेपालीले भिसा प्रक्रिया सुरु गर्दा नै परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्स्था लागू गर्न लागेको हो । उसले यही आउँदो १२ जुन २०२३ देखि लागूगर्ने गरी सूचना नै जारी गरेको छ । 

साउदी दूतावासले जारी गरेको आफ्नो ‘नोटिस बोर्ड’मा परराष्ट्र मन्त्रालयबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणिकरण गरेर फेरि साउदी दूतावासबाट प्रमाणिकरण गराउनुपर्ने उल्लेख छ । बिजपाटीलाई प्राप्त सूचना अनुसार साउदी जाने नेपालीको सामान्य जानकारीसमेत थाहा हुन नसकेकाले उसले यस्तो व्यवस्था गर्न लागेएको हो ।

यता उक्त व्यवस्था लागू गर्न नहुने भन्दै अहिले म्यानपावर व्यवसायीहरु भने विरोधमा उत्रिएका छन् । म्यानपावर व्यवसायीले साउदी जानका लागि भिसा प्रक्रिया सुरु गर्दा नै परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न दुताबासले दिएको निर्देशनबारे श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई विहिबार भेटेर दुःखेसो पोखे । वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले मन्त्री भण्डारीसँग दुखेसो पोख्न पुगेको भोलिपल्ट आज शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर सोही गुनासो राखे । 

दूतावासले साउदी अरेबियामा कामदार पठाउने म्यानपावर कम्पनीलाई पनि यो सूचना पठाएको काठमाडौँको गौरिघाटस्थित अस्मिता इन्टरनेशनल म्यानपावर कम्पनीका एक जना सञ्चालकले बताए । यसअघि भने अन्तरवार्ता दिन नसक्ने कामदार पनि जान सक्ने व्यवस्था थियो ।

साउदी दूतावासको उक्त व्यवस्थाले नेपालबाट रोजगारीका लागि साउदी अरेबिया जान चाहनेहरुले साविकको एसएलसी वा हालको एसईई तह उत्तीर्ण गरेको प्रमाणपत्र चाहिने भएको छ । किनकी, एसईई तहभन्दा कम तह उत्तीर्ण भएको प्रमाणपत्र विद्यालयले नै दिने भएकाले सरकारी विभाग तथा अरु निकायमा यसको रेकर्ड हुँदैन । 

साउदी दूतावासले गराएको ‘अटेन्सन’मा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाउँदै दुतावासले अनिवार्य भनेको उक्त प्रावधान खारेज गर्न कुटनीतिक पहल गरिदिन श्रममन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुँदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सीप र क्षमता भएको तर आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुँदा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारबाही रोक्न कुटनीतिक पहलमार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघका अध्यक्ष राजेन्द्र भण्डारीले हस्ताक्षर गरेर श्रम मन्त्रीलाई बुझाएको निवेदनमा भनिएको छ । 

‘हाम्रो अहिलेको शिक्षा प्रणालीले एसईई वा हिजोको एसएलसी भन्दा मुनिको कुनै पनि तह उत्तीर्ण भएको रेकर्ड सरकारसँग हुँदैन’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलले भने, ‘हाम्रो अहिले वैदेशिक रोजगार बाध्यता हो, सामान्य साक्षर भएका मानिसहरु जाने हुन्, सीप छ तर एसएलसी वा एसईई पास गरेको छैन भने अब त्यस्तो मान्छेले भिसा प्रक्रिया नै अघि बढाउन नपाउने भए ।’

उनले यो व्यवस्था लागू भए ‘र क्वालिटी’ (कच्चा क्षमता)को कामदारसँग शैक्षिक योग्यता माग हुँदा नेपालीहरुले साउदी अ‍ेरिबिया जान नपाउने अवस्था सिर्जना हुने जोखिम बढेको बताए ।

‘हाम्रो देशबाट सामान्य लेवर धेरै जाने हुन्, सर्टिफिकेट भएका हाई क्वालिफिकेशन भएका जुनसुकै देश जान सकिहाल्छन् नि’ महासचिव भुर्तेल थप्छन्, ‘साउदीको सूचना अनुसार प्रमाणिकरण गराउन मिल्ने शैक्षिक योग्यताको प्रमाणपत्र भनेको एसईई (विगतको एसएलसी) वा त्यो भन्दा माथिको मात्रै हो, यो भन्दा तलको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी निकायसँग रेकर्ड नै हुँदैन ।’

यति मात्रै नभइ, एसएलसी/एसईई वा त्यो भन्दामाथिको शैक्षिक योग्यता भएकाहरुले पनि अब प्रमाणिकरणका लागि थप समय खर्चिनुपर्ने भएको छ । एसईई वा यो भन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि आफ्नो शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्ने र यी निकायबाट प्रमाणिकरण गरेपछि फेरि परराष्ट्रको कन्सुलर सेवा विभाग पुग्नुपर्ने बाध्यतात्मक अवस्थाको सिर्जना हुने भुर्तेल बताउँछन् । 

यसले विदेश जान गाउँबाट काठमाडौँ आएका युवाको समय र खर्च बढाउनेछ भने नपढेका सीपयुक्त जनशक्ति साउदी जान पाउने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved